Shikhar Insurance

विद्युत् आएन तर भोट हाल्ने दिन आयो, राजनीतिलाई समाजसेवा भन्दा पनि पेसा बनाए

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २९, मंगलवार १६:०१
NIMB
Nabil Bank

नवलपरासी पूर्व । नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उनि निराश भएका छन् ।

“नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन, गुरुङले भने, सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन । विजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको भर पर्नु परेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हरेक निर्वाचनमा विजुली ल्याउने योजनाहरु सुनिन्छ तर भोट हाल्ने दिन आउँछ तर विजुली आउँदैन, गुरुङले गुनासो गरे ।

स्थानीय ५३ वर्षे चोलमाया गुरुङ सडक, शिक्षा, स्वास्थ्य र विद्युतका योजनाहरु चुनावी नारामै सीमित नहोस् भन्ने कामना गर्छिन् ।

त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिका–६ जगदेउका ४५ वर्षीय झमबहादुर बयम्वुलाई अहिलेसम्म पाँचवटा निर्वाचनमा मतदान गरेको सम्झना छ । ५ वर्षअघिका सपना पूरा नगरेका उम्मेदवारलाई फेरि मतदान गर्नुपर्ने दिन नजिकिएको भन्दै झमबहादुरले भने, “राजनीतिलाई समाजसेवाका रुपमा लिनुपर्नेमा नेताहरुले पेसा बनाएका छन्, जसले गर्दा जति विकास हुनुपर्ने हो अझै हुन सकेको छैन, हाम्रो अवस्था उस्तै छ, नेताहरुको दिन फेरिएका छन् ।”

यही जन्मे हुर्के तर यस क्षेत्रमा पहिले र अहिले खासै फरक नभएको स्मरण गर्दै बयम्बुले भने, “२०४८ सालदेखि एउटै पार्टीले जिते पनि न बाटो सुधार भयो न खानेपानीको समस्या नै समाधान भएको छ ।”

जगदेउ गाउँमा ४० घरधुरी छन् । यहाँको मुख्य समस्या बाटो, खानेपानी र विद्युत् हो । बाह्रै महिना बाटो सञ्चालन भए त्यहाँ उत्पादनले बजार पाउने उनीहरुको आशा छ ।

भोट माग्न आउने नेताहरुले जनताको समस्या समाधानमा बेवास्ता गरेको ४५ वर्षीया तिलकुमारी सारुको बुझाइ छ । “चुनावी योजना सुन्दा सबै राम्रा लाग्छन् तर काम भने कसैले गर्दैनन्, सारुले भनिन्, “गिरुवारी खोलामा पुल निर्माण भए वर्षाको समयमा सहज रुपमा यात्रा गर्न पाइने थियो ।”

दुई प्रतिनिधि र चार सङ्घीय निर्वाचन क्षेत्र रहेको नवलपुरमा यस जगदेउ गाउँ निर्वाचन क्षेत्र नं २ मा पर्दछ । नवलपुर २ अन्तर्गत नै पर्ने बौदीकाली गाउँपालिका–६ लाहापेका स्थानीयको समस्या पनि जगदेउका बासिन्दाको भन्दा फरक छैन ।

यता उम्मेदवारहरु भने केही नयाँ आफ्ना योजना त केही पुरानै योजना लिएर जनताका सबै समस्या समाधान गर्ने भन्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । यस क्षेत्रमा २०७४ को निर्वाचनमा आमनेसामने भएका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेबाट तिलक महत चुनावी प्रतिस्पर्धामा छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार कार्कीलाई १ हजार ३३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धनतर्फबाट महत विजयी भएका थिए । यसपटकको निर्वाचनमा गठबन्धनको समीकरण भने फेरिएको छ ।

गत निर्वाचनको परिणाम उल्ट्याउने दाउमा कार्की चुनावी दौडमा छन् भने लगातार दोस्रो जित निकाल्ने कसरतमा महत छन्। यस क्षेत्रमा विभिन्न राजनैतिक दलका र स्वतन्त्र गरी ३१ जना चुनावी मैदानमा छन् ।

जम्मा ४० वटा वडा रहेको नवलपुर २ मा गत स्थानीय तहको निर्वाचनमा एमालेले २२ वटा वडा जितेको थियो भने कांग्रेसले १६ वटा वडा, राप्रपा र माओवादीले १/१ वडा जितेका छन् । १ लाख २९ हजार २ सय ८० जना मतदाता रहेको यस क्षेत्रमा ५६ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्