Shikhar Insurance

वाणिज्य बैंकको लाभांशः ११ वटाले घोषणा गर्दा १५ वटा बाँकी, कुनले कति दिँदै

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार १४:०८
NIMB
Nabil Bank

काठमाडौं । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमध्ये ११ वटा बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरिसकेका छन् । बाँकी १५ वटा वाणिज्य बैंकहरु भने लाभांश घोषणा गर्ने तयारीमा छन् ।

गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा अधिकांशले नगद लाभांशलाई नै प्राथमिकता दिएका छन् । जसमा सबैभन्दा धेरै बैंक अफ काठमाण्डूले र सबैभन्दा थोरै मेगा बैंकले लाभांश घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

गत वर्षको मुनाफाबाट नेपाल इन्भेष्टमेण्ट, मेगा, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स, बैंक अफ काठमाण्डू, एनसीसी, कुमारी र प्रभु बैंकले लाभांश प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंकहरुमध्ये कुमारी बैंक, सिटिजन्स बैंक र एनसीसी बैंकको लाभांश साधारणसभाबाट समेत पारित भइसकेको छ । भने स्ट्याण्डर्ड चार्टर्ड, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, ग्लोबल आइएमई र सानिमा बैंकको लाभांश वितरणको लागि साधारणसभाको मिति समेत तय गरिसकेका छन् ।

बैंक अफ काठमाण्डूः बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश गरी कुल २०.९५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको बोनस सेयर र १४.९५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद गरी कुल २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

एभरेष्ट बैंकः बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई कुल २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र सोको करप्रयोजनार्थ सहित ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ रहेको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकः बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुत्ता पुँजीकाे १६.५१ प्रतिशत नगद लाभांश वितरणा गर्नेर प्रस्ताव गरेकाे हाे ।

ग्लोबल आइएमईः बैंकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १३.६ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कुमारी बैंकः बैंकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट कुल १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश राष्ट्र बैंकबाट स्वीकृत लिएर बैंकले सेयरधनीमा वितरणको लागि वार्षिक साधारणसभा समेत बोलाइ सकेको छ । बैंकको कात्तिक २१ गते तय भएको २१औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

एनसीसी बैंकः बैंकले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्तालाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जुन राष्ट्र बैंकको स्वीकृत लिएर सेयरधनीको खातामा समेत पठाइसकेको छ । बैंकको मंसिर २ गते बसेको २५औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरी सेयरधनीको खातामा पठाएको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गरेको हो । बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३६ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ७.६३ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख रुपैयाँ (कर सहित) नगद लाभांश बैंकले वितरण गरिसकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकः बैंकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सानिमा बैंकः बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफबाट सेयरधनीलाई कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.९८ प्रतिशत अर्थात ११ करोड १० लाख रुपैयाँ नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । बैंकद्वारा घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत दिइसकेको छ भने सो लाभांश वितरणको लागि बैंकले वार्षिक साधारणसभाको मिति समेत तय गरिसकेको छ । बैंकले आफ्नो १८औं वार्षिक साधारणसभा पुस ३गते बोलाएको हो । सो साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

सिटिजन्स बैंकः गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकले हाल कायम १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँ चुक्ता पुँजीको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गरेको हो । सो लाभांश बैंकको कात्तिक ४ गते बसेको १६औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण भएको हो ।

प्रभु बैंकः बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुल ८ लाभाांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाद्वारा परित भई सेयरधनीमा वितरण हुनेछ ।

मेगा बैंकः बैंकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ७.८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांशमा हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित भएमा सेयरधनीमा वितरण हुनेछ ।

लाभांश  घोषणा गर्ने बाँकी १५ वाणिज्य बैंकको क्षमता

बैंक तथा वित्तीय संस्थाहरुले अघिल्ला आवको वार्षिक साधारणसभा सम्पन्न गर्नको लागि नेपाल राष्ट्र बैंकमा सो आवको वित्तीय विवरण पेश गरी पास गराउनु पर्ने हुन्छ । राष्ट्र बैंकद्वारा पारित वित्तीय विवरणकै आधारमा बैंकहरुले सो आवको सञ्चित मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गर्छन् ।

अधिकांश वाणिज्य बैंकहरुले गत आवको वित्तीय विवरण राष्ट्र बैंकमा पेश गरिसकेका छन् । जससमध्ये ११ वटाको पास भएरपनि लाभांश घोषण भइसकेको छ भने बाँकीको पास हुने क्रममा छ ।

गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी वाणिज्य बैंकहरुमा नबिल, कृषि विकास, हिमालयन, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, सिद्धार्थ, नेपाल एसबिआई, प्राइम, एनएमबि, माछापुच्छ्रे, सिभिल,लक्ष्मी, सेञ्चुरी र सनराइज बैंक हुन् ।

गत आवको मुनाफाबा लाभांश घोषणा गर्न बाँकी १५ वाणिज्य बैंकमा कसको क्षमता कति?

नबिल बैंकः हाल २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवको असार मसान्तसम्म ९ अर्ब १२ करोड वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले सेयरधनीलाई ३९.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । बैंकले गत असारमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी बिजनेश कम्बाइन वापत प्राप्त ५ अर्ब ७४ करोड रुपैयाँ रिजर्भको पैसा वितरण योग्य नाफाबाट गणना गरेपछि लगानीकर्तालाई दिने लाभांश क्षमतापनि उच्च भएको हो ।

कृषि विकास बैंकः सो अवधिमा बैंकको ३ अर्ब ९० करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई २९.६३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

हिमालयन बैंकः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब ६६ करोड रुपैयाँ छ । हाल चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई २०.५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

राष्ट्रिय वाणिज्य बैंकः सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ३ करोड रुपैयाँ छ । हाल चुक्ता पुँजी १४ अर्ब ९४ करोड रुपैयाँ कायम रहेको बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई २०.३० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

एनआइसी एशिया बैंकः सो अवधिमा ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवमा २ अर्ब २४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । जसबाट बैंकले सेयरधनीलाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।

सिद्धार्थ बैंकः सो अवधिमा १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा १ अर्ब २१ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । जसबाट बैंकले १६.८२ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

नेपाल एसबिआई बैंकः हाल चुक्ता पुँजी ९ अर्ब ४९ करोड रुपैयाँ कायम छ । बैंकले गत आवमा आर्जित १ अर्ब ४४ करोड रुपैयाँ वितरण योग्य नाफाबाट सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

प्राइम बैंकः गत आवमा बैंकले २ अर्ब ३४ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १४.५९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

एनएमबि बैंकः सो अवधिमा बैंकको २ अर्ब ३९ करोड रुपैयाँ वितरण योग्य नाफा रहेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले लगानीकर्तालाई १३.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

माछापुच्छ्रे बैंकः गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम छ । सो अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हुँदा सेयरधनीलाई १२.९५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सिभिल बैंकः बैंकले गत आवमा १ अर्ब रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ९ अर्ब ७ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई ११.०९ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

लक्ष्मी बैंकः बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

सिटिजन्स बैंकः गत आवमा बैंकले १ अर्ब ४२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई १०.०३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सेञ्चुरी बैंकः गत आवमा बैंकले ९१ करोड ११ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ कायम हुँदा सेयरधनीलाई ९.५४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

सनराइज बैंकः हाल १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले गत आवमा २५ करोड ६१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हुँदा सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

उल्लेखित लाभांश वाणिज्य बैंकहरुद्वारा सार्वजनिक गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणको आधारमा सम्भावित लाभांश मुल्यांकन गरिएको हो । राष्ट्र बैंकले आर्थिक वर्ष सकिएको १५ दिनसम्म प्राप्त ब्याजलाई पनि आम्दानीमा लेखांकन गर्न पाउने सुविधा दिएको छ ।

तर, केही वाणिज्य बैंकहरुले साउनको पहिलो सातादेखि नै गत आवको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका थिए । सो आधारमा साउन १५ गतेसम्म आम्दानीलाई लेखांकन गर्दा सम्भावित लाभांश थप हुन सक्छ । भने, बैंकहरुले अघिल्लो आवमा कमाएको नाफा र जगेडा कोषमा राखेको पैसाबाट समेत लगानीकर्तालाई लाभांश दिनसक्ने व्यवस्थाले बैंकहरुले घोषणा गर्ने लाभांश सम्भावित लाभांश भन्दा केही फरक पर्न सक्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्