Shikhar Insurance

पुँजीकोष अनुपात नपुर्याउने लक्ष्मीको लाभांश नरोकिँदा एनआईसी र माछापुच्छ्रेकाे के होला ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १८:४६
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्षमा ३ वटा वाणिज्य बैंकहरुले तोकिएको पुँजी अनुपात कायम गरेका थिएनन् । बैंक तथा वित्तीय संस्थाले तोकिएको पुँजीकोष अनुपात आर्थिक वर्षको कुनै एक महिनामा कायम नगरेमा सो आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नपाउने व्यवस्था छ ।

गत आवमा माछापुच्छ्रे बैंक र लक्ष्मी बैंक र एनआईसी एशिया बैंकले तोकिएको पुँजीकोष अनुपात कायम नगरेका हुन् । तर, राष्ट्र बैंकले लक्ष्मी बैंकलाई भने गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न पाउने बाटो खुला गरिदिएको छ । राष्ट्र बैंकले बिहिबार लक्ष्मी बैंकलाई प्रिलिमनरी (प्रारम्भिक) वित्तीय वितरणको स्वीकृत दिँदै लाभांश वितरणको बाटो खुला गरिदिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रीय बैंकद्वारा जारी पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजीको ८.५ प्रतिशत र पुरक पुँजी गरेर न्यूनतम ११ प्रतिशत पुँजीकोष पुग्नुपर्ने हुन्छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार प्राथमिक पुँजी कोषभित्र न्यूनतम साझा इक्विटी ४.५ प्रतिशत, पुँजी संरक्षण बफर २.५ प्रतिशत हुनुपर्छ । न्यूनतम साझा (टायर १) पुँजी अनुपात पुँजी संरक्षण बफर बाहेक ६ प्रतिशत र बफरसहित ८.५ प्रतिशत हुनुपर्छ । जसलाई प्राथमिक पुँजीकोष अनुपात पनि भनिन्छ ।

बैक तथा वित्तीय संस्थाको यस्तो अनुपात केन्द्रीय बैंकको सम्बन्धित बैंक सुपरिवेक्षणले दैनिक मासिक तथा त्रैमासिक रुपमा मगाएर निगरानी गर्छ भने बैंकहरुले त्रैमासिक रुपमा यस्तो प्रकाशित गर्नु पर्छ । गत आवको पहिलो र दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंक र एनआइसी एशिया बैंकले तोकिएको प्राथमिक पुँजीकोष अनुपात कायम गरेका थिएनन् । भने, लक्ष्मी बैंकले भदौ महिनामा प्राथमिक पुँजीकोष अनुपात कायम गरेको थिएन ।

एनआइसी एशिया बैंकले अघिल्लो आर्थिक वर्षमा तोकिएको पुँजीकोष अनुपात कायम नगर्दा गत आवमा लाभांश वितरण गर्न पाएको थिएन भने गत आवको पहिलो त्रैमासिकमा ७.३० र दोश्रो त्रैमासमा समेत बैंकको प्राथमिक पुँजीकोष ७.८० प्रतिशतमात्रै कायम थियो । जसका कारण बैंकले गत आवको मुनाफाबाट चालु आवमा पनि लाभांश वितरण गर्न नपाउने राष्ट्र बैंकले प्रष्ट पारिसकेको छ ।

यस्तै, माछापुच्छ्रे बैंकद्वारा सार्वजनिक गत आवको पहिलो र दोस्रो त्रैमासमा समेत बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत कायम छैन । गत आवको असोज मसान्तमा माछापुच्छ्रे बैंकको प्राथमिक पुँजीको कोष अनुपात ८.०२ प्रतिशत र पुष मसान्तमा ८.०९ प्रतिशत कायम थियो । जसकारणले गर्दा माछापुच्छ्रे बैंकलाई समेत राष्ट्र बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणमा रोक लगाइसकेको छ ।

तर, भदौ महिनामा ८.४८ प्रतिशत प्राथमिक पुँजीकोष कायम गर्ने लक्ष्मी बैंकलाई भने लाभांश वितरणको बाटाे खुला गरिएको राष्ट्र बैंक सुपरिवेक्षणका एक अधिकारीले बताए ।

‘लक्ष्मी बैंकको भदौ महिनामा मात्रै प्राथमिक पुँजीकोष अनुपात नपुगेको हो, जुन तथ्यांक अनपब्लिस भएको कारणले लाभांश रोक्का नहुने भएको हो,’ राष्ट्र बैंकका ती अधिकारीले सिंहदरबारसँग भने, ‘माछापुच्छ्रे र एनआइसी एशियाको भने, त्रैमासिक रुपमा पब्लिस तथ्यांकमै टायर–१ क्यापिटल अपुग छ, त्यसैले यी बैंकले यो वर्ष लाभांश वितरण गर्न पाउँदैनन् ।’

बैंकले भदौ महिनामा प्राथमिक पुँजीकोष अनुपात नपुग्नुको स्पष्टिकरण राष्ट्र बैंक दिइसकेको छ । सो कारण मनासिव लागेको कारणले गर्दा लक्ष्मी बैंकलाई गत आवको वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति समेत दिइसकेको ती अधिकारीले बताए ।

‘लक्ष्मी बैंकको भदौमा अपुग हो, जुन अनपब्लिस तथ्यांक भएको र पछि करेक्सन सहितको स्पष्टिकरण मनासिव लागेको हुँदा प्रिलिमनरी एप्प्रुवल दिइएको हो,’ ती अधिकारीले भने, ‘माछापुच्छ्रेले समेत तथ्यांक करेक्सन गरेर पठाएको थियो भने पछिल्लो पटक थप स्पष्टिकरण माग गरिएको थियो । तर माछापुच्छ्रे र एनआइसीको पब्लिस तथ्यांकमा प्राथमिक पुँजीकोष अनुपात अपुग भएको हुँदा उनीहरुको भने लाभांश यो वर्ष रोक्का नै हुन्छ ।’

लक्ष्मी बैंकले गत आवको भदौ महिनामा तथ्यांक पठाउँदा थपघट गर्नुपर्ने कतिपय कुरा नगरी पठाएको तर, पछिल्लो पटक तथ्यांक करेक्सन गरेर प्राथमिक पुँजीकोष अनुपात ८.५१ प्रतिशत भनेर पठाएको थियो । बैंकले पठाएको तथ्यांकलाई राष्ट्र बैंकले थप निरीक्षण गरेर बैंकलाई लाभांश वितरणको बाटो खुल्ला गरेको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाले वासलातको आकार ठूलो बनाउँदा पुँजीको आकार पनि सोही अनुसार वृद्धि गर्दै जानु पर्ने उनको भनाइ छ । सो नगर्दा लगानीकर्ताहरुको स्वामित्व र अपनत्व घट्दा संस्थामा मात्रै नभएर बैंकिङ प्रणालीमै समस्या आउने जोखिमलाई रोक्न राष्ट्र बैंकले उल्लेखित व्यवस्था गरेको उनको भनाइ छ ।

यता, माछापुच्छ्रे बैंकले राष्ट्र बैंक समक्ष पहिले पेश गरिएको तथ्यांक ‘रिभाइभ’ को लागि पटक पटक आग्रह गरिसकेको छ । तर, राष्ट्र बैंकबाट भने त्यसको सकारात्मक प्रतिकृया आएको छैन ।

गत आवको असोज र पुसमा प्रकाशित वित्तीय विवरणमा माछापुच्छ्रे बैंकको पुँजीकोष अनुपात नपुगेको विवरण प्रकाशित भएको थियो । तर, रिपोटिङमा जानुपर्ने एनएलए लगायतका कुराहरु मिस भएको कारणले प्राथमिक पुँजीकोष अनुपात ८.५ प्नितशत नपुगेको स्पष्टिकरण बैंकले राष्ट्र बैंकमा दिइसकेको छ । तर, गत वर्ष देखि नै एनआइसी एशिया बैंकको लाभांश त्रैमासिक रुपमा प्राथमिक पुँजीकोष अनुपात कायम नगर्दा रोकिएको हुँदा माछापुच्छ्रेलाइृ समेत सोमा छुट नहुने राष्ट्र बैंकका ती अधिकारको भनाई छ ।

गत आवको मुनाफामा एनआइसी, लक्ष्मी र माछापुच्छ्रे बैंकको लाभांश क्षमता

गत आवको असार मसान्त एनआइसी एशिया बैंकले २ अर्ब २४ करोड ४६ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिसम्म बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ कायम हुँदा गत आवको मुनाफाबाट बैंकले लगानीकर्तालाई १९.४३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको छ । तर, गत आवको असोज मसान्तमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ७.३० प्रतिशत र पुस मसान्तमा ७.८० प्रतिशत कायम हुँदा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको हो ।

यस्तै, माछापुच्छ्रे बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ३२ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिसम्म बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम हुँदा बैंकले गत आवको मुनाफाबाट लगानीकर्तालाई १२.९५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । तर, बैंकले सो आवको असोजमा ८.०५ प्रतिशत र पुसमा ८.०९ प्रतिशत प्राथमिक पुँजीकोष कायम गर्दा राष्ट्र बैंकले लाभांश रोक लगाएको हो ।

साथै, लक्ष्मी बैंकको पनि गत आवको भदौमा प्राथमिक पुँजीकोष ८.४८ प्रशिततका कायम गरेको भन्दै लाभांश वितरणमा प्रक्रिया स्थगित गरिएको छ । बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । सो अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ कायम रहँदा बैंकले गत आवको मुनाफाबाट लगानीकर्तालाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्