कोरोना बीमा दावी भुक्तानी सुरु, डेढ लाख बीमितिमा १६ हजारले मात्रै पाउँदा को–को पर्ने भए?

सिंहदरबार संवाददाता
२०७९ मंसिर १२, सोमबार २१:३९

काठमाडौं । बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानी वापतको पैसा मंगलबार अर्थात मंसिर १३ गतेदेखि वितरण सुरु भएको छ । सरकारले आफ्नो दायित्व स्वीकार गरी १ अर्ब रुपैयाँ पठाएसँगै सोमा बीमा प्राधिकरण र कम्पनीहरुले समेत रकम थप गरी मंगलबारदेखि दावी भुक्तानी सुरु भएको नेपाल बीमक संघले जनाएको छ ।

अर्थमन्त्रालयले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकममध्ये ८ प्रतिशत प्राधिकरणले, १२ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले र २५ प्रतिशत बीमा कम्पनीहरुले वहन गर्ने मोडालिटी बीमा प्राधिकरणले र बीमा कम्पनीहरु मिलेर बनाएका थिए । सरकारले पठाएको १ अर्ब रुपैयाँ प्राधिकरण, पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुले थप गरी १ अर्ब ८१ करोड ८४ लाख ८४ हजार ८१४ रुपैयाँ बीमितमा भुक्तानी गर्न लागिएको थियो । तर, पुनर्बीमाले हालसम्म आफ्नो दायित्व वापतको २२ करोड रुपैयाँ रुपैयाँ पुलमा पठाएको छैन । पुनर्बीमाले आफ्नो भागमा परेको पैसा नपठाएको कारणले भोलीदेखि १ अर्ब ६१ करोड रुपैयाँमात्रै दावी वापत बीमितमा वितरण हुने संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।

‘पुनर्बीले पैसा नपठाएपनि सरकार, प्राधिकरण र कम्पनीहरुबाट प्राप्त पैसा भोलीदेखि नै बीमितमा वितरण हुन्छ,’ संघका अध्यक्ष क्षेत्रीले सिंहदरबारसँग भने, ‘भोलीदेखि वितरण हुने दावी भुक्तानीमा २५ हजार बीमित छनौट भएका थिए । तर, पप्त पैसाले १६ हजार बीमितलाई मात्रै दावी भुक्तानी वितरण गर्न पुग्छ ।

प्राधिकरण र पुलले गरेको सहमति अनुसार पहिलो चरणमा निजामति कर्मचारी र संस्थागत रुपमा बीमा गराएका बीमितहरु बाहेक व्यक्तिगत रुपमा कोरोना बीमा गराउने बीमितलाई वितरण गर्ने सहमति भएअनुसारको मोडालिटीमा दावी भुक्तानी हुन लागेको उनको भनाइ छ ।

‘कोरोना बीमा दावी गर्ने १ लाख ५६ हजार बढी बीमितमा व्यक्तिगत रुपमा कोरोना बीमा गराउने २५ हजार जना थिए, पुनर्बीमाले पैसा पठाएको भए पहिलो चरणमा १८ हजार जनालाई दावी वितरण गर्न पुग्थ्यो तर, अब १६ हजार जनाले मात्रै पाउँछन्’–उनले थपे ।

अर्थमन्त्रालयले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकममध्ये ८ प्रतिशत अर्थात् १४ करोड ८४ लाख रुपैयाँ प्राधिकरणले, १२ प्रतिशत अर्थात् २२ करोड रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले र २५ प्रतिशत बीमा कम्पनीहरुले (एक कम्पनीको भागमा २ करोड २७ लाख रुपैयाँ) वहन गर्ने मोडालिटी बीमा प्राधिकरणले र बीमा कम्पनीहरु मिलेर बनाएका थिए । सरकारले पठाएको १ अर्ब रुपैयाँ प्राधिकरण र बीमा कम्पनीहरुले थप गरी बीमितमा भुक्तानी गर्न लागिएको हो ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि अर्थात् मंसिर ४ गते अघिनै वितरण गर्नुभन्दै गत असोज २३ गते नै १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । तर, कोरोना बीमामा १ लाख ६१ हजार ३४६ वटा दावीको १५ अर्ब ३५ करोड ६८ लाख २६ हजार रुपैयाँ बराबर दावी भुक्तानी परेको छ । जसमध्ये ५० हजार ४४७ वटा दावीको ४ अर्ब ८३ करोड ३५ लाख ३६ हजार रुपैयाँमात्रै भुक्तानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्