नियम उल्लंघन गर्ने दर्जन बाणिज्य बैंक कारवाहीमा, कुन कुन परे ?

प्रिमियम दर बढाउँदा अधिकांश बैंक फन्दामा
सिंहदरबार संवाददाता
२०७९ मंसिर १३, मंगलवार ११:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने दर्जन वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरु उल्लंघन गर्ने करिब दर्जन वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

राष्ट्र बैंकको सुपरिवेक्षिय कारवाहीमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक गरी ९ वटा वाणिज्य बैंक परेका हुन् । जसमा सनराइज र मेगा बैंक चालु आवको पहिलो त्रैमास ३ पटक कारवाहीमा परेका छन् । भने बैंक अफ काठमाण्डू २ पटक कारवाहीमा परेको हो ।

चालु आवको पहिलो त्रैमासमा कारवाहीमा पर्ने बैंकहरुमध्ये अधिकांशले नियम विपरित कर्जाको प्रिमियमदर बढाउँदा राष्ट्र बैंक सुपरिवेक्षण विभागले कारवाही गरेको हो ।

यसरी कर्जा सम्झौतामा उल्लेख गरिएको प्रिमियमदर थप बढाएर ब्याज असुल गरी राष्ट्र बैंकको कारवाहीमा पर्नेमा हिमालयन, सनराइज, ग्लोबल आइएमई र मेगा बैंक रहेका छन् । यी बैंकहरुलाई राष्ट्र बैंकले प्रिमियम फिर्ता गराउन निर्देशन सहित बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई बोलाएर सचेत समेत गराएको छ । मेगा र सनराइज बैंकले भने आधारदर भन्दा कम ब्यादरमा कर्जा प्रवाह गरेको हुँदा दोस्रो पटक कारवाहीमा परेका थिए ।

जसमा राष्ट्र बैंकले यी बैंकका सीइओहरुलाई बोलाएर सचेत गराएको उल्लेख गरेको छ । भने, मेगा बैंकले विगत ४ वर्षयता नविकरण नभएको कर्जामा प्रयाप्त प्रोभिजन नगर्दा तेस्रो पटक कारवाहीमा परेको हो । सो वापत राष्ट्र बैंकले मेगा बैंकका सीइओ र प्रमुख कर्जा अधिकृतलाई सचेत गराएको थियो । साथै सनराइज बैंकले अवकास भइसकेको सीइओलाई पनि सुविधा उपलब्ध गराएको हुँदा तेस्रो पटक कारवाही गर्दै संचालक समितिलाई सचेत गराएको थियो ।

यस्तै, राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासमा प्रभु, बैंक अफ काठमाण्डू, कुमारी र प्राइम बैंकहरुले राष्ट्र बैंकले रोकका राख्न निर्देशन दिएका खाताहरु रोक्का नराख्दा कारवाहीमा परेको छ ।

कृषि विकास बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धि नियम उल्लंघन गर्दा २० लाख रुपैयाँ जरिवानामा परेको थियो । भने बैंक अफ काठमाण्डूले विपन्न वर्गमा तोकिएको सीमामा कर्जा प्रवाह नगर्दा दोस्रो पटक कारवाीहमा परेको हो । बैंकले २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा हर्जाना तिरेको छ ।

प्रतिक्रिया दिनुहोस्