Shikhar Insurance

संरक्षण र सम्वद्धन हुन नसक्दा बाँकेका पर्यटकीय गन्तव्य ओझेलमा

सिंहदरबार संवाददाता
२०७९ मंसिर १४, बुधबार १४:४१
NIMB
Nabil Bank

नेपालगञ्ज । संरक्षण र सम्वद्धन हुन नसक्दा बाँकेमा रहेका पर्यटकीयस्थल ओझेलमा पर्न थालेका छन् । केही पर्यटकीय सम्भावना बोकेका त्यस्ता गन्तव्यमा लगानी नभएको र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नसक्दा पर्यटन व्यवसायीले उल्लेख्य काम गर्न सकेका छैनन । “पर्यटनको अध्ययन, अनुसन्धान र खोजी भएको छैन, त्यसका लागि वृहत परियोजना निर्माण गर्नुपर्छ, नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भने।

उनले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यक रहेको बताएका छन् । उनले पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको बताए । यहाँका राप्तीसोनारी, बैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रको रुपमा मानिन्छ । अध्यक्ष सिग्देलले भने यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना प्रचुर भएपनि त्यस्तो सोचको विकास हुन सकेको छैन । केही होम स्टे र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढवा दिएको उनको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

राप्ती नदीमा र्याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास र बैजनाथमा रहेको ‘बोटानिकल पार्क’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताइएको छ । त्यस्तै, बाँके राष्टिय निकुञ्जलाई हात्ती सफारी, चारसिङ्गे मृगको बासस्थान रहेको क्षेत्र र पदयात्रा रुपमा विकास गर्न सकिने, यहाँ रहेका विभिन्न तालतलैयालाई ‘फिसिङ्’क्षेत्रका रुपमा विकास गरेर पर्यटकीय आर्कषण बढाउन सकिने प्रचुर सम्भावना देखिएको छ ।

यस बाहेक नेपालगञ्जमा रहेको महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, मिनी जु, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्धारलगायतका क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात मानिन्छ । नाट्टा च्याप्टर बाँकेका अध्यक्ष सिग्देलले पर्यटनलाई राज्यले कम प्राथमिकतामा राखेको गुनासो गरे । स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासका लागि छुट्टा्याउने बजेट न्युन भएको उनको भनाइ छ ।

उनले भने,“यहाँ गोहीको पनि बासस्थान छ, त्यसलाई खास पकेट क्षेत्र बनाएर त्यसमा पर्यटक वढाउन सकिन्छ ।”

पर्यटनको विकासका लागि लगानी भित्रिनुपर्छ । पर्यटनमैत्री वातावरण निर्माण हुनुपर्छ । “यसले पर्यटनको क्षेत्रमा कायापलट गर्न सकिन्छ, उनले भने । पर्यटन प्रवद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बाँके धार्मिक पर्यटनका रुपमा बढी परिचित भएको उल्लेख गर्दै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिए । उनले निकुञ्जलाई हात्तीसफारी, चार सिङ्गे मृग, बाघ लगायतका अन्य जन्तुकोसमेत बास्स्थान भएको क्षेत्रका रुपमा प्रचार गर्न सके यसले पर्यटकीय आर्कषण बढनसक्ने बताए।

नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्वपूर्णस्थलका रुपमासमेत विकास गर्न सकिने उनको सुझाव छ । उनले भने, “यसक्षेत्रमा करिब आठ क्यासिनो, २ पाँच तारे र १२ चार तारे होटेल छन् यसले यहाँको पर्यटन पवद्धन गर्न सहयोग गर्छ ।” यहाँ होटेलमा आउने अधिकांश भारतीय पर्यटक हुन ।

भारतको उत्तराखण्ड, उत्तरप्रदेश र विहारबाट धेरै पर्यटक नेपाल आउछन् । यस बाहेक आन्तरिक पर्यटकको समेत चहलपहल हुन्छ । बाँकेको निर्वाचन क्षेत्र नं ३ को (१) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित रत्न खत्रीले बैजानथा गाउँपालिकाको मानसरोवर प्रतिकात्मक बोटानिकल गार्डेनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नीति र योजना अघि ल्याउन गृहकार्य भइरहेको छ । उनले भने, “त्यस क्षेत्रमा जैविक पर्यटनको प्रचुर सम्भावना भएकाले त्यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सकिन्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्