बैंकरलाई गभर्नरको आदेश–अटेरी नगर्नु, भनेको खुरुखुरु मान्नु

सिंहदरबार संवाददाता
२०७९ मंसिर १४, बुधबार २०:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई बोलाएर अटेरी नगर्न निर्देशन दिएका छन् । वाणिज्य बैंक सुपरभिजन विभागले त्रैमासिक रुपमा आयोजना गर्ने कार्यशालामा गभर्नर अधिकारीले राष्ट्र बैंकले दिएको निर्देशन हुवहु पालना गर्ने बैंकहरुलाई आदेश दिएका हुन् ।

केन्द्रीय बैंकले मंगलबार साँझ आयोजना गरेको ‘प्रमुख कार्यकारी अधिकृतहरुसँग समसामयिक विषयमा अन्तरकृया’ कार्यक्रममा गभर्नर अधिकारीले २६ वटै बैंकका सीइओहरुलाई राष्ट्र बैंकले अर्थतन्त्रलाई जोगाउन केही अप्रिय निर्णयहरु लिएर सोही अनुसार नीति निर्देशन जारी गरिएको उल्लेख गर्दै सोको अक्षरशः पालना गर्नुपर्ने बताए ।

‘हामी सबै मिलेर अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याएको हो, अहिले अलि स्थिर भएको छ, अझै पनि चुनौतीहरु बाँकी नै छन् । हामीले जुन जुन निर्देशनहरु दिन्छौं त्यसलाई हुबहु पालना गर्नु होला’, गभर्नर अधिकारीको भनाई उदृत गर्दै एक बैंकका सीईओले सिंहदरबारसँग भने,‘बैंक वा निजी क्षेत्रलाई अप्ठेरो पर्यो भनेर होइन अर्थतन्त्रको स्थायित्वका लागि राष्ट्र बैंकले नीति निर्देशन निर्माण गर्छ, यही नीतिका कारण निजी क्षेत्र जोगिएको भन्ने कुरा बिस्तारै सबैले बुझ्छन् । राष्ट्र बैंकको नीतिलाई जसले जसरी लिए पनि वा विरोध गरेपनि त्यसबाट हामी पछि हट्दैनौं ।’

गभर्नर अधिकारीले लामो समय विदेशी मुद्रा सञ्चिति घटेर शोधनान्तर घाटा उच्च भएको तर राष्ट्र बैंकले नै लिएका अप्रिय नीति कार्यान्यवनमा आउँदा अवस्था सहज बन्दै गएको दावी गरे। यद्धपि मुलकको अर्थतन्त्रलाई ‘ट्याक’ लयाउन अझै मेहनत गर्नुपर्ने बताउँदै सोमा बैंकहरुको सहयोग चाहिने बताए ।

छलफलमा सहभागी डेपुटी गभर्नर बम बहादुर मिश्रले भने बैंकहरुले नयाँ नयाँ फरमुला ल्याएर सबैलाई झुक्याउन थालेको बताएका थिए । ‘दैनिक कम्पाउण्डिङ कहाँबाट कुन फरमुलाले ल्याउनु भयो, मैले त कहीँ पनि भेटेको छैन्, त्यस्तो काम तुरुन्तै रोक्नुस्’, डेपुटी गभर्नर बम बहादुर मिश्रले भनेका थिए । उनले ब्याजदरका लागि अघि सारिएको १२.१३३३ प्रतिशत अंकमाथि पनि प्रश्न गरेका थिए ।

‘१२.१३३३ अंक राखेर ब्याजदर किन प्रकाशित गर्नु हुन्छ, पछाडीको त्यो तीन अंकको के मूल्य छ र ?’ मिश्रले प्रश्न गरेका थिए ।

राष्ट्र बैंकले हरेक त्रैमासिकमा बैंकरहरुसँग छलफल गर्दै आएको छ । स्थलगत निरिक्षणका क्रममा प्राप्त कैफियत र सुधारका उपायहरुसहित बिशेष प्रस्तुति राखेर राष्ट्र बैंकले बैंकहरुलाई सच्चिन निर्देशन दिने गरेको छ । यसपाली पनि सुपरभिजन विभागका निर्देशक सत्येन्द्र तिमिल्सिनाले स्थलगत निरिक्षणमा प्राप्त कैफियतहरु समेटिएको बिशेष कार्यपत्र प्रस्तुति गरेका थिए ।

छलफलमा गभर्नर, दुबै डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु डा.गुणाकर भट्ट, रामु पौडेल, गुरु पौडेलको उपस्थिति थियो । सो छलफलमा वाणिज्य बैंकका सीइओहरुले समेत आ–आफ्नो जिज्ञासाहरु र आगामी नीति निर्माणमा आफ्ना सुझाव सहितका मागहरु राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्