Shikhar Insurance

प्रचार–प्रसारको अभावले ओझेलमा परे चितवनको पामडाँडा

सिंहदरबार संवाददाता
२०७९ मंसिर १८, आईतवार १८:५८
NIMB
Nabil Bank

भरतपुर । पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो ।

त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ । मुग्लिन बजारबाट तामिन हुँदै ८ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ । मुग्लिनबाट त्यहाँ पुग्न बोलेरो जिप दैनिक सञ्चालनमा हुन्छन् भने मोटरसाइकलमार्फत पनि त्यहाँ पुग्न सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रशस्त सम्भावना बोकेको ठाउँ पामडाँडा प्रचार–प्रसारको अभावमा ओझेलमा परेको इच्छाकामना गाउँपालिका–५ का वडासदस्य तारा गुरुङले बताइन् । उनले भनिन्, “हिमशृङ्खलाको आकर्षक दृश्यसँगै त्यहाँबाट त्रिशूली नदीमाथि पामडाँडाबाट हेर्दा सिरकले ढाकेजस्तो, सिमलको भुवाजस्तो सेताम्मे कुहिरो देख्न सकिन्छ । त्यहाँबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ । कात्तिक, मङ्सिर, पुस र फागुनसम्मै पामडाँडाबाट तल कुहिरो देखिने उनले बताइन्।

“हिजोआज मध्याह्न १२ बजेसम्मै कुहिरो देखिन्छ, उनले भनिन्, बिहानै सूर्योदय हेर्न र घाम लागेपछि सेतो कुहिरोमाथि सुनौला घामले थप्ने सौन्दर्यले पामडाँडा बसिरहुँजस्तो लाग्ने भएको छ । यतिबेला यहाँ लटररम्म सुन्तला फलेका छन् । यसले पनि यहाँको दृश्य थप मनोरम बनाएको छ ।

त्यहाँबाट तीन किलोमिटरको यात्रामा इच्छाकामना मन्दिर पुग्न सकिने राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्राचार्य यानबहादुर गुरुङले बताए। उनका अनुसार पामडाँडाबाट इच्छाकामना मन्दिरसँगै तनहुँको छिम्केश्वरी र गोरखाको मनकामना मन्दिर देख्न सकिन्छ । पामडाँडा नजिकै रहेको साठीमुरेमा होमस्टे छ । त्यहाँ पुग्नेका लागि १५–२० जना पाहुनालाई राख्न सक्ने क्षमता यहाँका घरवास( होमस्टे)को व्यवस्था गरिएको छ ।

पामडाँडामा पनि गुरुङ समुदायको होमस्टे सञ्चालन गर्ने योजना बनाइएको छ । गुरुङ समुदायको खुलाल जातिमात्रै बसोबास गर्दै आएको पामडाँडामा गोरखाको सिरानचोक गाउँपालिका चित्रपामबाट पुर्खाहरू त्यहाँ आएर बसेको उनले बताए । यहाँबाट नजिकै रहेको चेपाङ बस्ती पुगेर त्यहाँको रहनसहनबारे जानकारी लिन सकिन्छ । पामडाँडाको पर्यटन विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राखेर काम गर्ने इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनले सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना रहेको जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्