Shikhar Insurance

स्थिर विनिमयदरमा विदेशी लगानी भित्र्याउन अर्थले माग्यो प्रस्ताव, हेजिङ्ग सुविधा यी बैंकलाई मात्रै

सिंहदरबार संवाददाता
२०७९ मंसिर २१, बुधबार १४:५६
NIMB
Nabil Bank

काठमाडौं । स्थिर विनिमयदरमा विदेशी लगानी भित्र्याउन अर्थात् ‘हेजिङ्ग’ को सुविधा लिन चाहने बैंकहरुलाई प्रस्ताव लिएर आउन अर्थ मन्त्रालयले आग्रह गरेको छ । बिहिबार मन्त्रालयले एक सुचना जारी गर्दै हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने सरकारी बैंकसँग प्रस्ताव माग गरेको हो ।

परियोजना कार्यान्वयनका लागि लगानीकर्ताले विदेशी ऋण लगानी गर्दा जुन विनिमय दरमा विदेशी मुद्रा बैंकमा जम्मा गरेको हो सोही विनिमय दरमा लगानी फिर्ता लैजान पाउने गरी विदेशी विनिमय दर स्थिर कायम गर्ने प्रणालीलाई हेजिङ्ग भनिन्छ । सरकारले विभिन्न पूर्वाधार निर्माणका क्षेत्रमा आउने विदेशी लगानीको हेजिङ्ग गर्ने गरी केही समयअघि मात्रै नियमावली संशोधन गरेको थियो । ‘हेजिङ्ग नियमावली २०७९’ को नियम ६ मा हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाका रुपमा काम गर्नका लागि सरकारी लगानी रहेको र नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पाएको वा पूर्वाधार बैंकका रुपमा अनुमति पाएको हुनुपर्ने उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोही अनुसार मन्त्रालयले सुचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्ययोजनासहितको पुर्वाधार विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई हेजिङ्गको सुविधाको प्रस्ताव पेस गर्न भनेको हो ।

जारी सुचनामा भनिएको छ,–‘हेजिङ्ग नियमावली, २०७९ को नियम ६ मा हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाको रूपमा काम गर्न चाहने प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजनासहित मन्त्रालयमा प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको छ। साथै सोही नियममा सो प्रस्ताव साथ पेस भएको हेजिङ्ग सम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धि प्रस्तावकको कार्यक्षमता समेतको आधारमा मूल्याङ्कन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ्ग गर्ने संस्थाको रूपमा तोक्नेछ भन्ने व्यवस्था भएकोले सो अनुसार हेजिङ्ग सुविधा प्रदान गर्न चाहने संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो व्यावसायिक योजना यस मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेस गर्नुहुन सूचित गरिन्छ ।’

हेजिङ्गसम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमताका आधारमा मूल्याङ्कन गरी मन्त्रालयले उल्लेखित बैंकलाई हेजिङ्ग गर्ने बैंकका रुपमा तोकेको हो ।

हेजिङ सुविधाका लागि तोकिएको मापदण्डअनुसार राष्ट्र बैंकमा विदेशबाट आएको विदेशी मुद्रा जम्मा गर्नुपर्छ । त्यस्तो विदेशी मुद्रा जम्मा गर्दाको दिन कायम रहेको विनिमय दरअनुसार नेरुमा परिवर्तन गरी परियोजनाका नाममा रहेको उल्लेखित वाणिज्य बैंकहरुको खातामा जम्मा गर्नुपर्ने व्यवस्था नियमावलीमा छ । राष्ट्र बैंकमा जम्मा हुन आएको विदेशी मुद्राको विनिमय दर स्थिर (लक) गरिनेछ । जुन विनिमय दरमा नेरुमा परिवर्तन गरेको हो, सो दरमा हेरफेर वा घटबढ नहुने गरी राष्ट्र बैंकले लक गर्नेछ । यसरी लक गरिएको विनिमय दरमा सम्झौताअनुसार विदेशी ऋणबापतको रकम फिर्ता पाउने गरी बैंकका लगानीकर्तालाई राष्ट्र बैंकले हेजिङ सुविधा प्रदान गर्नेछ ।

नयाँ नियमावलीअनुसार एक सय मेगावाट वा सोभन्दा बढी क्षमताको जलाशययुक्त वा अर्धजलाशययुक्त विद्युत् परियोजना, दुई सय २० केभी वा सोभन्दा बढी भोल्टेज क्षमताको ३० किलोमिटरभन्दा लामो विद्युत् प्रसारणलाइन र १० किलोमिटरभन्दा लामो मेट्रो वा मोनो रेलमार्गको निर्माणमा सरकारले हेजिङ्ग गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै सडक, फ्लाइओभर, अन्डरपास, सिग्नेचर पुल, सुरुङमार्ग, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थल निर्माण एवं विस्तारमा पनि हेजिङ्ग सुविधा दिने व्यवस्था छ । दुई अर्ब रुपैयाँभन्दा माथिको स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्राविधिको क्षेत्र, औद्योगिक पूर्वाधार र सहरी विकाससम्बन्धी पूर्वाधार परियोजनामा पनि हेजिङ्ग सुविधा दिने नियमावलीमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्