Shikhar Insurance

मण्डनदेउपुरको घरघरमा पुग्दै अविरल इन्द्रावती नदी, आयोजनाबाट ५ हजार ५५० घरधुरी लाभान्वित हुने

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १७:०५
NIMB
Nabil Bank

काभ्रेपलाञ्चोक । खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्याईंदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट घरघरमा पुर्याइने भएको हो ।

टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त नदीको पानी मण्डनदेउपुर नगरका ५ हजारभन्दा बढीको जिन्दगानी बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका ५ हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराउन लागिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

विसं २०७८ असारमा वृहत खानेपानी आयोजनाको प्रशासनिक प्रक्रिया थालेलगत्तै पहिलो चरणमा ५४ करोडको लागतमा ठेक्का आह्वान गरी निर्माण थालिएको थियो । आयोजनाको हाल ६८ प्रतिशत काम सकिएको मण्डनदेउपुर सुख्खा क्षेत्र वृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताए ।

स्वीकृत बजेटमध्ये करिब आधा बजेटबाट हाल आयोजनाको प्रारम्भिक ठेक्का सम्झौता गरिएको छ । विसं २०७७ चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट १ अर्ब रुपैयाँ स्वीकृत भएको थियो । उक्त आयोजनाको २०७८ मङ्सिरमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शिलान्यास गरेका थिए ।

आयोजना तीन वर्षमा सक्ने समयसीमा निर्धारण गरिए पनि यसै वर्षभित्र सक्ने लक्षण देखिएको छ । शर्मा–लामा–रमण जेभी नामक ठेकेदार कम्पनीले आयोजना निर्माण गरिरहेको छ । आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको ९६ करोड रुपैयाँ, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित १ अर्ब रुपैयाँको आयोजना स्वीकृत गरिएको हो । नगरको १२ मध्ये खानेपानीको समस्या झेलिरहेको नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको छ ।

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रति उपभोक्ता १ हजार सङ्कलन गरेको थियो । नगरसँग खानेपानी आयोजनामा एक प्रतिशत करिब १ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरिएको अध्यक्ष तामाङले बताए । आयोजनालाई नगरले ५१ लाख ६६ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेबाट पानी खसालिने छ । अध्यक्ष तामाङका अनुसार नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । इन्द्रावतीको पानी प्रशोधन गरेर नौ सय मिटरको उचाइमा अवस्थित थामडाँडाको मुख्य ट्याङ्कीमा खसालिनेछ ।

उक्त आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० सहित २३ वटा वितरण ट्याङ्की निर्माण गरिएको छ । वितरण ट्याङ्की २० देखि एक सय घनमिटरसम्मका छन् । यस्तै ४० देखि २ सय घनमिटरका पम्पिङ गर्ने सातवटा ट्याङ्की निर्माण गरिएको छ ।आयोजनाको मुख्य पाइलान ३६ किलोमिटरको हुने जनाइएको छ । हाल मुख्य पाइलाइन विछ्याउने काम भइरहेको छ । वितरणलाइन भने १ सय ५४ किलोमिटर सहित कूल एक सय ८० किलोमिटर पाइपलाइन हुनेछ ।

यसैगरी खानेपानी आयोजनाको कार्यालय भवन पनि निर्माण गरिएको छ । घरघरमा धारा जडानको काम बाँकी रहेको अध्यक्ष तामाङले बताए । आयोजनाबाट नगरको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का ५ हजार ५ सय ५० घरधुरी लाभान्वित हुनेछन् । प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३.५ लिटर पानी खस्नेछ । गोर्खा भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहँका बासिन्दाले केही महिनामै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्