आलु उत्पादनमा आत्मनिर्भर बन्दै नवलपरासी

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १७:२७

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष ३ हजार १ सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए ।

“गत वर्ष ३ हजार १ सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ, उनले भने, “गत वर्ष जिल्लामा ५५ हजार २ सय ४५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।”

जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा उल्लेख छ । आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ, प्रमुख लामछिानेले भने, “यो वर्ष समय अनुकूल छ, आलु अत्पादन राम्रो हुने अनुमान छ ।”

मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, कावासोती नगरापलिका, देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकामा व्यावसायिकरुपमा आलु खेती गर्ने गरिएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौं पनि जाने गरेको छ । उक्त केन्द्रले कृषि समूहमा आलु खेती प्रवर्द्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्