सुन्तला खेतीबाट जीवनस्तर फेरियो, बार्षिक १० लाखसम्म आम्दानी

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १४:५९

बेनी । बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागतरुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिकरुपमा सुन्तला खेती गरेका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरी करिब सात सय सुन्तलाका बोट रोपेका खत्रीको बगैँचामा यतिबेला सुन्तला टिप्ने चटारो छ ।

दुई ठाउँमा सुन्तला खेती गरेका खत्रीको एउटा बगैँचाबाट मात्रै ७ लाख ९० हजारमा सुन्तला बिक्री भएको छ । “गत वर्ष ७ लाखको सुन्तला बिक्री गरेको थिँए, यस वर्ष दुई वटा बगैँचामा गरेर १० लाख रुपैयाँ बढीको बिक्री भएको छ, ठेकेदारले बोटमै आएर सुन्तला किनेर लैजाने गरेका छन्, उनले भने ।

खाद्यबाली लगाउँदा नियमित सिँचाइको अभावसँगै खेतीबाली लगाउने र गोडमेलमा लाग्ने कामदारको लगानीअनुसारको प्रतिफल नआउने भए पनि सुन्तला खेतीबाट सन्तुष्ट बनेको खत्रीले बताए।

बास्कुनाकै देवी हुमेन क्षेत्रीको फूलबारीमा पनि यतिबेला सुन्तला टिप्ने चटारो छ । उनको घरपरिवारमा करिब आठ सय सुन्तलाका बोट छन् । गत असोजमै नवलपरासीका व्यवसायीले घरमै पुगेर सुन्तलाको पेस्की रकम दिएर बोटबाटै सुन्तला खरिद गर्ने टुङ्गो लगाएका थिए । क्षेत्रीको मात्रै होइन बास्कुना र सुर्केमेलाका करिब दुई दर्जन घरधुरीमा व्यवसायीले फल नलाग्दै पेस्की दिएर सुन्तलाबोट बाटै खरिद गर्ने गरेका छन् । “यो वर्ष करिब ८ लाखको सुन्तला बिक्री हुने भएको छ, सबै सुन्तला ठेकेदारले नै लैजाने समझदारी भएको छ, बजार खोज्न भौतारिनुपर्ने झण्झट भएको छैन, सुन्तलाखेतीप्रति उत्साहित नै छौँ, क्षेत्रीले भने । उनको घरपरिवारले करिब २० रोपनी खेतबारी सबैमा सुन्तला खेती गरेका छन्।

बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । सुन्तलाबाट आकर्षक आम्दानी हुने, बजार सजिलै पाइने भएपछि गाउँमा सुन्तला खेती गर्ने लहर नै चलेको स्थानीय सुन्तला खेती गर्ने कृषक तिलकुमारी गुरुङले जानकारी दिए । यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो हुने भएकाले बोटमा दाना नलाग्दै व्यापारी पेस्की लगाउन आइपुग्छन्, अधिकांश व्यवसायीले पोखरा, काठमाडौं र चितवनसम्म यहाँको सुन्तला लैजाने गरेका छन्, सुन्तला फलाउनेले बजारको खोजी अहिलेसम्म गर्नुपरेको छैन, गुरुङले भने ।

यस वर्ष बास्कुनामा सबैभन्दा थोरै बिक्री गर्नेले १ लाख र बढी बिक्री गर्नेले १० लाखसम्म सुन्तलाबाट आम्दानी गरेका छन् । बास्कुनासँगै जोडिएको बेनी नगरपालिका–३ भकिम्लीको राखु गाउँका कृषकलाई पनि यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याइ भएको छ । करिब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् । कोदो, मकै, गहुँलगायत अन्नबालीको विकल्पमा सुन्तला खेती गरेका गरेका स्थानीयवासीले बजारको अभाव झेलेका छैनन् ।

अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र खरिद गर्नका लागि काठमाडौंलगायतका ठाउँबाट व्यापारी बगैँचामै आइपुगेको स्थानीय कृषक रामबहादुर घर्तीमगरले जानकारी दिए । अघिल्लो वर्ष ७० लाख बराबरको सुन्तला निकासीभएको राखुबाट यस वर्ष उत्पादन बढेकाले १ करोड बराबरको सुन्तला बिक्री हुने स्थानीयको अपेक्षा छ । यस गाउँमा न्यूनतम ५० हजारदेखि सात लाखसम्म वार्षिकरुपमा हरेक घरले सुन्तला बिक्रीबाट आम्दानी गर्छन् ।

म्याग्दीमा पछिल्लो समय सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नगदे बाली भएकाले आम्दानी हुने र खेती गर्न अन्य बालीको तुलनामा झण्झट र लगानी धेरै नहुने भएकाले जिल्लामा सुन्तला खेतीको लहर चलेको हो । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लका स्थानीयवासीले समेत गाउँलाई सुन्तला गाउँको रुपमा विकास गरेका छन् । करिब ५० घरधुरीको बसोबास रहेको यहाँका सबै घरधुरीमाव्यावसायिक सुन्तला खेती गरिएको छ । परम्परागत मकै, गहुँ, कोदो खेती छाडेर यहाँका स्थानीय सुन्तला खेतीमा लागेका हुन् । एक दशकयता यहाँका खेतीयोग्य जमिन र खेती गर्न छाडेर बाँझो रहेको जमिनमा समेत सुन्तला रोप्न थालिएको र सुन्तलाको उत्पादन भएमा बजारीकरणको समस्या नभएको स्थानीय कृष्ण पुनले जानकारी दिए ।

म्याग्दीमा बेनी नगरपालिकासहित बरङ्जा, अर्मन, ओखरबोट, देवीस्थान, बिम, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङलगायतका क्षेत्र सुन्तला खेतीका लागि पकेट क्षेत्र मान्छिन् । गाउँमा अन्न बालीको लागि काम गर्ने मानिसको अभावमा बाँझिने समस्या बढिरहेको समयमा सुन्तला खेतीतर्फ बढ्दो आकर्षणले जमिनको सही उपयोगसँगै स्थानीयलाई आयआर्जनमा समेत सघाउ पु¥याएको छ ।

जिल्लाको ग्रामीण भेगसम्म सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन भएका सुन्तलाको बजारीकरणमा सहज भएपछि किसान सुन्तलाको व्यावसायिकतर्फ उत्साहित भएर लागेका हुन् । पछिल्लो समय सुन्तला खेती गर्ने किसानलाई स्थानीय तह र कृषि ज्ञान केन्द्रलगायतका निकायबाट समेत बिरुवा खरिदमा अनुदानसँगै रोग कीरा व्यवस्थापनमा औषधिसँगै तालिमसमेत उपलब्ध भएपछि सुन्तलाको व्यावसायिकताले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउनथालेको छ ।

प्रतिक्रिया दिनुहोस्