Shikhar Insurance

३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि वीरगञ्ज महानगरले आफैं तिरिदिने

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १८:२६
NIMB
Nabil Bank

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ । बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखिको नगरवासीको ३० युनिटसम्मको विद्युत महसुल निःशुल्क हुने भएको हो ।

अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । बिहीबार महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनकाबीच नगरप्रमुख राजेशमान सिंहले आफूहरुले निर्वाचनका बेला जनताकाबीच गरिएको प्रतिबद्धता बमोजिम नगरवासीको विद्युत महसुल निशुल्क गर्ने सम्झौता गरेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

महानगरको मेयरमा सपथ लिएसँगै सिंहले पहिलो बैठकबाटै विद्युत महशुल निशुल्क गर्ने निर्णय गर्नुका साथै नगरपरिषद्बाट समेत निर्णय पारित गराएका थिए ।
‘हामीले सपथ लिएसँगै यो निर्णय कार्यान्वयन गराउने प्रयास गरेका हौँ, भनेको भन्दा केही महिना ढिला हुन पुगेको छ,’ उनले भने, ‘लाभग्राही पहिचान र तथ्यांक संकलन गर्न समय लाग्यो, अब ढिलै भए पनि यो महिनादेखि कार्यान्वयनमा ल्याउन हामी सफल भएका छौँ ।’

सम्झौता बमोजिम अब मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले भुक्तानी गर्ने उनले बताए ।
८ बुँदे सम्झौतामा महानगरपालिकाभित्रका ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीअरको एमसिबी प्रयोग गरी अधिकतम् ३० युनिट खपत गर्ने ग्राहकको विद्युत महशुल र न्युनतम मासिक महशुल महानगरले व्यहोर्ने उल्लेख छ ।

यस्तै, महानगरभित्र संचालित सिंगल फेज कृषि मिटरको सम्पूर्ण ग्राहकको मासिक विद्युत महशुल पनि महानगरले नै व्यहोर्ने छ । महानगरले प्राधिकरणको खातामा अग्रिम रकम भुक्तानी गर्ने र त्यही अनुरुप प्राधिकरणले हरेक महिना रिबेटसहितको ग्राहकको शुल्क फर्स्योट गर्ने छ ।

सम्झौता बमोजिमको सुविधा प्राप्त गर्न ग्राहकले सम्झौता लागु हुनु पूर्वको आफ्नो बक्यौता भने चुक्ता गरेको हुनु पर्ने पनि सम्झौतामा उल्लेख छ । कुनै कारणबस सम्झौता बमोजिमको शुल्क भुक्ता हुन छुट भए उपभोक्ताले मासिक मिटर रिडिङ भएको मितिले ६ दिन भित्र प्राधिकरणको कार्यालयमा दावी गर्न सकिने पनि उल्लेख छ ।
नगरवासीको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत महसुल र इनर्जी शुल्क निशुल्क गर्ने वीरगञ्ज महानगर मधेस प्रदेशमै पहिलो पालिका बनेको छ ।

सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झा र सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले हस्ताक्षर गरेका छन् । पत्रकार सम्मेलनकाबीच सम्झौता आदान प्रदान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्