Shikhar Insurance

मुस्ताङमा फस्टाउँदै आलुखेती, ७० प्रतिशतभन्दा बढी देशका विभिन्न बजारमा निकासी हुने

सिंहदरबार संवाददाता
२०७९ पुष ८, शुक्रबार १६:५०
NIMB
Nabil Bank

म्याग्दी । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ ।

मुस्ताङमा यसपाली ९ हजार ६ सय ३ मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार मुस्ताङको ३ सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती हुन्छ । गत वर्ष ३३ करोड रुपैयाँ मूल्य बराबरको ६ हजार ७ सय २२ मेट्रिकटन आलु निकासी भएको उनले जानकारी दिए।

“स्थानीय तहसँग समन्वयमा आलुको क्रप कटिङ गरिएको थियो, उनले भने, “कूल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बिउका लागि र १० प्रतिशत जिल्लामै खपत भएको पाइयो ।”

प्रतिहेक्टर जमिनमा औसत ३०.७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादीको प्रयोगविना उत्पादन भएको मुस्ताङको आलुको बजारमा उच्च माग रहेको कृषक आजित थकालीको भनाइ छ ।

“आलु एक पाथीको १ सय ५० देखि २ सय १० सम्ममा बिक्री हुने गरेको छ, उनले भने, “प्रतिपाथीमा औसत तीन किलो आलु हुन्छ । उनका अनुसार बारीमा नखन्दै व्यापारीले अग्रीम पैसा दिएर आलु खरिद गर्छन् ।

मुस्ताङ घुम्न जानेले कोसेलीका रुपमा आलु किनेर लैजाने गर्छन् । मुस्ताङको आलु स्वादिलो हुने भएकाले माग बढेको हो । अन्य ठाउँको तुलनामा मुस्ताङमा उत्पादन हुने आलुको स्वाद फरक हुन्छ । चिसो हावापानीका कारण आलुमा रोग किराको समस्या देखिएको छैन ।

मङ्सिरदेखि फागुनसम्ममा लगाइने आलु भदौ र असोजमा खन्ने गर्छन् । यहाँका किसानले आलुखेतीमा भेडाच्याङ्ग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग गर्छन् भने रासायनिक मल प्रयोग गर्दैनन् । मुस्ताङको आलुलाई पोखरा, बेनी, बागलुङ, काठमाडौं, चितवनलगायत देशका विभिन्न सहरका होटलमा विभिन्न परिकार बनाउन प्रयोग हुने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्