Shikhar Insurance

फिलीपिनो महिला रोज ग्रान्डाको ‘फुड ट्रक’, नेपालमै वार्षिक १ करोड रुपैयाँको व्यापार

सिंहदरबार संवाददाता
२०७९ पुष २४, आईतवार १२:०९
NIMB
Nabil Bank

मोरङ । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छिन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई उनले नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरिन । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।

विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गर्ने चार चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो । विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फुड ट्रक चलाउने गरेका छन् । विराटनगरमा यो एकमात्र फुड ट्रक हो । फुड ट्रकबाट दैनिक २० देखि २५ हजारसम्मको व्यापार हुने गरेको छ । जसअनुसार मासिक करिब साढे ७ लाख रुपैयाँ र वार्षिक १ करोडको हाराहारीमा व्यापार हुने उनीहरुको भनाई छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विसं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई गएका थिए ।। उनको त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गरे।

विसं २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या पर्यो । लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थालेका थिए। तर ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देखिन र आफ्ना श्रीमान्लाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गरिन ।

चार चक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटलको व्यवसाय चलाउनु विदेशमा सामान्य हो । क्याटेरिङमा काम गरेका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो । ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किने र होटलको आकार दिए। यसमा उनको २२ लाख रुपैयाँ खर्च भयो । गाडीवाला होटलले हाल दैनिक २० देखि २५ हजार रुपैयाँसम्मको कारोबार गर्ने गरेको छ । शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डाले बताइन ।

वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको उनी बताउँछिन् । तीन महिनाअघि मात्र नेपाली नागरिकता पाएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गर्छिन् भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी गर्छिन् ।

विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा सूर्यप्रकाश सोनीले आफू फुड ट्रकको नियमित ग्राहक भएको बताए। उनले फिलिपिन्सकी महिलाको मेहेनत देखेर आफू दङ्ग हुने गरेको बताए। विराटनगर–२ की रेणुका श्रेष्ठले गाडीमा पकाएको खाना स्वादिष्ट हुने गरेको तर्क गरे । उनले फिलिपिन्सबाट आएकी ग्रान्डाबाट विदेश जान खोज्ने युवायुवतीले धेरै कुरा सिक्न सक्ने बताए। जाँगर भए नेपालमा प्रशस्त आम्दानी गर्न सकिने भन्ने उदाहरण ग्रान्डाले प्रस्तुत गर्नुभएको श्रेष्ठले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्