Shikhar Insurance

गाउँपालिकाद्वारा दीर्घरोगीलाई मासिक ५ हजार भत्ता दिने

सिंहदरबार संवाददाता
२०७९ माघ ९, सोमबार १३:४२
NIMB
Nabil Bank

ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिको १२औँ गाउँ सभाबाट दीर्घरोगीलाई जीवन निर्वाह खर्च दिने निर्णय गरेको हो ।

गाउँपालिकाभित्रका दीर्घरोगीको लगत सङ्कलन गरी उनीहरुको जीवन निर्वाहमा टेवा पुर्याउनका लागि हरेक महिना ५ हजार रुपैयाँ भत्ता प्रदान गर्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । अध्यक्ष थापा भन्छन्, “गाउँपालिकामा जो नागरिक दीर्घरोगी छन्, पहिचान गरेर उनीहरुको जीवन निर्वाहमा सानो भए पनि राहत पुगोस् भन्ने हिसाबले हामीहरुले यो कार्यक्रम सञ्चालन गर्न थालेका हौँ, जसलाई पनि यो समस्या पर्न सक्छ, हामीहरुले उनीहरुलाई स्थानीय सरकारले थोरै भए पनि आभास गराउनु छ, दुःख सुखमा साथ दिनु छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

गाउँसभाले समपूरक कोषको १ करोड ४० लाख रुपैयाँ र सञ्चित कोषको २ करोड ५ लाख रुपैयाँ गरी कूल ३ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट २४ वटा योजना सम्बोधन गरिएको अध्यक्ष थापाले बताए । गाउँसभाले विभिन्न विधेयक पारित गरेको छ ।

गाउँसभाले आर्थिक वर्ष २०७९/८० को संशोधित बजेट पारित गरेको छ । गत असारमा सम्पन्न गाउँसभामा सङ्घीय सरकारबाट प्राप्त हुने ४८ करोड ४४ लाख ४५ हजार रुपैयाँ, प्रदेश सरकारबाट २ करोड ९१ लाख ७८ हजार रुपैयाँ, आन्तरिक स्रोतको ४० लाख रुपैयाँ, मालपोततर्फ ५ लाख र सञ्चितकोषमा ३ करोड १० लाख गरी कूल ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट पारित गरेको थियो । अहिले राष्ट्रपति शैक्षिक सुधार र अर्थिङ लगायतको बजेट थपिएर आएकाले गाउँपालिकाको कूल बजेट ५७ करोड ८७ लाख ४० हजार २ सय ४३ रुपैयाँ पुगेको गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले जानकारी दिए ।

गाउँपालिकाको चालू बजेट ३३ करोड ६५ लाख १७ हजार २ सय ४३ रुपैयाँ र पूँजीगततर्फ २४ करोड २२ लाख २३ हजार रुपैयाँ रहेको उनको भनाइ छ । चालू बजेटको ४५.९५ प्रतिशत र पूँजीगततर्फ ६.७५ प्रतिशत मात्रै बजेट खर्च भएको र आर्थिक वर्षको पहिलो ६ महिनामा गाउँपालिकले आर्थिक विकासतर्फ १३.४३ प्रतिशत, सामाजिक विकासतर्फ ५.३३ प्रतिशत, पूर्वाधार विकासतर्फ ५.७२ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ६.८७ प्रतिशत र कार्यालय सञ्चालनमा १३.२६ प्रतिशत वित्तीय प्रगति भएको उपाध्यक्ष थापा बताउँछन् ।

गाउँपालिकाले ६ महिनाको अवधिमा कूल ४५ शीर्षकबाट २९ लाख ९३ हजार एक सय २३ रुपैयाँ कर सङ्कलन गरेको गाउँपालिकाका प्रवक्ता टिमनसङ्गम विकले जानकारी दिए । नागरिकलाई प्राकृतिक प्रकोपका रुपमा रहेको चट्याङको प्रकोपबाट बचाउनका लागि प्रदेश सरकारसँगको सहकार्यमा चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने परियोजना सञ्चालन थालिएको उनले बताए।

गाउँपालिकाले यस आर्थिक वर्षमा ११ विधेयक तयार गरिएको समेत जनाएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशुमा २१.०९ प्रतिशत, उद्यम विकासको १५.५ प्रतिशत, सहकारीको १२.५ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ । सामाजिक विकासतर्फको शिक्षा युवा तथा खेलकुदमा ५७.०९ प्रतिशत, स्वास्थ्यमा ४१. ५ प्रतिशत, महिला, बालबालिका, ज्येष्ठ नागरिकमा ७४.४५ प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकामा कूल तीन सय ३९ योजनामध्ये जम्मा एक सय ५४ योजना सम्झौता भएको र सम्झौता भएकामध्ये २१ योजना मात्रै निर्माण सम्पन्न भएको विक बताउँछन् । गाउँसभाले बजेट संशोधन विधेयकसहित विभिन्न १२ विधेयक र ऐन पारित गरेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्