छोरा पढाउन सहर पसेर पानीपुरी र चटपटेको व्यापार सुरु

सिंहदरबार संवाददाता
२०७९ माघ १०, मंगलवार १५:५५

भजनी । हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ । तर सबैले भने जस्तो हुँदैन । गुणस्तरीय शिक्षाका लागि टाढासम्म जानुपर्ने बाध्यता अझै पनि छ । अभिभावकहरु राम्रा विद्यालयको खोजीमा सहर पस्न बाध्य भइरहेको घटना नौला होइनन् । त्यसैमध्येकी एक छिन्, कालीकोट पचाल झरना गाउँपालिका-५ कि दुर्गा बुढा ।

बुढाका तीन जना छोरा छन् । गाउँमा भने जस्तो विद्यालय नभएपछि उनी यतिबेला कैलालीको टीकापुर झरेकी छिन् । उनले कालीकोटको घर, जग्गा र व्यापार सबै छोडेर सहर झरेकी हुन् ।

गाउँमा छँदा चिया पसल, खेतीपाती, दुई भैँसी, एक घोडा र बाह्र खच्चर एक्लैले सम्हालेकी उनले त्यो बेलामा मासिक ३० देखि ४० हजारसम्म कमाउथिन् ।

“गाउँमा कमाइ राम्रो भए पनि विद्यालय भने जस्तो नभएपछि छोरालाई लिएर टीकापुर पठाएकी थिएँ, उनले भने, “टीकापुर बस्दा पढाइ र होस्टेलका लागि मासिक २० देखि २५ हजारसम्म खर्च हुने गरेको थियो । तर छोराहरुले होस्टेलको खानामा गुनासो गरेपछि आफै टीकापुर आएको उनले सुनाइन् ।

“टीकापुर आएपछि कमाउने आधारहरू सबै सकिए । गाउँको चिया पसल गुम्यो । खेतबारी पनि उजाड बन्यो । निकै मिहेनतले बनाएको घर अलपत्र पर्यो भने आम्दानीका सबै स्रोत पनि सुके, उनले भनिन्।

नयाँ आम्दानीको स्रोतका लागि उनले पानीपुरी र चटपटेको व्यापार सुरु गरिन् । जेठो छोरा एसइई उत्तीर्ण गरी अहिले काठमाडौंमा कक्षा ११ मा पढिरहेको छ । दुई छोरा टीकापुरमै एउटा ७ मा र अर्को ५ मा अध्ययन गरिरहेका छन् । बाख्रा बेचेको पैसाबाट एउटा ठेला किनेर पानी पुरी र चटपटेको व्यापार सुरु गरेकी दुर्गालाई अहिले पहिलेको जस्तो चिन्ता भने छैन ।

“दैनिक एक हजारको हाराहारीमा कमाइ हुन्छ । महिनामा २५ हजारसम्म बचत हुन्छ, दुर्गा भन्छिन्, “काठमाडौं छोरालाई मासिक १२ देखि १५ हजार पठाउनुपर्छ । त्यस्तै मेरो कमाइले परिवार पालिएको छ ।”

प्रतिक्रिया दिनुहोस्