‘बैंकिङ क्षेत्रको योगदानको सम्मान भएन, धेरै कमाए भनेर गाली मात्रै गर्छन्’

सुनिल केसी
२०७९ माघ ११, बुधबार १८:४०

विश्वव्यापी रुपमै आर्थिक मन्दी आउने सम्भावना देखिएको छ । त्यसको असर नेपालमा पनि पर्न सक्छ । नेपाल टुरिजममा बढी भर पर्दो रहेछ भन्ने कुराको पुष्टि कोभिडपछि यो क्षेत्रमा परेको प्रभावका कारण आर्थिक गतिविधिको अवस्थाले देखाएको थियो । आर्थिक मन्दी भयो भने नेपाल आउने पर्यटकको संख्या पनि घट्न सक्छ । साथै, नेपालको अर्थतन्त्र बिप्रेषणमा आधारित भएको हुनाले पनि विश्व व्यापी आर्थिक मन्दीले रेमिट्यान्समा पनि असर पर्ने हुन्छ ।

नेपालको अर्थतन्त्रमा विस्तारै बाह्य ऋणको चाप पनि बढिरहेको हुँदा विश्व व्यापी रुपमा आउने आर्थिक मन्दीको नकारात्मक असर नेपालमा पनि पर्ने सक्ने सम्भावना हामीले देखिरहेका छौं । त्यो असर बैंकिङ क्षेत्रमा पनि अवश्य नै पर्न जान्छ । अर्कोतर्फ विश्वव्यापी रुपमै विद्युतको माग बढ्दै गइरहेको छ । जसले गर्दा नेपाललाई भारततर्फ विद्युत निर्यातमा सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ । तर पनि हामीले हरेक कुरामा सचेत भएर नै अघि बढ्नुपर्ने हुन्छ ।

नेपालको बैंकिङबाट आजको दिनमा करिब ४२ खर्ब ६८ अर्ब कर्जा प्रवाह भएको छ । अप्ठ्यारो परिस्थीतिका वावजुद पनि ७५२ स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगिसकेका छन् । कोभिडको समयमा पनि अर्थतन्त्रलाई पुनरउत्थान गर्न बैंकिङ क्षेत्रको तर्फबाट धेरै सहयोग भएकै हो । अहिले बैंकिङ क्षेत्रको बारेमा बाहिर धेरै कमायो भन्ने कुराहरु आइरहेको छ । यो अवस्थामा पनि बैंकले धेरै नाफा कमाएको रहेनछ भन्ने पुष्टि बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणले गरेको छ । दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकामध्येमा पहिलो पटक एउटा वाणिज्य बैंकले घाटा ब्याहोरेको छ । बैंक घाटामै गएको सम्भवत यो पहिलो पटक नै हो । दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले नाफामा खासै प्रगति गरेको देखिँदैन ।

यो सबै भइरहँदा पनि गत वर्ष बैंकिङ क्षेत्रले सरकारलाई राजश्वमा राम्रै योगदान गरेको हो । यो सम्भव हुनको कारण भनेकै बैंकिङ क्षेत्र पारदर्शी भएर हो । पहिले बैंक रेट अर्थात बैंकको ब्याजदर बढेको विषय धेरै चर्चामा आउने गरेको छ । कोभिड सुरु हुनपुर्वको वाणिज्य बैंकहरुमा कर्जाको औषत ब्याजदर ११.८ प्रतिशत थियो भने गत कात्तिक।मसान्तसम्म वाणिज्य बैंकहरुमा कर्जाको औषत ब्याजदर १२.६५ प्रतिशत कायम भएको थियो । यसबीच बैंकको बेसरेट बढेर नै कर्जाको दर पनि बढेको हो । अहिले करिब औषतमा बेसरेट १३ प्रतिशतको हाराहारीमा पुगेको देखिन्छ ।

विश्वभर नै मुद्रास्फिति बढे अनुसार बैंकमा कर्जाको रेटहरु बढेको छ । अमेरिकामा १/२ प्रतिशतमा लिएको रेट अहिले ८ प्रतिशतमा पुगेको छ । यसको तुलनामा नेपालमा कर्जाको ब्याजदर १/२ प्रतिशतले बढ्नु भनेको धेरै हो जस्तो लाग्दैन । कोभिडको समयमा ब्याजदर धेरै कम भएर गएको थियो । त्यो समयमा अधिकांश बैंकहरुले फिक्स रेटको प्रोडक्टहरु दिइरहेका थियौं । जसमा १०/१५ वर्षसम्म परिवर्तन नहुने भनेर विषेश गरी प्रोजेक्ट फाइनान्सिङ गरेका छौं । तर, रेट बढ्दै जाँदा त्यसको असर त बैंकलाई नै पर्छ । त्यो विषयबारे कसैले पनि सोच्नु भएन । आजको दिनमा पनि हाइड्रोपावरका क्षेत्रमा ८/९ प्रतिशतमा दिएको कर्जाहरु बैंकसँग छ । आजको दिनमा बैंकले निक्षेपको ब्याज घटाएर पनि बेसरेट बढायो भन्ने कुराहरु आइरहेको छ । तर, वास्तविकता अर्कै हुन्छ ।

हामीसँग ४ करोड ७४ लाख निक्षेपको खाता छन् भने १९ लाख कर्जाको खाता छन् । जसमा ४८ अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरिरहँदा हाम्रो जिम्मेवारी भनेको त्यसको सुरक्षणमा पनि हुन्छ । बैंकले कुनै पनि व्यवसाय गर्दा डेब्ट इक्युटीमा ८०/२० प्रतिशतले गरेका हुन्छौं । यसको व्यवस्थापनमा पनि बैंकले ध्यान दिएर कर्जा प्रवाह गर्नु पर्ने हुन्छ । चालु आवको पुस मसान्तसम्म खराब कर्जा अनुपात (एनपीएल) राम्रैसँग बढेको छ । बैंकिङ क्षेत्रको औषत एनपीएल २.२९ प्रतिशत पुगेको छ । गत आवको पुसको भन्दा यो बढी नै हो । यो बढ्नुको मुख्य काराण भनेको गत आवको भन्दा अहिले ‘लोन लस’ प्रोभिजन बढेको छ ।

कोभिडको समयमा १ प्रतिशतको प्रोभिजन गरेको गुड लोनमा १.३ गर्नु परेको थियो । त्यसैको प्रभाव अहिले बैंकको रिटर्न अन इक्युटी (आरओइ) मा पनि देखिएको छ । दश वर्षअघि बैंकिङ क्षेत्रको आरओई २४ प्रतिशतको हाराहारीमा थियो । जुन अहिले ११ प्रतिशतमा झरिसकेको छ । यो भनेको बैंकिङ क्षेत्र अहिले दरिलो नै भएपनि लगानीकर्ताको प्रतिफल भने अप्ठ्यारोमा जाँदै गरेको संकेत हो । अहिलेको बैंकिङ व्यवसायलाई कर्जा र ऋणीको तर्फबाट मात्रै हेरेपनि लगानीकर्ताको प्रतिफल संकटमा पर्दै गएको हो कि भन्ने पक्षलाई पनि हामीले मनन् गर्नु पर्ने हुन्छ ।

नेपालको बैंकिङमा एनपीएल २.२९ प्रतिशत पुग्नु यहाँको लागि धेरै हो तर, अन्य देशको तुलनामा भने कम हो । बंगलादेशमा ९ प्रतिशत, श्रीलंकामा ४.५ प्रतिशत र भारतमा ५ प्रतिशत एनपीएल छ । यी देशको तुलनामा हेर्दा नेपालको बैंकिङले राम्रो म्यानेज गरेको प्रष्ट हुन्छ । अन्य विषयमा पनि बैंकिङ क्षेत्रले राम्रो म्यानेज गरेकै छ ।

तर, सरकारलाई बार्षिक ३१ अर्ब रुपैयाँ कर तिर्ने बैंकिङ क्षेत्रका संस्थाहरुले पाउनु पर्ने सम्मान र श्रेय भने पाएका छैनन् । हाम्रो योगदानलाई उपेक्षा गरिएको महशुस बैंकरहरुले गरिहेका हुन्छौं । हामीले बुझाउन नसकेर पनि त्यस्तो भएको हुन सक्छ । त्यसमा सञ्चार माध्यमहरुको सहयोगको आवश्यकता पर्छ ।

बैंकले भर्खरै निक्षेपको ब्याजदर घटाएको छ । यो घटाउन पनि हामीलाई धेरै दवाव थियो । मुल्यवृद्धि नै साढे ८ प्रतिशबाट साढे ७ प्रतिशतमा झरिसकेको थियो । बैंकिङ क्षेत्रबाट ८० अर्बभन्दा बढीको निक्षेपबाट कर भुक्तानीमा लागि बाहिरिएको अवस्था र कोभिडको समयमा लिएको पुनरकर्जा ८० अर्ब राष्ट्र बैंकमा फिर्ता दिँदा सीडी रेसियो ८६ प्रतिशतमै आइसकेको हुँदा ब्याजदर घटाउने निर्णय गरेका हौं । बैंकले दर घटाइरहँदा यहिले पनि प्रति महिना १ खर्ब ८५ अर्ब पुगेको आयात १ खर्ब ३० अर्बको हाराहारीमा छ । पुस महिनामा पनि १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको आयात भएको तथ्यांक बाहिर आइसकेको छ ।

अघिल्ला महिनाको तुलनामा पुस महिना निक्षेप संकलनमा केही सुधार भएकै हो तर, कर्जा भने माग अनुसार प्रवाह भइरहेको छैन । यद्दपि हामीले रेट घटाउने वा बढाउने काम भने बजारको माग र स्थिती निर्क्योल गरेर गरिरहेका छौं । बैंकिङ क्षेत्र यस प्रति पुर्ण जिम्मेवार र जवाफदेहि भएर नै काम गरिरहेको हुन्छ । यस विषयमा बैंकरहरुलाई ‘एप्रिसेट’ भइदिए हामीले यो क्षेत्रलाई दक्षिण एसियाकै टप भनेर चिनाउन सक्छौं । बैंक राम्रो हुँदै जानु भनेको हरेक क्षेत्रको व्यापार व्यवसाय राम्रो हुँदै जानु नै हो ।

हरेक आबको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको निक्षेपमा ३० प्रतिशतको वृद्धि हुन्छ भने अर्को ६ महिनामा बाँकी ७० प्रतिशतको वृद्धि हुने गरेको छ । यसलाई आधार मानेर हेर्ने हो भने अबको ६ महिनामा निक्षेप साढे ५ खर्बले वृद्धि हुन सक्छ । यदी निक्षेप साढे ५ खर्बले भएमा यो वर्षको निक्षेप ग्रोथ १२ प्रतिशतको हुन्छ । जुन मौद्रिक नीतिले पनि गरेको हो । कर्जामा भने लक्ष्य अनुसारको ग्रोथ हुन केही समस्या देखिन्छ । यद्दपि अहिले केही बैंकहरुमा वैदेशीक ऋणहरु बढेर गएको छ भने ऋणपत्रहरुले पनि ‘कभर अप’ गर्यो भने कर्जाको ग्रोथ पनि १२/१३ प्रतिशतकै हुन सक्ने सम्भावना रहन्छ । त्यसमा बैंकहरुले वास्तविक अर्थतन्त्रमा सहयोग हुने प्रकारको कर्जा प्रवाह भयो भने थप सहयोग हुन्छ ।(बैंकर्स संघको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले राखेको विचारको सम्पादित अंश)

 

प्रतिक्रिया दिनुहोस्