Shikhar Insurance

नगर उपप्रमुख खड्काको तलबभत्ता सामाजिक कार्यमा, विद्यालयमा १ लाखको अक्षयकोष स्थापना

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार १३:४७
NIMB
Nabil Bank

गलकोट । बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थालेका छन् । जनप्रतिनिधिलाई प्राप्त सेवा सुविधा सामाजिक क्षेत्रमा खर्चने गरी घोषणापत्र सार्वजनिक गर्दै स्थानीय निर्वाचनमा होमिएका खड्काले निर्वाचनको ८ महिनामै घोषणापत्र कार्यान्वयनमा ल्याउन थालेका छन् ।

खड्काले उपप्रमुखको निर्वाचनमा होमिँदा आफूलाई प्राप्त सेवा सुविधा सामाजिककार्यमा लगाउने घोषणा गरेका थिए । खड्काले गत दशैँमा सहिद, बेपत्ता र घाइतेका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गरेका थिए । भने हालै एक विद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । जनप्रतिनिधि भएको आठ महिना पूरा भइसक्दा प्राप्त सेवा सुविधावापतको रकमले खाद्यान्न सहयोग तथा विद्यालयमा अक्षयकोष स्थापना गरिएको खड्काले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

जनप्रतिनिधिका लागि प्राप्त सेवा सुविधावापतको रकमले बागलुङ बजारको एक सामुदायिक विद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष निर्माण गरिएको नगर उपप्रमुख खड्काले बताए । उनले बागलुङ नगरपालिका–२ स्थित रुद्रेपिपल माध्यामिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीको हितका लागि खर्चने गरी १ लाख रुपैयाँको कोष स्थापना गरेका हुन्। खड्का एक महिनाभित्रै अर्को सामुदायिक विद्यालयमा समेत १ लाख रुपैयाँ बराबरको कोष स्थापना गर्ने तयारीमा छन्।

“जनप्रतिनिधि जनताको सेवक हो, नगर उपप्रमुखको हैसियतमा विभिन्न सेवा सुविधावापतको रकम आउने रहेछ, उक्त रकमलाई सामाजिक काममा लगाउने घोषणापत्रमै उल्लेख गरिएको थियो, त्यही घोषणापत्र कार्यान्वयनमा लागेको हुँ”,उनले भने, “आफूलाई प्राप्त सेवा सुविधा, सहिद परिवार, बेपत्ता, घाइतेको उन्नयनका लागि र शैक्षिक सुधारमा खर्च गर्ने गरी अगाडि बढेको छु, माघ महिनाभित्रै थप १ लाख रुपैयाँको अक्षयकोषका लागि सामुदायिक विद्यालयको खोजीमा छु ।”

उनले उत्कृष्ट अध्ययन तथा अध्यापन भइरहेको सामुदायिक विद्यालयका विद्यार्थीको हितका लागि अक्षयकोष स्थापना गर्दै जाने लक्ष्य रहेको बताए । जनप्रतिनिधिको सेवा सुविधा लिएर सामाजिककार्यमा खर्च गर्दा आफूमा जनप्रतिनिधि भएकामा गर्व महसुस हुने भएकाले आफूले यस्तो निर्णय लिएको बताए ।

“नगरभित्र चाडवाडको समयमा गरिबको चुलोमा मिठो पाकोस्, एक जोर लुगा लगाउन पाऊन् भन्ने चाहना छ, उनीहरुलाई एक छाक खानाका लागि आफूलाई आएको सेवा सुविधावापतको रकम खर्चँदै आएको छु भने पाँचवर्षे कार्यकालमा धेरैलाई सहयोग गर्ने अपेक्षा लिएको छु”, उपप्रमुख खड्काले भने, “जनप्रतिनिधि जागिरे होइन, जनताको सेवक हो, काम गर्ने क्रममा जनताकामा पुग्दा जहाँ सहयोगको आवश्यकता देख्छु, त्यही सहयोग गर्नेछु, कुनै निश्चित क्षेत्र छैन तर शिक्षा क्षेत्रको विकास, सहिद परिवार र गरिब र अपाङ्गता केन्द्रित भएर आफ्नो सेवा सुविधा खर्च गर्ने सोचमा छु ।” उनले विद्यालयका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका र त्यही कोषको ब्याजवापतको रकमबाट उपप्रमुखकै सल्लाहबाट विद्यार्थीको शैक्षिक गुणस्तरमा खर्चने रुद्रेपिपल माध्यामिक विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्