Shikhar Insurance

दश महिनामा १० प्रतिशत मात्रै पूर्वाधार निर्माण, लापरबाही कस्को ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार ११:२२
NIMB
Nabil Bank

गलकोट । बागलुङको गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाले ४ वर्षको प्रयासबीच जग्गा व्यवस्थापन गरेर निर्माण गर्न थालेको प्रशासकीय भवन निर्माण ठेक्का सम्झौताअनुसार अगाडि नबढ्दा समस्या भएको छ ।

गलकोट नगरपालिका–६ मजुवाफाँटमा नगरपालिकाले व्यवस्थापन गरेको आठ रोपनी जग्गामा प्रशासकीय भवन निर्माण गर्नका लागि २०७९ असार १४ गते सम्झौता भएको थियो । सम्झौताको करिब १० महिना बित्दा बल्ल प्रशासकीय भवन निर्माण सुरु भएको छ । १२ करोड ४१ लाख रुपैयाँको लागतमा रविना जुगल जेभीसँग २०८१ मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । हालसम्म १० प्रतिशत कार्यप्रगति समेत नभएको गलकोटका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त भवन निर्माण सम्झौता गरेको १० महिनामा १० प्रतिशत कामसमेत सम्पन्न नभएको भन्दै गलकोट नगरपालिकाले निर्माण कम्पनीलाई सचेत गराएको छ । “काम दु्रतगतिमा भएन, १० महिनामा बल्ल जमिनमुनि काम थालिएको छु”, नगरप्रमुख गैरैले भने, “समयमै भवन निर्माण नभए म्याद थपिँदैन, निर्माण व्यवसायीले हालसम्म २० प्रतिशत भुक्तानीसमेत लगिसकेको छ ।”

प्रशासकीय भवन निर्माणको जिम्मा पाएको रविना जुगल जेभीका प्रतिनिधि नरेश ओझाले असारमा ठेक्का सम्झौता गरेको उल्लेख गर्दै बर्खामा खोलाको छेउमा भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न समस्या भएपछि ढिलाइ भएको बताए । खोला नजिकै भवन निर्माण थालिएकाले सुक्खायाममा काम थालेको ओझाले बताए ।

मुख्य प्रशासकीय भवन निर्माण १२ करोड रुपैयाँको लागतमा निर्माण थाले पनि अन्य पूर्वाधारसहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भने २७ करोड रुपैयाँ लागतको छ । सुविधासम्पन्न पाँचतले भवनसँगै अन्य शाखा कार्यालयसमेत निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ । गलकोट नगरपालिकाले सबै राजनीतिक दल, सरोकारवाला व्यक्तिको सर्वदलीय भेलाले गरेको निर्णयअनुसार मजुवाफाँटमा केन्द्र स्थापना गर्ने निर्णयसँगै सोही क्षेत्रमा जग्गा व्यवस्थापन गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्