Shikhar Insurance

बैंकका लगानीकर्ताले प्रतिफलको अपेक्षा नगरुन्, नाफा जति व्यवसायीलाई ‘पास’ गरुन भन्न मिल्छ ?

नेपालका बैंकहरु डुब्दैनन्, ऋण लिएपछि तिर्नैपर्छ
सिंहदरबार संवाददाता
२०७९ चैत्र १७, शुक्रबार १३:२०
NIMB
Nabil Bank

माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला यतिबेला बाणिज्य बैंकका सिईओहरुको छाता संस्था नेपाल बैंकर्स संघको उपाध्यक्ष पनि छन् । पछिल्लो केहि समयदेखि बजारमा बैंक तथा वित्तिय संस्था विरुद्ध गालीगलौजसहित आन्दोलन जारी छ । कालोमोसो अभियानदेखि ऋणको ब्याज नतिर्ने अभियान चलिरहेका बेला उनै कोइरालासँग सिंहदरबारले गरेको कुराकानी ।

बैंक डुब्ने क्रम हाम्रो छिमेकी भारत हुँदै अमेरिका पुगेछ र त्यो सबैको ध्यान खिच्ने स्वीजरल्याण्डसम्म पुगिसकेछ, अब डुब्ने पालो तपाईहरुको हो ?
नेपालको बैंकिङ क्षेत्र सबल छ, सक्षम छ । नेपालका बैंकहरु डुबिहाल्ने अवस्थामा छैनन् ।

Citizen Life
Kumar Bank
Nepal Life

के के इण्डिकेटर कहाँ कहाँ पुगेपछि बैंकहरु डुब्ने रहेछन् ?
रेगुलेटरले तय गरेका इण्डिकेटरहरु हुबहु पालना नगर्दा बैंकहरु डुब्ने हुन् । बलियो नियामक र उसका नियमहरु पालना गर्दासम्म बैंकहरु डुब्दैनन् र डुब्ने अवस्था पनि आउँदैन् ।

तर अधिकांश बैंकरहरु समस्यामा परियो भन्नु हुन्छ, अहिले बैंकिङ क्षेत्रले भोगिरहेको समस्या चाँही के हो ?
कोरोना कालमा बैंकहरुले ग्रोथ लिन सक्ने अवस्था रहेन, पुरै संसार ठप्प भएको थियो । बैंक भनेका सर्भिस दिने व्यवसाय हुन् । कुनै पनि सेवा दिने निकाय वा कम्पनीले सेवा दिन नसक्ने अवस्था आयो भने दुःख पाएको भन्नुपर्ने हुन्छ । हामीले कोरोना काल त्यसरी नै गुजारेका थियौं ।

तर कोरोना पछाडि नेपालमा तरलताको चरम अभाव भयो, एक प्रकारको संकट नै आयो । बैंकहरुले बढी लागतमा निक्षेप लिनुपर्ने अवस्था आयो । र पछिल्लो समयमा बिभिन्न कारणहरुले गर्दा बैंकहरुको एसेट्सको क्वालिटी खस्कियो । खराब कर्जा राम्रोसँग व्यवस्थापन गरेका बैंकहरुको पनि एनपीएल वृद्धि भयो ।

समग्रमा कोरोना अघि बैंकिङ क्षेत्र जुन सहज अवस्थामा थियो, त्यसपछि त्यति सहज रुपमा नभएकाले यतिबेला बैंकरहरुले दुःख पाईयो भन्नुपर्ने अवस्था आएको हो ।

तपाईलाई चाँही कठिन भयो भन्ने लाग्दैन् ?
बैंकिङ क्षेत्रमा क्राइसीस नै छैन् भन्न त मिल्दैन् । तर जुन स्तरमा जोखिम देखिएको छ, त्यो व्यवस्थापन गर्न सकिने तहमै छन् ।

बैंकिङ क्षेत्रलाई बजारको हल्ला, गाली गलौजले समस्यामा पारेको हो कि तपाईहरुको आन्तरिक व्यवस्थापन(तरलता, खराब कर्जा)को जोखिमले ?
बजारमा बैंकहरु विरुद्ध जे जे देखिँदैछ, त्यो अलि बढी नै हो । बैंकहरुले आन्तरिक जोखिमहरुको त राम्रोसँग व्यवस्थापन गरिनै रहेका छन् ।

बैंकहरुले धेरै पैसा कमाए, धेरै ब्याज उठाए, सिईओहरुले धेरै तलब खाए भन्ने ठाउँसम्म समाज किन पुगेको होला ?
पछिल्लो समय साना साना कुरा पनि अलि बढी नै हल्ला गरेर ठूलो बनाउने क्रम बढेको छ । यसमा सामाजिक सञ्जालको भूमिका देखिन्छ । तरलता अभावका भएका बेला बैंकहरुको लागत बढेर जान्छ । हिजोका दिनमा जुन दरमा ऋण दिइएको थियो, त्यसको दर बढाउनु पर्ने अवस्था आयो । बैंकहरु मध्यस्थकर्ता मात्रै हुन् । हामीले खेल्ने भनेकै स्प्रेड दरमा हो । बजारबाट पैसा उठाएर बजारमै पठाउने हाम्रो भूमिका हो । जब निक्षेपको लागत बढ्छ तब कर्जाको ब्याजदर पनि बढि हाल्छ । हिजो तरलता सहज भएको समयमा न्युन ब्याजदरमा ऋण लिनु भएकाहरुले आज बढी ब्याजदरमा ऋण लिनुपर्दा अहिलेको अवस्था सृजना भएको हो ।

ब्याजदर निर्धारणमा के केले भूमिका खेल्छन् ? अहिले त मुद्रास्फिति नै ७.८८ प्रतिशत छ, निक्षेप र ऋणको ब्याजदर अब कसरी निर्धारण गर्ने ?
यसको उत्तर सहज छ । अहिलेको अवस्थामा हामीले धेरै कमाउँछौं भनेकै छैनौं । र अहिले धेरै कमाउने कुरा सम्भव पनि छैन् । हामीले स्प्रेड धेरै राख्ने ठाउँ पनि छैन् । हामीलाई ४.४ को स्प्रेड तोकिएको थियो, चैत मसान्तसम्ममा ४.२ प्रतिशतमा झार्नुपर्छ भनिएको छ र हामी त्यहि गरिरहेका छौं । अब असार अन्तिममा त्यस्तो स्प्रेड दर ४ प्रतिशतमा सिमित गर्नुस् भनिएको छ र हामी त्यसलाई पनि पालना गर्नेछौं ।

कुनै समय नेपालमै ऋणको ब्याजदर १७–१८ प्रतिशत पनि पुगेको थियो । त्यतिबेला अहिलेको जस्तो गालीगलौज हुँदैनथ्यो । अहिले १३–१४ प्रतिशतको एभरेज दरमा ऋण दिँदा पनि गाली खाईएको छ । अहिलेको यो ब्याजदर पनि तरलताको चरम अभावका कारणले यहाँसम्म पुगेको हो ।

वास्तवमा ब्याजदर भनेको बजारले नै निर्धारण गर्ने हो । बजारमा तरलता सहज भयो भने ब्याजदर घट्छ, तरलता अभाव हुँदै गयो भने स्वभाविक रुपमा ब्याजदर बढ्छ नै । बजारमा तरलता अभाव भएका बेलामा निक्षेपको ब्याजदर न्युन तहमा राख्न सक्ने सम्भावना हुँदैन् । निक्षेपको ब्याजदर न्युन तहमा राख्न नसक्दा ऋणको ब्याजदर एकल अंकमा ल्याउन सकिन्न । तत्काललाई ब्याजदर एकल अंकमा ल्याउन सक्ने सम्भावना छैन् ।

तर अहिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधार हुँदै गएकाले निक्षेपको ब्याजदर क्रमशः घटिरहेको छ र ऋणको ब्याजदर पनि घट्दै जानेछ । १०.५ महिनाको वस्तु तथा सेवा किन्न सक्ने विदेशी मुद्रा सञ्चिति छ । ८५ प्रतिशतमा सीडी रेसियो कायम छ । ब्याजदर बजारको आधारभूत पक्ष नै यहि नै हो । आधारभूत कुरालाई बुझ्दा बुझ्दै पनि एकल अंकमै ब्याजदर चाहिन्छ भन्नेहरुका कारण प्रणालीमै समस्या आउन सक्छ की भन्ने जोखिम देखिन्छ ।

आन्तरिक क्षेत्र समस्यामै देखिन्छ, तलब खुवाउन सरकारले ऋण लिईरहेको छ, विकास खर्च पनि न्युन छ, बैंकहरु चाँही तरलतामा कसरी सहज भए ?
राष्ट्र बैंकले समयमै लिएको ठिक नीतिका कारण अहिले यो सहज अवस्था आएको हो । हामी पनि श्रीलंकाको बाटोमा जान्छौं की भन्ने थियो । राष्ट्र बैंकले सीडीलाई ९० प्रतिशत बनायो, आयात रोकियो, बैंक दरमा पनि कडाई गरियो । यी व्यवस्थाहरुको सफल कार्यान्वयनले अहिले तरलतामा सहजता आएको हो । निक्षेप ह्वात्तै बढेर अहिलेको सहज अवस्था आएको होइन, त्यसमा नियामकको राम्रो भूमिका छ ।

१८ लाख ऋणीहरुले चार करोड बढी खाताधारी, बैंकका लगानीकर्ता र तपाई व्यवस्थापकहरुमाथि शासन गरेको जस्तो देखियो नी, किन ?
बैंकिङमा कसैले कसैलाई शासन गर्ने भन्ने त हुन्न । हामीले निक्षेपकर्ताको हितलाई पहिलो प्राथमिकतमा राख्ने हो । फेरी सबै ऋणीहरुले उठाएको आवाज पनि होइन यो । यो त सिमित ऋणीहरुले आफ्नो स्वार्थ पुर्तिका लागि बैंकलाई गाली गरेका हुन् । अहिले जस्ता व्यक्तिहरु जे जे बोलिरहेका छन्, त्यसमा उनीहरुको निहित स्वार्थ देख्छौं । यसलाई १८ लाख ऋणीले गाली गरेको रुपमा लिनु हुन्न । सिमित संख्याका सिमित व्यक्तिहरुले आफ्ना स्वार्थ पुरा गर्न बैंकलाई गाली गरिरहेको देखिन्छ ।

बैंकलाई गाली गर्नेहरुमा ऋण तिर्न नसक्ने, नतिर्नेहरु धेरै देखिए की आफुले तिरेर अरुलाई उचाल्नेहरु देखिए ?
दुबै खालका मानिसहरु आन्दोलनमा देखिएका छन् । केहि डिफल्टरहरु पनि देखिएका छन् । केहि भने भोली बैंकले एक्सन लिन्छ की भन्ने डरले अहिले नै आन्दोलनमा लागेका देखिन्छन् । केहि व्यक्ति भने आफु चाँही पुरै ऋण तिर्ने तर अरुलाई उचालेर कुनै पदमा पुग्ने क्रममा लागेको देखिन्छ ।

विगतमा ऋण मिनाहाका इतिहास पनि छन्, अहिले पनि आन्दोलन गरेर ऋण मिनाहा पाइन्छ की भन्ने पनि लाग्यो की ?
ऋण लिईसकेपछि मिनाहा हुने भन्ने कुरा सम्भव छैन् । ऋण लिएपछि तिर्नै पर्छ । लिएको ऋण कसैले तिरेन भने अर्थतन्त्रको चक्र नै बिग्रन्छ । ऋण लिएपछि नतिर्ने छुट कसैलाई छैन् । ऋण मिनाहा गर्ने अधिकार कसैलाई पनि छैन् ।

नयाँ प्रशंग जोडौं, बैंकहरुको खराब कर्जा ह्वात्तै बढ्नेछ भन्ने अनुमान छ, वास्तविकता के हो ?
नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको वृद्धि कन्ट्रोलमै छ । नेपालको बैंकिङ भनेको कन्जर्भेटिभ प्रकृतिको छ । हाम्रो बैंकिङ भनेको धितोमा आधारित ऋण प्रणालीमा छ ।
विदेशको बैंकिङ र हाम्रो बैंकिङमा बिलकुलै फरक छ । युक्रेन–रुस युद्ध, विश्व अर्थतन्त्रका केन्द्रहरु अमेरिका, युरोप र भारतमा परेका समस्याले केहि न केहि असर गर्छ । तर हाम्रो खराब कर्जा नियन्त्रणमै छ, नेपालको बैंकिङ क्षेत्रले त्यसलाई सहजै व्यवस्थापन गर्नेछ । अर्काे कुरा अमेरिकाको बैंकिङमा देखिएका जस्तो समस्या नेपालका बैंकहरुमा दोहोरिन्न ।

तेश्रो त्रैमासिक त के हो के हो ? चौथो त्रैमासिकको रिपोर्ट अधिकांश बैंकहरुको नेगेटिभ आउँछ भन्नेहरुलाई के जवाफ दिनुहुन्छ ?
मलाई त्यस्तो लाग्दैन् । तेश्रो त्रैमासिकमा केहि अप्ठेरो छ । यसमा बैंक विरुद्धको आन्दोलनले पनि भूमिका खेल्ला । तर असार अन्तिममा त अवस्था झनै सुध्रिएर जान्छ । यसपाली असारमा कुनै पनि बैंकहरुको वित्तिय विवरण ऋणात्मक हुने छैन् ।

सहकारी रि लघुवित्तको बाझिटा बैंकिङ क्षेत्रमा आएको हो ?
सहकारी र लघुवित्तकै कारण हामी कहाँ पनि केहि असर परेको भने पक्कै हो । सहकारी र बैंकहरुको बीचमा वित्तिय कारोबारको चेन नै हुन्छ । उता समस्या आउँदा बैंकहरुमा पनि केहि न केहि समस्या आउँछ नै । लघुवित्तहरुमा त बैंकहरुले होलसेल लेण्डिङ नै गरेका हुन्छन् । त्यसले केहि असर गर्छ । तर हामी सहजै व्यवस्थापन गर्न सक्ने ठाउँमा छन् ।

मुद्रास्फिति ७.८८ प्रतिशत हुँदा बैंकहरुको आरओई ११ प्रतिशत नजिक आईपुगेको छ, लगानीकर्ताहरुलाई कसरी बुझाउनुहुन्छ ?
बजारको कन्फ्युजन नै यहिँ छ । हामी सबैको तारोमा पर्नुको कारण नै हाम्रो पारदर्शिता हो । पुँजीको आधारमा कति प्रतिफल दियो भन्नु भन्दा पनि कति अर्ब कमायो भन्ने तर्फ सबैको ध्यान गएको छ । बैंकहरुले कति पुँजीमा कति नाफा गरे भनेर हेर्दैनन् । खाली बैंकहरुले यति अर्ब, उति अर्ब कमायो मात्रै भन्ने क्रमले समस्या आएको हो ।

१३।१४ प्रतिशतको प्रतिफल सामान्य हो र बैंकहरुको उदेश्य पनि यति नै हो । बैंकका लगानीकर्ताहरुले पनि एक प्रकारको प्रतिफल खोज्छन् नै । तर यहाँ त बैंकमा लगानी गर्नेहरुले कुनै पनि प्रतिफलको अपेक्षा नगरुन् । सबै नाफा चाँही उद्योग व्यापार गर्नेहरुलाई ‘पास अन’ गरिदिऊन भन्ने सोँच विकास हुँदै गएको छ । त्यसले अलि बढी असर गरिरहेको छ । यस्तो सोँच बदलिनु पर्छ ।

१००।५० जना व्यवसायीले ८० प्रतिशत भन्दा बढी ऋणको हिस्सा ओगटेका छन्, तिनको व्यवसायमा समस्या आउँदा बैंकिङ र अर्थतन्त्र नै डुब्छ भन्ने रहेछ, वास्तविकता के हो ?
नेपाल राष्ट्र बैंकले हामीलाई ४० प्रतिशत लगानी कहाँ कहाँ गर्ने भन्ने कुरा स्पष्टै गरिदिएको छ । अहिलेको समयमा त्यसरी सिमित घरानाहरुलाई त्यस्तो धेरै ऋण दिएको र त्यसले जोखिम ल्याउने अवस्था मैले चाँही देख्दिन् ।

बैंकहरुमा ठूलो बन्ने प्रतिष्पर्धा छ, राष्ट्र बैंकले पनि मर्जर भनिरहेकै छ, अर्थतन्त्रका लागि बैंकहरु ठूलो हुनुको अर्थ कति हुन्छ ?
त्यसलाई दुई वटा अवधारणमा हेर्नुपर्छ । टु बिग, टु फेलको अवधारणामा मात्रै हेर्नु हुन्न । मर्जरपछि सिनर्जिक इफेक्ट आउने मर्जरले काम गर्छ । मर्जर गर्ने वित्तिकै सबथोक भैहाल्छ भन्ने हुन्न । सिनर्जिक इफेक्ट आउँदा ऋण दिने क्षमता बढाउँछ, ठूला परियोजनामा लगानी क्षमता बढ्छ, अपरेशन कस्ट घटाउँछ । तर मर्जर गरेकै भरमा यी अवसर आउँछन् भन्ने पनि होइन् । बैंकहरु नियामकका नियम र स्वःनियमनमा कति बस्छन् भन्ने कुरा नै महत्वपूर्ण हुन्छन् ।

माछापुच्छ्रे बैंकको मर्जरको प्रयास चाँही कहाँ पुग्यो ?
हामीले पनि कुनै समयमा मर्जरका लागि मेहनत गरेका थियौं । मर्जरका लागि अन्तिम अन्तिम चरणमा पुगेर रोकिएका थियौं । हामीले जुन जुन संस्थासँग छलफल गरेका थियौं, ति संस्थाहरु अरु नै संस्थाहरुसँग मर्जरमा गैसकेका छन् ।
हामीलाई मर्जर गर्नैपर्छ भन्ने बाध्यता छैन् । सिनर्जिक इफेक्ट दिन सक्ने संस्थाहरु आए भने हामी छलफल गर्छाै । बैंकमा मर्जर कमिटी पनि छ । तर तत्कालै मर्जर भैहाल्ने अवस्था म देख्दिन् । हामीलाई मर्जरका लागि राष्ट्र बैंकको प्रेसर पनि छैन् ।

ठूला साइजका बैंकहरुसँग यहि साइजमा बसेर कसरी प्रतिष्पर्धा गर्नुहुन्छ ?
हामीलाई बजार व्यवस्थापनमा कुनै समस्या छैन् । निक्षेप उठाउन वा ऋण दिन कुनै समस्या आउँदैन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि राम्रो गरिरहेका छन् । कृषि, उद्यम लगायतका क्षेत्रमा लगानीको ठूलो अवसर छ । हामीलाई आफ्नो बजारमा प्रतिष्पर्धामा कुनै समस्या हुँदैन् ।

माछापुच्छ्रे बैंकका लगानीकर्ताले आगामी बर्ष कस्तो प्रतिफल पाउँछन् ?
गत वर्ष लाभांश नदिए पनि कमाएको रकम राखिरहेका छौं । यसपाली पनि केहि कमाईहालिन्छ । त्यो दुबै आर्थिक वर्षको जोडेर आउने प्रतिफल क्षमतामा सञ्चालक समितिको निर्णय अनुसार आगामी आर्थिक वर्षमा प्रतिफल दिनेछौं । विगतका दिनमा दिएको प्रतिफल भन्दा अलि राम्रो प्रतिफल आगामी आर्थिक वर्षमा दिनेछौं ।

बैंकहरुको सीएसआरको रकमको अझै गतिलो उपयोगबारे केहि किन नसोचिएको ?
अहिले राष्ट्र बैंकले सातै प्रदेशमा कम्तिमा १० प्रतिशतका दरले सीएसआरको रकम खर्च गर्नु भनेको छ । माछापुच्छ्रे बैंकको कुरा गर्नुहुन्छ भने गंगालाल अस्पतालमा बालबालिकाका लागि आईसीयु ब्लक नै बनायौं । पशुपति क्षेत्रमा जुत्ता चप्पल राख्ने पूर्वाधार बनाईदिएका छौं । अब राष्ट्र बैंकले ठूला पूर्वाधार बनाउन लगानी गर्नुस भन्यो भने पनि हामी बैंकर्स संघको अगुवाईमा काम गर्नेछौं । बर्षेनी ६०।६५ करोड रुपैयाँ रकम आउँछ, त्यसले ठूलो काम गर्न सकिन्छ ।

तपाईहरुको तलबमाथि पनि समाजको आँखा छ, राष्ट्र बैंकले पनि तत्काल सिईओको तलब भत्ता सम्बन्धी नयाँ निर्णय नगर्नु भनेको छ, यस्तो अवस्था किन आएको ?
राष्ट्र बैंकले सिईओहरुको तलब भत्ता सम्बन्धी मार्ग दर्शनमा तोके भन्दा बढी तलब कसैले लिएका छैनन् । राष्ट्र बैंकले मार्गदर्शनमै संसोधन गर्न चाहेको हो भने ठिकै छ । बैंकहरु भनेका पब्लिक कम्पनी हुन्, यहाँ बिजनेशका आ आफ्नो टार्गेट पनि हुन्छन् । बैंकका सिईओहरुको तलब भन्दा धेरै रकम लिने निजी कम्पनीहरुमा सिईओहरु पनि छन् । हामी त बार्षिक कति तलब भत्ता लिन्छौं, त्यो प्रष्टसाथ सार्वजनिक गरिदिन्छौं । त्यसकारण हाम्रो तलबमा सबैको आँखा पुगेको हो ।
अन्त्यमा,,,,
नेपालको बैंकिङ क्षेत्र अब्बल र सबल छ । विदेशमा बैंक डुब्दैमा नेपालमा केहि असर गर्दैन् । हामी निक्षेपकर्ताको हित रक्षमा लागिपरेका छौं । नेपालमा नियामक कडा छ र हामीले कन्जरभेटिभ बैंकिङ गरिरहेका छौं । त्यसकारण नेपालका बैंकहरु डुब्दैनन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्