Shikhar Insurance

सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्ब बढी

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १३:२२
NIMB
Nabil Bank
काठमाडौं । सरकारी खर्चको तुलनामा राजस्व संकलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो । यो अवधिमा १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व संकलन र अनुदान प्राप्ति भने ७ खर्ब ९७ अर्ब बराबर मात्रै छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनामा सरकारले वार्षिक विनियोजनको ५८.४१ प्रतिशत बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म १० खर्ब ४७ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबर खर्च भएको छ ।
वैशाख मसान्तसम्ममा चालु खर्च ६६.४९, पुँजीगत खर्च ३३.०४ र वित्तीय व्यवस्थातर्फको खर्च ५८.७९ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट ल्याइएकामा हालसम्म ७ खर्ब ८६ अर्ब ७४ करोड रुपैयाँबराबर खर्च भएको छ । त्यस्तै ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबरको विकास बजेट चालु आर्थिक वर्षका लागि छुट्याइएकामा १० महिनामा १ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बराबर मात्रै खर्च भएको छ ।
यस अवधिमा भएको बजेट खर्चको अवस्था हेर्दा पुँजीगत शीर्षकमा भन्दा वित्तीय व्यवस्थातर्फको बजेट खर्च धेरै छ । वैशाख मसान्तसम्ममा वित्तीय व्यवस्थातर्फ १ खर्ब ३५ अर्ब ३३ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा हुने खर्च मुख्य गरी सरकारी ऋणको साँवा ब्याजलगायतमा खर्च हुने गरेको छ ।
वैशाख मसान्तसम्ममा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५४.६६ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि १४ खर्ब ३ अर्ब १४ करोड बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले हालसम्म ७ खर्ब ५६ अर्ब २५ करोड ३१ लाख रुपैयाँ बराबर मात्रै असुल गरेको हो ।
त्यस्तै चालु आर्थिक वर्षका लागि ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा लक्ष्यको ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रुपैयाँ बराबर मात्रै अनुदान आएको छ ।
गत वर्षको वैशाख मसान्तसम्मको तुलनामा यस वर्षको सोही अवधिमा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) घटेको छ भने अन्तःशुल्क असुली बढेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १ खर्ब ५९ अर्ब ५ करोड बराबर आयकर संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७३ अर्ब ४० करोड रुपैयाँ बराबर आयकर संकलन भएको थियो ।
त्यस्तै गत वर्षको तुलनामा भ्याट पनि न्यून उठेको छ । गत वर्ष वैशाख मसान्तसम्ममा ९० अर्ब ६८ करोड रुपैयाँ भ्याट उठेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ८८ अर्ब ६७ लाख रुपैयाँ बराबर असुली भएको छ । गत वर्षको तुलनामा अन्तःशुल्क भने केही बढेको छ । वैशाख मसान्तसम्ममा ८४ अर्ब ११ करोड रुपैयाँ बराबर अन्तःशुल्क असुली भएको छ । गत वर्षको सोही अवधिमा अन्तःशुल्क ८३ अर्ब ८८ करोड रुपैयाँ बराबर थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्