Shikhar Insurance

पुष्कर बञ्जाडे तरकारी खेतीबाटै करोडौंको मालिक, दैनिक १० हजारभन्दा बढी आम्दानी 

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १, सोमबार १५:२३
NIMB
Nabil Bank
अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८ सय बोट लगाएका छन् ।
लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट ७ लाख रुपैयाँ बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन्। एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ ।
दैनिक ३/४ क्विन्टल टमाटर बेचिरहेका उनको टमाटरले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी ४० देखि ५० सम्म थोक मूल्यमा टमाटरका साथै तरकारी पनि दैनिक १० हजारको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहेका छन् ।
बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा  १५/१६ लाख आम्दानी हुँदै आएको छ । उनले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ ।
बञ्जाडेले भने, “अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेको मान्छे भनेर इर्ष्या गर्थे  तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।”
५० वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक हुन् । सामान्य परिवारका जन्मिएका उनीलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमूलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै  वार्षिक लाखौं रुपैयाँ कमाएका हुन् ।
उनले भने, “गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीको सुरुआत गरेका उनलाई ५ करोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ ।
तरकारीबाट वर्षमा १० लाख रुपैयाँ सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाएका बञ्जाडेले ३ करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए।
पाखोबारीमा तरकारीका लागि सिँचाइको पनि साह्रै समस्या छ । बारीमा आकाशे पानी संकलन गर्न ५० हजार लिटरको पोखरी र ४० हजार लिटरको ट्याङ्की राखेकाे बञ्जाडेले बताएका छन् । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन् ।
वर्षातकाे समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । “अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा गर्व भयो,” पुष्करनाथले भने, “पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्याए ।”

GBIME

प्रतिक्रिया दिनुहोस्