ठमेलमा होटल ‘बाराही काठमाडौं’ आइतबारदेखि सञ्चालनमा, करिब डेढ अर्ब लगानी

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १५:१०

काठमाडौं। बाराही हस्पिटालिटीअन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’  आज आइतबारदेखि सञ्चालनमा आएको छ। फोर स्टार स्ट्यान्डर्ड होटलमा आठवटा सुइट र ७२ वटा डिलक्स रुम गरी ८० वटा रुम छन्। डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए।

होटलमा कफी सप, रेष्टुरेन्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल केही हप्तामा तयार हुँदैछ । केशरमहलको अगाडि चोकैमा रहेको होटलको सातौं तलामा ‘इन्फिनिटी स्वीमिङ पुल’ छ । स्वीमिङ पुलको मोहोडातर्फ नारायणहिटी दरबार रहेकाले मनमोहक दृश्य रहेको पौडेल बताउँछन्। साढे चार फिट गहिरो स्वीमिङ पुल करिब ११०० स्क्वायर फिटमा फैलिएको छ ।

बाराही ग्रुपले व्यवसायिक कम्प्लेक्ससहितको होटल निर्माण गरेको हो । कम्प्लेक्सको भुँइतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने छन् भने बाँकी ६ तलामा होटल रहेको छ ।

काठमाडौंको ‘मिड पोइन्ट’मा रहेको होटल बाराहीबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमशेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभूति हुन्छ । त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।

सपिङ कम्प्लेक्ससहितको होटल निर्माण गर्न करिब एक अर्ब चालिस करोड रुपैयाँ खर्च भएको थापाले बताए । पसल तथा अफिसका लागि बुकिङ पनि खुला रहेको छ  ।सपिङ कम्प्लेक्स सहित होटल रहेको बाराही प्लाजाको आर्किटेक्टको काम‘डिजाइन सेल’का अरुण देव पन्त र अन्जन श्रेष्ठले गरेका हुन् भने इन्टेरियर डिजाइनको काम सिद्धार्थ गोपालानले गरेका हुन् ।

नेपालली पर्यटनको ‘गोल्डेन ट्र्याङ्गल’ मानिएको पोखरा, चितवन र काठमाडौं मध्ये यस अगाडि पोखरा र चितवनमा बाराही ग्रुपको ‘प्रिमियम प्रपर्टी’ रहेको थियो । बाराही काठमाडौंको सुरुवातसँगै अब बाराहीले गोल्डन ट्र्याङ्गल भरी आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

चार दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए, सोही होटलमा पछि सुबिधा थप गरी होटल बाराही नामाकरण गरिएको हो । पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव सोही व्यवसायमा आबद्ध छन् । सामान्य स्तरबाट सुरू भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको थापाले बताए ।

बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा छन् । बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ, जहाँ १२ सय क्षमताको सभाहल समेत बन्दैछ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेड सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ)मा समेत जाने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्