Shikhar Insurance

नवलपुरमा पुँजीगत खर्च १९ प्रतिशत मात्रै

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार १४:१२
NIMB
Nabil Bank

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०७९/८० को हालसम्मको पुँजीगत खर्च १९ प्रतिशत भएको छ । जिल्लामा संघतर्फको पुँजीगत खर्च १९.३७ प्रतिशतमात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक जितनारायण महतोले यस आर्थिक वर्षका लागि नवलपुरमा एकीकृत विनियोजन बजेट ४ अर्ब ८२ करोड १६ लाख ७० हजार ९ सय २० रहेकामा जेठ ७ गतेसम्म ९३ करोड ४१ लाख ७३ हजार चार सय ५६ खर्च भएको जानकारी दिए। विकास बजेटको रुपमा रहेको पुँजीगत खर्च कम हुँदा समग्र जिल्लाको विकास निर्माणका गतिविधिमा प्रभाव पर्ने उनले बताए।

Citizen Life
Kumar Bank
Nepal Life

“पुँजीगत खर्च न्यून रहेपनि चालु खर्च भने ९१ प्रतिशत देखिएको छ । यस आवका लागि चालु खर्चअन्तर्गत ६ अर्ब ३ करोड ९ लाख ५४ हजार दुई सय ३० विनियोजन भएकोमा हालसम्म ५ अर्ब ५४ करोड ६८ लाख १४ हजार आठ सय ९८ खर्च भएको छ”, कोष नियन्त्रक महतोले भने। कार्यालयबाट हुने तलब, भत्ता, अनुगमनलगायत शीर्षकका बजेट चालु खर्चमा रहने भएकाले चालु खर्च लक्ष्यअनुसार नै देखिएको उनको भनाइ थियो ।

जिल्लामा हालसम्म पुँजीगत खर्चतर्फ सबैभन्दा बढी खर्च गर्ने कार्यालय नारायणगढ बुटवल सडक योजना (पूर्वी खण्ड) रहेको छ । महतोका अनुसार यस योजनाका लागि ४ अर्ब ५९ करोड ९६ लाख २८ हजार बजेट विनियोजन भएकामा हालसम्म ८० करोड ८६ लाख ५५ हजार दुई सय ९४ खर्च भएको छ । “नारायणगढ–बुटवल सडक योजनाले अन्य कार्यालयले भन्दा बढी बजेट खर्च गरेको देखिए पनि योजनाको कुल बजेटको खर्च प्रतिशत निकाल्दा पुँजीगत खर्च न्यून नै छ”, उनले भने।

त्यस्तै, सामाजिक सुरक्षातर्फ बौदीकाली गाउँपालिकाले ४ करोड ७१ लाख ८३ हजार चार सय ५२, मध्यविन्दु नगरपालिकाले २ करोड ५१ लाख खर्च गरेका छन् । महतोले २ नम्बर वन तथा पर्यावरण सुरक्षा गणले २ करोड २ लाख १६ हजार ९ सय २८ खर्च गरेको उल्लेख गर्दै अन्य कार्यालयहरुले गरेको खर्च १ करोड भन्दा न्यून रहेको जानकारी दिए। उनका अनुसार त्रिवेणी भन्सार कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र कोष तथा लेखा नियन्त्रक कार्यालयले बजेट खर्च गर्न सकेका छैनन् ।

वैशाख मसान्तसम्म न्यून रहेको पुँजीगत खर्च जेठ लागेपछि बढेको महतोको भनाइ थियो । जेठको सात दिनमा मात्रै जिल्लामा २० लाख ९० हजार सात सय ८३ खर्च भएको उल्लेख गर्दै उनले आगामी दिनमा पुँजीगत खर्च बढ्ने बताए।

प्रदेशको विकास बजेट ३८ प्रतिशत खर्च 

जिल्लामा संघीय सरकारबाट प्राप्त पुँजीगत बजेटको खर्च प्रतिशत भन्दा गण्डकी प्रदेशबाट प्राप्त भएको पुँजीगत बजेटको खर्च प्रतिशत दोब्बर देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयकाअनुसार यस आवको १० महिनामा गण्डकी प्रदेशबाट प्राप्त बजेटअन्तर्गत ३८ दशमलव ४८ प्रतिशत खर्च भएको छ । गण्डकी प्रदेशबाट नवलपुरका लागि यस आवमा पुँजीगततर्फ १ अर्ब ६६ करोड २ लाख १५ हजार बजेट विनियोजन भएकोमा ६३ करोड ८८ लाख ७७ हजार खर्च भएको कोष नियन्त्रक महतोले जानकारी दिए।

“चालु खर्चअन्तर्गत ७१ करोड ७९ लाख ५३ हजार विनियोजन भएकोमा ३५ करोड ८४ लाख चार हजार खर्च भएका छ”, उनले भने। नवलपुरमा संघीय सरकारको मातहतमा रहने गरी २१ र गण्डकी प्रदेश सरकारको मातहतमा रहने गरी ११ कार्यालय तथा आठ स्थानीय तह छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्