Shikhar Insurance

‘ब्याजदर अझै घट्छ, खराब कर्जाले यसपाली बैंकहरूको नाफा पनि घट्छ’

सुनिल केसी
२०८० जेष्ठ ९, मंगलवार १३:५६
NIMB
Nabil Bank

हामीले ३.४ महिना अघिदेखि नै अब बैंकको ब्याजदर क्रमशः घट्दै जानेछ भनिरहेका थियौं । पुसमा १०.९१ प्रतिशत औसत आधार ब्याजदर थियो । अहिले जेठमा आधार ब्याजदर १०.४६ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकको नयाँ नियमले आधार ब्याजदर बढ्दा महिना बढ्ने वा घट्ने व्यवस्था गरिदिएको छ । त्यसले गर्दा आधार दरको उतारचढावको फाइदा निक्षेपकर्ता र ऋणीहरुले हरेक महिना प्राप्त गर्न सक्छन् । अहिले बैंकहरुको ब्याजदर निरन्तर घटिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आधार ब्याजदरकै कारण आगामी असार साउनसम्मै ब्याजदर दर अझै घट्दै जाने देखिन्छ । राष्ट्र बैंकका अनुसार असार महिना पुग्दा वाणिज्य बैंकहरुले स्प्रेडदर ४ प्रतिशतमा ल्याउनुपर्छ । यसले पनि ऋणको ब्याजदर केही घटाउँदै लैजान्छ । ऋणको ब्याजदर पनि पुसमा १३.०३ प्रतिशत पुगेको थियो, अहिले क्रमशः घटिरहेको छ र वैशाखमा अझै घट्दै जानेछ । ऋणको ब्याजदर कोरोना कालको ठ्याक्कै अगाडिकै तहमा पुग्ने अवस्था निर्माण भैरहेको छाक्कै अगाडिकै तहमा पुग्ने अवस्था निर्माण भैरहेको छ ।

चालु आर्थिक वर्षमा ३ सय अर्बको निक्षेप वृद्धि भैसकेको छ । ऋण भने जम्मा १२४ अर्ब जति मात्रै बढेको छ । अर्थात निक्षेपको तुलनामा ऋणको वृद्धिदर निकै कम छ । त्यसले तरलतालाई विस्तार सुधार गर्दै ल्याएको छ । सबै समस्याको समाधान भयो भन्नेभन्दा पनि धेरै समस्याहरु समाधान हुँदै गएको भन्न सकिन्छ । यही आर्थिक वर्षभित्र अझै २ सय अर्ब निक्षेप बढ्ने सम्भवना छ । सरकारले आर्थिक वर्षको अन्तिम तिर धेरै पुँजीगत खर्च र भुक्तानी दिने चलनले पनि त्यस्तो भएको हो ।

ऋणको वृद्धिदर भने अहिलेसम्म जम्मा ३ प्रतिशतको हाराहारीमा मात्रै भएको छ । र, यो आर्थिक वर्षको अन्तिमसम्म पुग्दा ऋणको वृद्धिदर ६.७ प्रतिशत मात्र पुग्ने अनुमान गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले १३ प्रतिशतको कर्जा वृद्धि लक्ष्य निर्धारण गरेको थियो, त्यसको आध जति मात्रै वृद्धि हुने भयो । तरलता बढिरहेको भए पनि हाम्रो मुख्य चिन्ता भनेको सरकारको राजश्व संकलनमा हो ।

सरकारले राजश्व संकलन गरेको भन्दा २ सय अर्ब रुपैयाँ बढी खर्च गरिसकेको छ । सरकारले बजारबाटै आन्तरिक ऋण उठाएर खर्च गर्ने अवस्था आयो भने चाहिँ तरलतामा केही चाप फेरि पनि पर्न सक्छ । सरकारले आन्तरिक ऋणलाई प्राथमिकतामा राखेको हुनाले अहिले पनि सरकारी ऋणपत्रहरुको ब्याजदर ९ प्रतिशत हाराहारीमा रहेको देखिन्छ । जबकी बैंकहरुले ऋणको ब्याजदर घटाइसकेको छ ।

नेपालमा १०/१५ वर्षका तथ्यांकहरु हेरियो भने जुन-जुन बेला निजी क्षेत्रको ऋण एमटुभन्दा कम जान्छ, त्यति बेला अन्तिममा ऋणको वृद्धि दर माथि गएको इतिहास छ । त्यसकारण अब ऋणको वृद्धिदर राम्रो हुनपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।

केही हदसम्म बैंकहरुलाई क्यापिटल एडेक्वेसीले पनि समस्यामा पारेको छ । ११ वटा वाणिज्य बैंकहरुको क्यापिटल एडेक्वेसी टिअर–१ चाहिँ १० प्रतिशतभन्दा कम छ । अर्काे ४ वटा बैंकको ९ प्रतिशतभन्दा रहेको अवस्था छ । यसको पनि केही प्रभाव पर्न सक्छ ।

अर्काे कुरा भनेको खराब कर्जाको हो । पछिल्लो ८/१० वर्षकै उच्च तहमा खराब कर्जाको आँकडा पुगेको छ । खराब कर्जाका कारण पनि बैंकहरुको प्रोफिट ग्रोथमा केही असर पर्न सक्छ । अर्काे कुरा भनेको बैंकहरुको स्प्रेड घटेर ४ प्रतिशत आउँछ असारसम्ममा । बैंकहरुको आरओई १०.०३ प्रतिशतमा आईसकेको छ । नौ महिनाको नाफा जम्मा ४८ अर्ब रुपैयाँमा खुम्चिएको छ । जबकी गत वर्ष ५२ अर्ब नाफा कमाइएको थियो ९ महिनामै । चौथो त्रैमासिकमा यो नाफा अझै घट्ने सम्भावना देखिएको छ ।

अहिले अधिकांश बिजनेसहरु नोक्सानी पुग्ने देखिन्छ । अर्काे वर्ष चालु पुँजी कर्जा मार्गशर्दनको कार्यान्वयन पछि हुने ऋण प्रवाहलाई पनि त्यसले केहि असर गर्ने देखिन्छ । सरकारले अहिलेसम्म ३४ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ, अहिले आएको सरकारको नीति तथा कार्यक्रमलाई हेर्दा आगामी वर्ष पनि पुँजीगत खर्च राम्रोसँग बढ्ने गतिलो सम्भाना देखिएको छैन् ।

तथ्यांक विभागले पछिल्लो दशककै न्यून आर्थिक वृद्धि हुने भनेर प्रक्षेपण गरेको छ, त्यसमा पनि म्यानुफ्याक्चरिङ सेक्टरको योगदान जम्मा ५ प्रतिशत मात्रै भनिएको छ । विभागको तथ्यांकले जुन जुन क्षेत्रमा प्रभाव पर्यो भनेको छ, ति क्षेत्रहरु नै बैंकहरुको ऋण लगानी भएका क्षेत्र हुन् । राम्रो पक्ष भनेको कोरोनापछि चीन पूरै खुलेको छ, त्यहाँका पर्यटक नेपाल भित्रिने ठूलो सम्भावना छ । भारतको मुद्रास्फीति पनि क्रमशः घटिरहेको छ, त्यसले हामीलाई नै फाइदा पुर्याउँछ ।

हाम्रो‘ लोन टु जीडीपी रेसियो’ जम्मा ४८ प्रतिशतको हाराहारीमा छ । त्यसकारण हामीलाई आगामी १० वर्षसम्म विदेशबाट पैसा ल्याउन सजिलो हुन्छ । सरकारले पनि भर्खरै ग्रीन बण्ड, ग्रीन फाइनान्सिङमा लगानी गर्न सहज बनाएको छ ।

मौद्रिक नीतिको तेस्राे त्रैमासिक समीक्षाले राहत दियो । ऋण पत्रहरुलाई आगामी ६ महिनासम्म निक्षेपमा गणना गर्न दिने व्यवस्थाले १ खर्ब  स्राेत उपलब्ध भएको छ । हामी दक्षिण एसियाका अरु देशभन्दा चाँडो रिकभर हुने अर्थतन्त्रमा अब गणना हुँदैछौं ।(एनएमबी बैंकका सीईओ तथा नेपाल बैंकर्स संघका अध्यक्ष केसीले व्यक्त गरेको विचारको सम्पादित अंश)

GBIME

प्रतिक्रिया दिनुहोस्