Shikhar Insurance

रसुवागढीबाट आयात सहज हुँदै, निर्यात अझै ठप्प

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार २२:३४
NIMB
Nabil Bank

काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक रूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् ।

पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोसाक भित्रिने गरेका हुन् । कोरोना तथा चिनियाँ पक्षको अवरोधका कारण धेरै समय नाका बन्द भएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक सात कन्टेनर सामग्री आयात हुँदै आएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । उनले पछिल्लो समय रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युत्का लागि आवश्यक सामग्री आएको बताए ।

उनका अनुसार पछिल्ला केही दिनयता उल्लेख्य रूपमा आयात भए पनि साविकमा जस्तो सहज रूपमा आयात भएको छैन । नाकामा कार्यरत् सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको उनी बताउँछन् ।

“हामीले नाकामा कार्यरत् २०० भन्दा बढी कर्मचारीलाई गत महिना नै पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाइसकेका छौँ । नाकामा कार्यरत् श्रमिकलाई स्वास्थ्य सुरक्षा अपनाउँदै छुट्टै राखेका छौँ । कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा अझै समस्या हुने गरेको छ,” उनले भने, “रसुवा जिल्ला नै दुई महिनायता कोरोना संक्रमणमुक्त हुँदासमेत चिनियाँ पक्षको अवरोध कम भएको छैन । जति प्रयास गरे पनि चिनियाँ पक्षको विश्वास जित्न नसक्दा आयातमा अवरोध हुने गरेको छ ।” कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।

तातोपानी नाकाबाट पछिल्लो समय रासायनिक मल आयात भएको भन्सार कार्यालयले जनाएको छ । ल्होसारपछि नाका पुनः सञ्चालनमा आएयता दैनिक सात चिनियाँ कन्टेनर नेपाल भित्रिने गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार सात कन्टेनरमध्ये पाँच कन्टेनरमा रासायनिक मल आयात भएको छ ।

लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो । नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।

निर्यात ठप्प
रसुवागढी र तातोपानी नाकाबाट न्यून मात्रामा आयात हुँदै आए पनि निर्यात भने ठप्प छ । रसुवागढी नाकाबाट गत वर्षको चिनियाँ ल्होसारदेखि नै निर्यात बन्द भए पनि हालसम्म पुनः सञ्चालन हुनसकेको छैन । चिनियाँ सामग्री आयातमा अवरोध गर्दै आएको चिनियाँ पक्षले निर्यातमा कुनै पहल नगरेको रसुवागढी भन्सार प्रमुख रेग्मी बताउँछन् ।

“हामीले विभिन्न समयमा निर्यातको पहल गर्दै आएका छौँ । तर, चिनियाँ पक्षले चासो नदेखाउँदा एक वर्षदेखि निर्यात बन्द भएको छ,” उनले भने । रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात बन्द भए पनि भूकम्पपछि तातोपानी नाकाबाट निर्यात ठप्प छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्