Shikhar Insurance

धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुल अलपत्रः ७ वर्षपछि ढाँचा परिवर्तन सुरु

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १०, बुधबार १३:४४
NIMB
Nabil Bank

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी नदीको धाप्लाङघाटस्थित निर्माणाधीन पुलको काम रोकेर अहिले ढाँचा (डिजाइन) परिवर्तनको प्रक्रिया अघि बढाइएको छ ।

खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल चार वर्षअघि बनिसक्नुपर्थ्याे । विसं २०७६ असार २९ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७३ असार ३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

वेल फाउन्डेसन प्रविधिको मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण गर्ने गरी ढाँचा परिवर्तको प्रक्रिया अघि बढाइएको हो । विसं २०७६ असारमा बनिसक्नुपर्ने दुई सय मिटर लामो मोटरेबल पक्की पुलको ठेक्का लागेको सात वर्षपछि ठेकेदार कम्पनीको आग्रहमा ढाँचा परिवर्तन गर्न लागिएको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए।

“ठेकेदार कम्पनीले पुरानो डिजाइनमा काम गर्न नसक्ने बताएको छ, तोकिएको समयमा निर्माणको काम नभएपछि सम्झौता गर्दा दिइएको पेस्की बापतको रकमबाट ४ करोड २२ लाख रूपैयाँसमेत फिर्ता गराइएको छ”, उनले भने, “जसरी भए पनि पुल त बनाउनै पर्यो, पुरानो डिजाइनका चार वेल फाउन्डेसनको ठाउँमा चार पाइल फाउन्डेसन बनाउने तयारी स्वरुप डिजाइन परिवर्तनको काम सुरु गरिएको छ ।”

खोटाङको बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयवासीलाई पूर्वी तराईका विभिन्न सहरसँग जोड्ने पुल विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको थियो । धाप्लाङघाट निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल बनिसक्नुपर्ने समयमा ढाँचा परिवर्तनको प्रक्रिया थाल्नुमा ठेकेदार र कर्मचारीको मिलेमतो रहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

निर्माणको काम थालेको लामो समयसम्म धाप्लाङघाट पुल निर्माणको काम सम्पन्न नहुँदा दक्षिणी क्षेत्रका स्थानीय बासिन्दालाई सबैभन्दा बढी समस्या भएको बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले बताए।

“सुनकोसीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल नहुँदा आयात तथा निर्यात गरिने दैनिक उपभोग्य सामग्री पुल वारि र पारि दुवैतर्फ लोडअनलोड गर्नुपर्ने अवस्था छ, यसले सबैभन्दा बढी कृषक मारमा परेका छन्”, उनले भने, “दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाको दैनिक जीवनसँग जोडिएको धाप्लाङघाटको पक्की पुल निर्माणमा ढिलाइ हुनु दुःखद् विषय हो, यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि उपज निर्यातका क्रममा ‘लोडअनलोड’ गर्दा किसानले थप व्ययभार खेपिरहेका छन् । मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिएको धाप्लाङघाटमा सात वर्षपछि पुनः ढाँचा परिवर्तन गर्न थालिएपछि उक्त ठाउँमा कहिले पक्की पुल सञ्चालनमा आउने टुङ्गो छैन ।

धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुल अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा मिलेमतोमा छुट दिइएको खोटाङ क्षेत्र नं २ ९२०बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्रकुमार राईले बताए।

“धाप्लाङघाट पुल निर्माणको काम समयमा नसकिएपछि विभिन्न ठाउँमा खबरदारी गर्ने काम भइरहेको छ, पुरानो डिजाइनमा ठेकेदारले कामै नगर्ने बताएको रहेछ”, उनले भने, “डिजाइन परिवर्तन गरेर भए पनि तत्काल निर्माणको काम अगाडि बढाउन भनिएको छ, सम्भवतः अर्को आर्थिक वर्षबाट नयाँ डिजाइनमा पुल निर्माणको काम सुरु हुन्छ ।”

धाप्लाङघाट पुल निर्माणमा ढिलाइ हुनुको प्रमुख कमजोरी सडक विभागका इन्जिनियरको रहेको एसएनएसका प्रबन्ध सञ्चालक जयराम लामिछानेले आरोप लगाउनुभयो । “सडक विभागका इन्जिनियरको कमजोरीका कारण यसअघि तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न गर्न सकिएन, स्थलगत अध्ययन नगरी तयार पारिएको डिजाइनमा हामीले काम थालेका रहेछौँ”, उनले भने, “काम गर्दै जाँदा सो डिजाइनले त्यहाँ मोटरेबल पक्की पुल निर्माण हुने सम्भावना देखिएन, पटकपटकको आग्रहपछि अहिले डिजाइन परिवर्तनको काम सुरु भएको छ, डिजाइन परिवर्तन भएर आएपछि नयाँ टोली परिचालन गरेर निर्माणको कामलाई तीव्रता दिने तयारी गरिरहेका छौँ ।”

जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दाको प्रमुख व्यापारिक केन्द्र गाईघाट बजार आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक खण्डअन्तर्गत पर्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा झोलुङ्गे पुल सञ्चालनमा छ । लामो समयदेखि सञ्चालनमा रहेको सोही झोलुङ्गे पुलमार्फत दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म पिठ्यूँमा बोकेर वारपार गराउनुपर्ने स्थानीयवासीको बाध्यता छ। रासस

GBIME

प्रतिक्रिया दिनुहोस्