Shikhar Insurance

भारतले २ हजारका नोट खारेज गर्यो, के नेपालमा पनि त्यस्तो सम्भावना छ ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १०, बुधबार १९:५४
NIMB
Nabil Bank

काठमाडौं । भारतीय रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले अघिल्लो हप्ता २ हजार दरका नोट नचल्ने घोषणा गरेपछि नेपालमा पनि त्यसको असरबारे चर्चा भैरहेको छ । गत शुक्रबार आरबीआईले २ हजार दरका नोट नचल्ने घोषणा गरेको थियो र त्यसको सटही सुबिधा २३ मेदेखि ३० सेप्टेम्बरसम्म तोकिदिएको छ ।

सन २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजार दरका नोटबन्दी गरेका थिए । त्यसको असर नेपालमा पनि परेको थियो । नेपाल र नेपाली नागरिकहरुसँग रहेको पाँच सय र एक हजार दरका नोट साट्नेबारे सहमति नै भएन् । अब सवाल उठ्छ की भारतमा २ हजार दरका नोट नचल्ने निर्णय भएपछि नेपालमा त्यसको के असर पर्छ ?

Citizen Life
Kumar Bank
Nepal Life

अघिल्लो नोटबन्दीबाट परेको थियो असर
सन २०१६ मा भारतले पाँच सय र एक हजार दरका नोट बन्दी गर्दा नेपाललाई पनि असर परेको थियो । त्यतिबेला नेपालका बैंकहरुमा ८.११ करोड त्यस्तो नोट थियो । नेपाल राष्ट्र बैंकका अनुसार बिभिन्न बैंकहरुमा भारु ५ सयका ६८ हजार १ सय ४७ नोट थिए भने एक हजार दरका १६ हजार ५ सय ५२ वटा नोट थिए । र ति नोटहरु अझै पनि नेपालमा सुरक्षित रहेका छन् । त्यस बाहेक नेपाली नागरिकहरुसँग पनि ठूलो मात्रामा त्यस्ता नोटहरु रहेको बताइन्छ ।

सन २०१६ पछि नेपालमा भारु एक सय भन्दा ठूला दरका नोटहरु चलाउन प्रतिबन्ध गरिएको छ । राष्ट्र बैंकले एक सार्वजनिक सूचना नै प्रकाशित गरेर भारु एक सय भन्दा ठूला दरका नोटहरु नबोक्न भनेको थियो । त्यस्ता नोटहरु नेपालमा प्रतिबन्धित थिए ।अर्थात नेपालको बैंकिङ प्रणालीमा अहिले भारु एक सय भन्दा ठूला नोट छैनन् ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरलका अनुसार भारतमा २ हजार दरका नोट नचालाउने निर्णयबाट नेपालमा कुनै नकारात्मक प्रभाव पर्ने छैन् । यद्यपी नेपाली नागरिकहरुसँग केहि न केहि त्यस्ता नोटहरु हुन सक्ने र त्यसले केहि असर भने पार्न सक्ने सम्भावना छ । नेपालका भारतीय सिमा क्षेत्रका नागरिकहरुसँग केहि मात्रामा २ हजार दरका भारु नोट हुन सक्छ । र उनीहरु मर्कामा परेका हुन सक्छन् ।

जोसँग नोट छ, तिनको के हुन्छ ?
नेपाल र भारतको लामो खुला सिमा छ, जहाँ एक अर्काे देशका नागरिकहरुलाई आवत जावतमा कुनै रोकतोक छैन् । २ हजार दरका भारु बोक्ने नेपालीहरुले आफ्नै च्यानलबाट त्यस्ता नोट साट्नुपर्ने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेले बताउँछन् । सन २०१६ अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेपछि भएको द्धिपक्षिय सम्झौताबाट मात्रै नेपालमा ५ सय र एक हजार दरका नोट चलनचल्तीमा आएका थिए । भारतले नोटबन्दी गरेर नेपालको प्रणालीमै भएका नोट समेत नसाटेपछि भने नेपाल थप सचेत भएको थियो ।

५ सय र हजार दरका नोट साट्न प्रधानमन्त्रीको ताकेता
नेपालका तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका क्रममा नेपालको प्रणालीमा रहेको ८.११ करोड भारु साट्ने व्यवस्था मिलाउनुपर्ने एजेण्डा उठाएका थिए । त्यस बाहेक पनि आरबीआई र नेपाल राष्ट्र बैंकबीच पनि त्यस्ता नोट सटहीबारे पटक पटक वार्ता भएका थिए तर त्यसले कुनै नतिजा भने दिएन् । यो मामलामा नेपालले भारतसँग पराजय व्यहोरेको जस्तो सन्देश स्थापित भएको स्वयं राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि निकट भविष्यमै भारतको भ्रमण गर्दैछन्, तर त्यसमा नोट सटहीको एजेण्डा समावेश हुने सम्भावना छैन् ।

के नेपालमा पनि नोटबन्दी हुँदैछ ?
नेपालमा पछिल्लो केहि समयदेखि नोटबन्दीको बिषयमा निरन्तर बहस भैरहेको छ । तर राष्ट्र बैंक र सरकारकार उच्च अधिकारीहरु भने अहिले नोटबन्दीको कुनै सम्भावना नरहेको बताउँछन् । नेपालले आफ्नो नोट अहिलेसम्म विदेशी कम्पनीहरु मार्फत छाप्दै आईरहेको ेछ । त्यो निकै खर्चिलो छ । नोटबन्दीले नोट छाप्न प्रयोग भएको ठूलो खर्च त्यसै खेर जानेछ ।

राष्ट्र बैंक सहायक प्रवक्ता पोखरेलले भन्छन्–‘एक हजार दरका नोट बन्द गरियो भने हामी शुन्यमा पुग्नेछौं, हामीसँग केहि बाँकी रहने छैन् । हामीले नोट छाप्न अन्तराष्ट्रिय ठेक्का निकाल्नुपर्छ, कम्पनी छानिएपछि नोट छापिन्छ, फेरि नोट नेपाल ल्याइन्छ, र त्यसको वितरण गरिन्छ । यसका लागि लामो समय खर्च हुन्छ । यदि नेपालमा नोटबन्दीको सम्भावना बन्यो भने पनि त्यसका लागि लामो समयको तयारी हुनुपर्छ ।’

अर्काे एक सम्भावना पनि रहन्छ की रातारात नेपालमा नयाँ नोट छापियोस् र बजारमा पठाईयोस् । नेपालमा स्थिर सरकार हुँदा मात्रै ठूला नोट खारेज गरेर नयाँ र साना दरका नोट छापेर बजारमा पठाउन सकिने अधिकारीहरु नै बताउँछन् ।

बीबीसी नेपाली सेवाका संजीव गिरीले बीबीसी हिन्दीका लागि तयार पारेको रिपोर्टको सम्पादित अनुवाद

GBIME

प्रतिक्रिया दिनुहोस्