Shikhar Insurance

पर्यटकको पर्खाइमा गाईखर्क ताल

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १२, शुक्रबार १७:३१
NIMB
Nabil Bank
गलेश्वर। दाङ खोलाको सिरान र थाप्ले पहाडको काखमा जङ्गलको बीचमा रहेको म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानको गाईखर्क ताल पर्यटकको पर्खाइमा रहेको छ ।
हाडिस खोलाको छेवैमा रहेको यस तालमा वरिपरिका रुखबाट कहिल्यै पनि पात खसेर पर्दैनन् भने बिहान र साँझमा पानीको रङसमेत फेरिने गरेको छ । देख्दै आश्चर्य लाग्ने रातो (रगत जस्तो) रङको पानी भएको अनौठो गाईखर्क तालमा पर्यटकीय पूर्वाधार विस्तार भए पनि प्रचार-प्रसारको अभावमा पर्यटक आउन नसकेका स्थानीयले बताएका छन् ।
गाईखर्क तालमा कतै पानीको मुहान देखिँदैन । जङ्गलको बीचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विशेषाता भएको प्राकृतिक ताल हो । यो ताललाई म्याग्दीको रहस्यमय र अनौठो ताल भनेर चिनिन्छ ।
मालिका गाउँपालिका-५ देविस्थानका वडाध्यक्ष मिम पुनले हावाहुरीले तालमा झारेका पात चराचुरुङ्गीले टिपेर लैजाने र कहिल्यै पानी फोहर नहुने यसको विशेषता भएको बताए।
उनका अनुसार यस तालको सबैभन्दा ठूलो विशेषता वर्षामा निलो र हिउँदमा यसको पानी पूर्णरूपमा रगत जस्तै रातो रङको हुन्छ । एल्गी र ब्याक्टोरीयका कारण हिउँदमा तालको पानी रातो हुने अनुसन्धानबाट खुलेको उनले जानकारी दिए।
युनिभर्सिटी अफ स्टटगार्टका एक अन्वेषकका अनुसार उच्च लवणताले एल्गीलाई सुरक्षात्मक क्यारोटिनोइड्सका कारणले पानीलाई रातो बनाउने गर्छ । सोही कारण यो तालको पानी रातो भएको हुनसक्ने वडाअध्यक्ष पुनले बताए।
यो ताल समुन्द्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा अवस्थित छ । दाङखोलाको सिरान थाप्ले पहाडको कोखमा ताल रहेको छ । ४६/४६ मिटर लम्बाइ, चौडाइ तथा तीन मिटर गहिराइ भएको तालको २०७४/७५ मा लम्बाइ चौडाइ बढाएर ५५/५५ मिटरको बनाइएको वडाअध्यक्ष पुनले जानकारी दिए।
मालिका गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोग र स्थानीयको सक्रियतामा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ । हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ । चालु आर्थिक वर्षमा ताललाई व्यवस्थित गरी पूर्वाधार निर्माणका लागि रु सात लाख बजेट विनियोजन गरिएको अध्यक्ष पुनले जानकारी गराए ।
देविस्थानको घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिँडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन । बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ । गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जालगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । यो ताल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ ।
यो तालको अर्को विशेषता भनेको वरिपरि बाक्लै रुख हुँदाहुँदै पनि रुखका पात झरेर यो तालमा पर्दैनन् । “रुखबाट पात त झर्छन् तर हावाले तालमा पातलाई पर्नै दिँदैन”, वडा सदस्यसमेत रहेका घनबहादुर फगामीले भने, “स्थानीयले दैवि शक्तिका कारण यस्तो भएको भनेर विश्वास गर्छन् र तालको छेउमा वराहा देवताको मन्दिर निर्माण गरी पूजाआजा गर्दै आइरहेका छन् ।”
मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यसको अर्को आकर्षण हो । सेभेन ए साइड फुडसल तथा वनभोजका लागि पनि उपयुक्त गन्तव्य खर्कमा मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको वडाअध्यक्ष पुनले बताए।
गाईखर्कतालमा धौलागिरि र गुर्जा हिमालको छाया (प्रतिविम्ब) स्पष्ट रुपमा देख्न सकिन्छ । स्थानीयवासी एवं शिक्षक डोल्पा शिउथानी मगरका अनुसार तालमा हिमाल पौडी खेलिरहेको जस्तो दृश्य यहाँ देख्न सकिन्छ । यहाँबाट प्राचीन पहाड, सेताम्य हिमाल, पहाडी बस्ती स्पष्टरुपमा देख्न सकिन्छ । तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटीपौवा, चौतारा, सानासाना छरिएर रहेका वस्तीहरुले जोकोहीको मन लोभ्याउँछ ।
यहाँ गाईखर्क ताल, खोरिया दह, ठूल दह, जङ्गले झरना, महखोला झरना, कोटखोला झरना, घराङखोल झरना, पाते छहरा, धुन्द्रुक गल्छी प्रभु गुफा र रहस्यमय देउताभिर गुफाले आन्तरिक तथा वाह्य पर्यटकको ध्यान खिच्न सक्ने प्रशस्तै सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा यस्ता अमूल्य र आश्चर्य लाग्दा सम्पदा ओझेलमा परेका वडाअध्यक्ष पुनले बताए।
यो तालको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नसके यहाँ पर्यटकको आगमन बलिया सम्भावना रहेका स्थानीयको भनाइ रहेको छ यहाँ लुकेर रहेको सम्भावनालाई उजागर गरी पर्यटन विकास गर्नसक्ने हो भने ग्रामीण वस्तीको मुहार फेर्न सकिने वडा सचिव धर्मकान्त पौडेलले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्