Shikhar Insurance

न्युयोर्कको सडकलाई ‘तेन्जिङ नोर्गे शेर्पा’ नामकरण

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार ११:०८
NIMB
Nabil Bank

वाशिङ्टन डिसी। अमेरिकाको न्युयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ ।

उक्त सडकलाई नामकरणका लागि विगत ६ वर्षदेखि स्थानीय रूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र यूएसएनेपाल क्लाइम्वर्स एसोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा न्युयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

क्लाइम्वर्स एसोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भने, “सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौं । हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्युयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो ।”

सोमबार आयोजित कार्यक्रमपछि राससलाई प्रतिक्रिया दिँदै उनले भने, “यो हामी सम्पूर्ण आरोहीहरूका लागि खुसीको क्षण त हो नै नेपालीहरूका लागि पनि गर्वको विषय हो ।”

कार्यक्रममा सहभागी भएका र लामो समयदेखि न्युयोर्कमा बस्दै आएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको टिप्पणी गरे। उनले भने, “सगरमाथाको देश भनेर हामी विश्वभरि चिनिन्छौं, त्यसमा पनि प्रथम आरोही तेन्जिङ शेर्पाको नाममा सडकको नामकरण गर्न सहजीकरण गरिदिनुभएकामा काउन्सिलका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

यस अगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल हुनुभएको थियो । त्यसैले सोमबार ७०औं सगरमाथा दिवस पनि मनाइएको थियो । सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी भएका थिए । नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

गणतन्त्र दिवस मनाइयो

गणतन्त्र दिवस स्थापना भएको अवसरमा अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा झण्डोत्तोलनसहित कार्यक्रम गरिएको छ । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले वाशिङ्टन डिसीस्थित नेपाली दूतावास परिसरमा एक समारोहबीच झण्डोत्तोलन गरे । सो अवसरमा नेपाली नियोगका उपप्रमुख कुमार खरेललगायत दूतावासका अधिकारीहरू सहभागी भएका थिए। उक्त अवसरमा राजदूत खत्रीले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिएका थिए ।

यसैगरी नेपाली महावाणिज्य दूतावास न्यूयोर्कमा गणतन्त्र दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले आमन्त्रित महानुभावलाई स्वागत गरेका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्