Shikhar Insurance

मकै बेचेर घरखर्च धान्दै जमुना, महिनामा १ लाख ५० हजारसम्म कारोबार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १४:०७
NIMB
Nabil Bank

गल्याङ । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारस्थित सिद्धार्थ राजमार्गको छेउमा चिटिक्क परेको काठको छाप्रो छ । छाप्रो अगाडि माटोको चुलोमा धुँवा उडिरहेको छ । ३९ वर्षीया जमुना रुचाल चर्को घाममा पनि  पसिना चुहाउँदै मकै पोल्न व्यस्त छिन्। उन बिहानै भालेको डाँकोसँगै उठ्छन् र सरसफाइको काम भ्याउँछन्।  मोही पार्छिन्  र टिमुर, पुदिना, गोलभेडा, नून तथा हरियो खुर्सिनी राखेर अचार बनाउँछिन् । यसरी तयार पारेको सामान झोलामा बोक्दै रुचाल घरदेखि केही तलको  मकै पोल्ने ठाउँमा झर्छिन् ।

“मकै पोलेर बिक्री गर्न थालेको पाँच वर्ष भयो, यसकै आम्दानीले गुजारा चलाएकी छु”, दाउरा आगोमा ठोस्दै उनले भनिन्, “सुन्तलाको याममा सुन्तला बेच्छु, हरिया मकै बेमौसमी पनि पाइने भएकाले अहिले मकै पोलेर बेचिरहेकी छु ।” यही काम पनि सजिलोसँग गर्न नपाइएको उनको गुनासो छ ।

Citizen Life
Kumar Bank
Nepal Life

औँलाले देखाउँदै उनले भने, “काठको खामो गाडेर छाप्रो बनाएकी थिएँ, काठकै टेबुल र बेन्च पनि थियो, छाप्रो भत्काइदिन थाले । टेबुल पनि चोरी हुन थाल्यो । अहिले भने बेन्च फलामको बनाउन लगाएर राखेकी छु ।”

दैनिक ४०–५० वटासम्म पोलेको मकै बिक्री हुन थालेको रुचालले बताइन्। “दैनिक २ हजारदेखि २ हजार ५ सयसम्म कमाइ हुन्छ”, उनले भने रुचालले मोहीसमेत बिक्री गर्छिन् । सबै गरेर महिनामा १ लाख ५० हजारसम्म कारोबार हुने गरेको रुचालले बताइन् ।

गल्याङ नगरपालिका–६, पिँडिखोलाका शेरबहादुर थापा प्रायःजसो पोलेको मकै, मोही र चटनी खान यहाँ आउने गर्छन्  । स्वदेशमा रोजगार भएन भन्नेहरुलाई रुचालको कामले केही गर्न प्रेरणा मिलेको उनको भनाइ छ ।

रुचालको छाप्रोभन्दा केही पर अर्को छाप्रोमा सविता गैरे पनि मकै पोल्नमै व्यस्त हुन्छिन्।  “दैनिक २५–३० जती मकै बिक्री हुन्छ”, उनले भने, “मकै पोलेर खुवाउँदा फुर्सदै हुन्न, यही पेसाले हाम्रो घरखर्च धान्न सहज भएको छ ।”

सविताकी सासू केशरी पनि मकै पाल्नमै व्यस्त हुन्छिन् । उनी भन्छिन्, “सासू–बुहारीले मकै बेचेर कमाएको पैसोले घरखर्च धानिएको छ ।” यहाँ सुन्तलाको याममा पनि यस्तै चटारो हुन्छ । मकै खरिद गर्न पोखरा, चितवनलगायत ठाउँबाट व्यापारी मायाटारी आउने गरेका छन् । यहाँ पोलेको मकै प्रति घोगा ५० र मोही प्रति गिलास२० मा बिक्री हुने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्