Shikhar Insurance

गन्तव्य ब्रान्डिङ गर्दै पर्यटन बोर्डः लुम्बिनीबाट सुरू, सिको विदेशको

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार २०:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्न शुरुआत गरेको छ । बोर्डले यसको शुरु गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यलाई पनि ब्रान्डिङ गर्दै लैजाने योजना बनाएको हो ।

गन्तव्यलाई सरल र स्पष्टरूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्रान्डिङ आवश्यकता महशूस गरी ब्रान्डिङको शुरुआत गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले जानकारी दिए । “कुनै पनि पर्यटकीय गन्तव्यको आफ्नै पहिचान हुन्छ, त्यसको आफ्नै विशेषता हुन्छ । ती विशेषतालाई समेट्दै ब्रान्डिङ गर्दा लुम्बिनीलाई आकर्षक गन्तव्य बनाई राष्ट्रिय एवं अन्तरराष्ट्रियरूपमा चिनाउन थप बल सहयोग पुग्ने छ । हामीले यो प्रयास गरेका छौँ । विस्तारै अन्य गन्तव्यको पनि ब्रान्डिङ गर्दै लगिने छ”, उनले भने । लुम्बिनीका सबै पक्षलाई समेटेर पहिलो पटक ब्रान्डिङ गरिएको र यसले अन्य गन्तव्यलाई पनि सोहीअनुरुप विकास गर्न नयाँ सोच अगाडि आउने उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

यसरी गरिँदैछ ब्रान्डिङ

जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्चर, ब्राह्मी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी लुम्बिनीको ब्रान्डिङ गरिएको छ। लुम्बिनीको प्राकृतिक सुन्दरतासहित ॐ माने पद्मे हुँको गुन्जायमान वातावरण, राजकुमार सिद्धार्थको घुम्रिएको कपाल, सुन्दर प्राचीन शहर र बोधिवृक्षलाई ब्रान्डिङमा संयोजन गरिएको छ । यस्तै लुम्बिनीको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करिणी पोखरी, अशोकस्तम्भ र चरा, प्राचीन आर्किटेक्चर, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्रान्डिङ’मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार ब्रान्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्न रंग प्रयोग गरिएको छ। ब्रान्डिङपछि त्यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला तथा श्रव्य दृष्यका सामग्रीबाट एउटैखाले सन्देश प्रवाह हुने छ । त्यस्तै कार्ड, पोस्टकार्ड, पोस्टर र ब्यानरका लागि ब्रान्डिङ गरिएको छ।

कस्तो रङको लिपि र प्रतीकचिह्न प्रयोग गर्ने भनेर पनि उल्लेख गरिनेछ। यहाँ हुने पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा त्यसलाई उपयुक्त हुने गरी ब्रान्डिङका प्रकार तयार गरिएको छ। नेपालले यसअघि नेचुरल्ली नेपाल भन्ने ब्रान्ड बनाएर समग्र देशको ब्रान्डिङ गरेको थियो । नेपाल जस्तै थाइल्यान्डले एमाइजिङ थाइल्यान्ड, भारतले अतुल्य भारत, मलेसियाले मलेसिया इज ट्रुली एसियाजस्ता थिमबाट आफ्नो देशको ब्रान्डिङ गर्दै आएका थिए ।

यस पटक नेपालको पर्यटकीय गन्तव्यमध्ये एक लुम्बिनीलाई पनि अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन रङ, नाम र लोगोमा ब्रान्डिङ गरिएको र यसले लुम्बिनीको महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उजागर गर्न थप मद्दत पुग्ने लुम्बिनी प्रदेश आन्तरिक पर्यटन पुनरोत्थान समिति संयोजक सागर अधिकारीले बताउनुभयो । बोर्डका अनुसार काठमाडौँको आर्ट एन्ड डिजाइन कम्पनी कप्र्स एन्ड कलर्सले बुद्धस्थल लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम पुगेर अध्ययन अनुसन्धान गरी त्यहाँको अवस्था, सुन्दरता, पुरातात्विक एवं ऐतिहासिक वैभवलाई सिर्जनामार्फत उतारेर तयार पारेको ब्रान्डिङलाई बोर्डले त्यसक्षेत्रका सरोकारवालासँगको समन्वय र सहकार्यमा सार्वजनिक गरेको हो ।

बोर्डले कीर्तिपुर र पोखराको पनि ब्रान्डिङको काम गरिरहेको छ । लुम्बिनी नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँ वार्षिक १६ लाखभन्दा बढी स्वदेशी तथा करिब दुई लाख तेस्रो मुलकका र करिब दुई लाख भारतीय पर्यटक आउने गर्दछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्