Shikhar Insurance

पत्रकार सम्मेलनमा मोदीः सम्बन्ध सुमधुर बनाउन ऊर्जा आयातदेखि क्रस बोर्डर पेमेन्टसम्मको चर्चा (पूर्णपाठ)

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १८, बिहीबार १६:५५
NIMB
Nabil Bank

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको ‘सुमधुर’ सम्बन्धलाई बढाउनका लागि थुप्रै महत्त्वपूर्ण निर्णयहरू गरेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको संयुक्त पत्रकार सम्मेलनमा उनले भविष्यमा दुई देशको मित्रतापूर्ण सम्बन्धलाई ‘सुमधुर’ बनाउनका लागि थुप्रै महत्त्वपूर्ण निर्णयहरू गरेको जानकारी दिएका हुन् ।

आफ्नो सम्बोधनमा मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्धदेखि कनेक्टिभिटीका कुराहरू उठाए । पछिल्लो ९ वर्षको अवधिमा हामीले अनेकौं क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरिसकेको जिकिर गर्दै उनले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तो छ सम्बोधनको सम्पादित अंशः

महामहिम प्रधानमन्त्री प्रचण्ड जी, दुवै डेलिगेसनका सदस्यहरू, सञ्चारमाध्यमका साथीहरू सबैलाई नमस्कार ।

सबैभन्दा पहिले म नेपालका प्रधानमन्त्री प्रचण्ड ज्यू र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरूलाई भारतमा हार्दिक स्वागत गर्दछु । मलाई अहिले पनि राम्ररी याद छ, ९ वर्षअघि सन् २०१४ मा आफ्नो कार्यभार समालेको तीन महिनाभित्रै मैले पहिलो पटक नेपालको यात्रा गरेको थिएँ ।

त्यति बेला मैले भारत र नेपालबीचको सम्बन्धको बारेमा एउटा ‘हिट (एचआईटी फर्मुला) दिएको थिएँ, हाइवेस, आईवेस र ट्रान्सवेस । त्यति बेला मैले भनेको थिएँ, भारत र नेपालबीच यस्तो सम्पर्क स्थापित गर्नेछौँ जसले हाम्रा सीमाहरू कुनै पनि हालतमा हाम्रो बाधक नबनुन् ।

त्यति बेला मेरो चाहना थियो, ट्याङ्करहरूको सट्टा पाइप लाइनबाट पेट्रोलियम पदार्थको निर्यात गर्नुपर्छ, साझा नदीहरूमाथि पुल बनाउनुपर्छ र नेपालबाट भारतमा बिजुली निर्यात गर्न सुविधा विस्तार गर्नुपर्छ । साथीहरू, आज ९ वर्षपछि मलाई भन्दा खुसी लागिरहेको छ कि वास्तवमै हाम्रो मित्रता निकै ‘हिट’ छ ।

पछिल्लो नौ वर्षको अवधिमा हामीले अनेकौँ क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरिसकेका छौँ । वीरगञ्जमा नेपालकै पहिलो आईपीसी बनाइएको छ । भारत र नेपालबीच पहिलो पटक क्रस बोर्डर पेट्रोलियम पाइप लाइन बनाइएको छ । हामीबीच पहिलो पटक ब्रोडगेज रेल लाइन स्थापित गरिएको छ । सीमामा नयाँ ट्रान्समिसन लाइनको निर्माण गरिएको छ ।

यसैगरी हामी (भारत) ले नेपालबाट चार सय ५० मेगावाट बिजुली आयात गरिरहेका छौँ । अहिले हामीले पछिल्लो नौ वर्षमा हासिल गरेका उपलब्धिहरूलाई गन्न थाल्यौँ भने पूरा दिन नै लाग्न सक्छ । साथीहरू, आज पनि मैले र प्रधानमन्त्री प्रचण्डज्यूले भविष्यमा आफ्नो मित्रतापूर्ण सम्बन्धलाई ‘सुपर हिट’ बनाउनका लागि थुप्रै महत्त्वपूर्ण निर्णयहरू गरेका छौँ ।

आज ‘ट्रान्जिट एग्रिमेन्ट’ सम्पन्न भएको छ । यसमा नेपाली जनताका लागि नयाँ रेल्वे रुटसँगै भारतको इनल्यान्ड वाटरवेजको सुविधा पनि प्रदान गरिएको छ । हामीले नयाँ रेल लिंक्स स्थापना गरेर फिजिकल कनेक्टिभिटिलाई बढाउने निर्णय लिएका छौँ । यसका साथै हामीले भारतीय रेल संस्थानमा नेपालका रेलकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्ने निर्णय पनि लिएका छौँ ।

नेपालको सुदूरपश्चिम क्षेत्रबाट केनेक्टिभिटिलाई बढावा दिनका लागि शिर्षा र झुलाघाटमा दुईवटा थप पुल बनाइने छ । क्रस बोर्डर डिजिटल पेमेन्टको माध्यमबाट आर्थिक सम्बन्धमा व्यवस्था गरिएका प्रावधानहरूको पनि हामी स्वागत गर्दछौँ । यसको प्रत्यक्ष लाभ हजारौँ विद्यार्थी, लाखौँ पर्यटक र तीर्थ यात्रीसँगै स्वास्थ्य उपचारका लागि भारत आउने बिरामीहरूलाई पनि पुग्नेछ ।

तीनवटा आईपीसीको निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुनेछ । अघिल्लो वर्षमा हामीले ऊर्जाको क्षेत्रमा सहयोगका लागि एउटा बलियो जग तयार पारेका थियौँ । त्यसैलाई अगाडि बढाउँदै आज हामीले भारत र नेपालका बीच ‘लङ टर्म पावर ट्रेड एग्रिमेन्ट’ सम्पन्न गरेका छौँ । यसअन्तर्गत हामीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेका छौँ । फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत आयोजनाको विषयमा भएको सम्झौताले विद्युत क्षेत्रको सहयोगमा थप बल पुगेको छ । मोतिहारी—अमलेखगंज पेट्रोलियम पाइपलाइनको सकारात्मक प्रभावलाई ध्यानमा राख्दै यो पाइप लाइनलाई चितवनसम्म विस्तार गर्ने निर्णय पनि लिएका छौँ ।

यसका अतिरिक्त सिलिगुडीबाट पूर्वी नेपालको झापासम्म एउटा अर्को नयाँ पाइपलाइन बनाउने निर्णय पनि गरेका छौँ । यसका साथै चितवन र झापामा नयाँ स्टोरेज टर्मिनल पनि लगाइने छ । नेपालमा एउटा नयाँ मल कारखाना स्थापना गर्नका लागि आपसी सहयोग गर्ने विषयमा पनि हामीबीच सहमति भएको छ ।

साथीहरू, भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो छ । यो सम्बन्ध निकै बलियो पनि छ । यो सुन्दर कडीलाई अझ बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्ड ज्यू र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनामा तीव्रता ल्याउने सहमति पनि गरेका छौँ । हाम्रो आपसी सम्बन्धलाई हिमालभन्दा पनि उचाइमा पुर्‍याउन निरन्तर प्रयास गरिरहने छौँ । यही भावनाले हामी सबै मुद्दाको समाधान खोज्ने छौँ । चाहे त्यो सीमाको मुद्दा होस् वा अन्य कुनै विषयको मुद्दा नै किन नहोस् ।

महामहिम प्रधानमन्त्री प्रचण्ड ज्यू, तपाई भोलि इन्दौर र धार्मिक सहर उज्जैनको यात्रा गर्दै हुनुहुन्छ । मलाई विश्वास छ कि तपाईँको उज्जैन यात्रा ऊर्जामयी हुनेछ । पशुपतिनाथदेखि महाकालेश्वरसम्मको यो यात्रामा तपाईँलाई आध्यात्मिक अनुभूति पनि हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

धेरै धेरै धन्यवाद ।

GBIME

प्रतिक्रिया दिनुहोस्