Shikhar Insurance

सुरू भयो गैँडा गणना, ५ वर्षअघि ६४५, बढ्ला कि घट्ला ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ९, सोमबार २१:०३
NIMB
Nabil Bank

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर सोमबारदेखि गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेम आलेले आज बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गरे ।

गैँडा गणनाको शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाललाई गैँडाको देश भनेर चिनाउन आवश्यक रहेको बताए । उनले गैँडाको संरक्षण गरेर नेपाललाई गैँडाको देशका रुपमा परिचित गराउन आवश्यक रहेकामा जोड दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

चारी–शिकारी हुने क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको भन्दै उनले चोरी–शिकारीमा संलग्नलाई कडा कारवाही गर्न निकुञ्ज कर्मचारीहरुलाई निर्देशन दिए । मन्त्री आलेले भने, “विभिन्न तस्करहरुबाट खागका लागि गैँडा मारिने गरेको छ । यस्ता नाकाहरुमा कडाइ गर्दै जानुपर्छ ।” पहिराका कारण गैँडा विस्थापित हुने खतरा बढेको उनको भनाइ छ । संरक्षणमा देखिएका समस्याहरुलाई न्यूनीकरण गर्दै जानुपर्ने उनले बताए । मन्त्री आलेले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकहरु पनि गैँडा हेर्नकै लागि नेपाल आउने गरेको दाबी गरे ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सन् २०१५ को गणनायता १६१ गैँडा मृतावस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृतावस्थामा भेटिएका गैँडामध्ये १५५ गैँडा प्राकृतिक कारण र छ वटा गैँडा चोरी–शिकारीका कारण मरेका थिए । सोही समयमा चोरी–शिकारीमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ । बरालका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै निकुञ्जमा २६ गैँडा मरेका छन् । यसमध्ये चारवटा चोरी–शिकारीले मारेको उनले बताए ।

गणनाका लागि चितवनमा ४२, बर्दियामा नौ र शुक्लाफाँटामा पाँच गरी ५६ हात्ती र चितवनमा २००, बर्दियामा ६० र शुक्लाफाँटामा ४० जना गणक परिचालन भएका छन् । व्यवस्थापन सहयोग एवं हात्तीसारका कर्मचारी छुट्टै परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् ।

कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारीहरु खटिएका छन् । दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्नेछ । गैँडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदैछ । चैत्र २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतीजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।

हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । तथ्याङ्क अनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्