जङ्गली हात्तीको आतङ्क

सिंहदरबार संवाददाता
२०७७ चैत्र १६, सोमबार १४:१२

झापा । विगत आठ दिनदेखि मकैबारीमा बसेर नोक्सान गरिरहेका सात जङ्गली हात्तीका कारण झापा गाउँपालिका–५ का बासिन्दा आतङ्कित भएका छन् ।
मकै जोन क्षेत्रका रुपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतङ्कित भएका हुन् । डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारी बीचमा सातवटा हात्ती बसेकाले लखेट्न समस्या भइरहेको बताए । मास्केले स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले नजिकै रहेको जलथल जङ्गलतिर लखेट्न खोजिरहेको जानकारी दिए ।

साइरनसहितको गाडी लिएर गए पनि हात्ती रहेको स्थानसम्म पुग्ने बाटो नभएको हुँदा थप किसानको मकै नष्ट गरिरहेको बताए । “पट्टेर मकैघारी छ, ज्यान जोखिममा राखेर हात्ती रहेको स्थानसम्म पुग्न सकिदैन”, मास्केले भने, “बस्तीमा पसेर जनको क्षति नहोस् भनेर पहल गरिरहेका छौं ।” प्रायः दैनिक वनका कर्मचारी हात्ती रहेको स्थानसम्म पुग्ने र फर्किने काम भइरहेको मास्केको भनाइ छ ।

गाउँपालिका अध्यक्ष जयनारायण साहले हालसम्म सुत्ला च्यापिसकेको अनुमानित ३० बिघा बढीको मकै हात्तीले क्षति गरिसकेको बताए । थप क्षति हुने काम भइरहेको छ । सो क्षेत्रमा एक हजार हेक्टर भन्दा बढी क्षेत्रमा किसानले मकैखेती गरेको मास्केले बताए ।

मास्केले हालसम्म कति किसानले लगाएको मकै नष्ट भयो भनेर विवरण सङ्कलन गर्न नसकिएको बताए । एक हप्तादेखि बसेका हात्ती लखेट्न नसक्दा क्षतिको विवरण यकिन गर्न नसकिएको मास्केको भनाइ छ । मास्केले डिभिजन वन कार्यालय, प्रहरी र गाउँपालिका स्वयम् हात्ती खेद्न लागि परे पनि नसकिरहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्