दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सिंहदरबार संवाददाता
२०८० भाद्र २१, बिहीबार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार साढे ६ अंक घटेर बन्द भएको नेप्सेले बिहिबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.९२ अंक घटेर १९३२.४५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक घटेर बन्द भएको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे ७९ करोडको सेयर कारोबार भएको बजारमा यस दिन भने २७६ कम्पनीको ३२ हजार १३९ पटकको कारोबारमा १ अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको ३७ लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि एक कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शुभम पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ७.४६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ६ करोड १५ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको ४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक २.०४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्