सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओ भदौ २८ गते बिहीबार बाँडफाँट हुने भएको छ। एनआइएमबी एस क्यापिटलका अनुसार कम्पनीको आइपीओ बिहीबार दिउसो २ बजे बाँडफाँट हुने भएको हो।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म माग भन्दा १.८६ गुणा बढी आवेदन परेको छ । उक्त इन्स्योरेन्सले भदौ १५ गते आइतबारदेखि निष्काशन गरेको आईपीओमा १५ लाख १० हजार ६९३ भन्दा बढीको आवेदन परेको हो । इन्स्योरेन्सको आईपीओ भर्नेमध्ये ६ लाख भन्दा धेरैको हात खाली हुने भएको छ।
इन्स्योरेन्सले ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । जसमा एक करोड ६७ लाख ९० हजार १८० कित्ताका लगि आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले जनाएको छ ।
कम्पनीको प्राथमिक सेयरमा १५ लाख १० हजार ६९३ आवेदकले सेयर खरिदको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२० रुपैयाँ सङ्कलन भएको छ।
इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको थियो।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।
त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।
यसरी, इन्स्योरेन्सले बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको थियो।