जनशक्ति नहुँदा बाली भित्राउन समस्या

सिंहदरबार संवाददाता
२०८० कार्तिक १९, आईतवार १२:४१

ढोरपाटन । यति बेला खेतभरीमा धान झुलेका छन् । बारीभरी कोदो फलेका छन् । गाउँघरमा पहिलेको जस्तो चहलपहल नहुँदा अर्मपर्म गर्ने जनशक्ति अभावले बाली भित्राउन समस्या भइरहेको छ ।

कामको निकै चटारो हुने यो समय कामदार पाउन मुस्किल छ । धेरैको रोजाइ विदेश र सहरबजार बनेपछि हिजोआज बाली लगाउन र स्याहार्न किसानलाई हम्मेहम्मे पर्छ । बागलुङका ग्रामीण क्षेत्रमा पछिल्लो आधा दशकयता विदेश जानेको सङ्ख्या बढ्दै गएपछि खेतबारीमा काम गर्ने पाइन मुस्किलपर्ने गरेको स्थानीयवासी रनबहादुर क्षेत्रीले बताए। उनका अनुसार कुनै बेला युवाले गाउँ भरिने गरेकामा आजभोलि सुनसान जस्तै बन्दै गएका छन् ।

धान र कोदो भित्र्याउने यो समयमा कामदारको अभाव भएको छ । काम गर्न मान्छे थोरै हुँदा समयमै बाली स्याहार्न नपाएको किसानको गुनासो छ । जिल्लाको गलकोट नगरपालिकामा अझ बढी कामदार नपाइने समस्या छ । यहाँका प्रत्येक घरका कम्तीमा एकजना सदस्य जापान, कोरिया, अमेरिकालगायत देशमा रोजगारका लागि पुगेका छन् । गाउँमा भएका खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।

पहिले गाउँमा वरपरका छिमेकीसँग काम गर्दा रमाइलोसँगै समयमै बाली भित्र्याउने गरेको भन्दै अहिले काम गर्ने मान्छे नपाइँदा ढिला हुने गरेको क्षेत्रीले बताए। आजभोलि पहिलेको भन्दा निकै कम क्षेत्रमा खेती हुने गरेको सुनाउँदै उनले गाउँमा मान्छे कम हुँदै गएपछि उत्पादन पनि घट्दै गएको बताए।

एकदशक अगाडिसम्म गैरी खेत र पाखोबारी सबैमा खेती हुने गरे पनि अहिले पाखाबारी सबै झाडीमा परिणत हुँदै गएका क्षेत्रीको भनाइ थियो । यही गतिमा गाउँ छाड्नेको सङ्ख्या बढ्दै गए अबको केही वर्षमा गाउँ रित्तै हुने र खेतबारीमा वनमारा पलाउने उनले बताए। सरकारले युवालाई गाउँमै रोक्न सके उत्पादन वृद्धि हुने र आत्मनिर्भर बन्न सकिने उनले बताए।

“आजभोलिका युवा १५–१६ वर्षमै विदेश जाने सपना देख्छन् र सहरबजार तथा विदेश जान्छन् । गाउँ त रित्तो हुन थालेका छन्”, क्षेत्रीले भने, “पहिले गाउँमा धेरै मान्छे हुन्थे । असोज÷कात्तिक लाग्ने वित्तिकै धान, कोदो भित्र्याउन, बारीको खर काटेर ल्याउने गरिन्थ्यो । बारीमा उत्पादन भएको बालीले वर्षभरी खान पुग्थ्यो ।”

स्थानीय प्रेमबहादुर पुनले काम गर्ने मान्छे घट्दै गएपछि आफूले थोरै खेतबारीमा मात्रै खेती गरिरहेको बताए। पहिले एकै परिवारमा १० जनासम्म काम गर्ने हुने गरेको स्मरण गर्दै उनले अचेल गाउँभरी पनि दश जना काम गर्ने मान्छे नपाइने बताए।

गाउँमा कोहीलाई साह्रो गाह्रो पर्‍यो भने उद्धार गर्ने मान्छेसमेत नहुने स्थिति आउन थालेको पुनले बताए। गाउँमा थुप्रै सम्भावना हुँदाहुँदै पनि बढी महत्वकांक्षी हुँदा युवा विदेश छिरेको उनको भनाइ थियो ।

“हाम्रो सुनसान बन्दै गएपछि काम गर्ने मान्छे पाइन छोड्यो । दसौँ वर्ष पहिले सयौँ मुरी धान फल्ने खेतमा अहिले धौधौले २० मुरी फलाउन सकिदैन”, पुनले भने, “खेती गर्ने ठाउँ घट्यो । मान्छेहरु पनि बसाइँसराइ गरी बजार झरे । धेरै युवाहरु विदेश गए । अहिले गाउँमा बुढाबुढी र केटाकेटी मात्रै छन्।”

प्रतिक्रिया दिनुहोस्