सेबोन अध्यक्षमा १२ जनाको आवेदन, यी हुन् आकांक्षी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदमा १२ जनाले आवेदन दिएका छन् । बोर्ड कार्यकारी निर्देशक  निरज गिरीसहित दर्जन जनाले आकांक्षा देखाएका हुन् । बोर्ड अध्यक्षका लागि बोर्डकै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले पनि आवेदन दिएका छन् । बोर्डका पूर्व कर्मचारी डा. जीवन अमगाईं पनि अध्यक्ष बन्ने दौडमा लागेका हुन् । यसैगरी बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्व प्रमुख कृष्ण आचार्य पनि अध्यक्ष बन्न आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिनसम्म नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ डा. गोपाल भट्ट, रमेश हमाल, सहरी विकास कोषको उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा लामिछाने, डा. केशव श्रेष्ठ र हेमन्त बस्यालले बोर्ड अध्यक्ष पदका लागि आवेदन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वमा रहेको छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।