Shikhar Insurance

बजेट नहुँदा महाकाली नदीमा पुल निर्माण ठप्प

सिंहदरबार संवाददाता
२०८० मंसिर १४, बिहीबार १४:३४
NIMB
Nabil Bank

कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण बजेट अभावले ठप्प भएको छ । पुल निमार्णका लागि पर्याप्त बजेट नआउँदा चार महिनादेखि पुल निमार्ण बन्द भएको हो ।

निर्माण कम्पनीले गत आर्थिक वर्षकै रु २२ करोडभन्दा बढी रकम पाउन बाँकी छ । तर चालु आवमा पुल निर्माणका लागि रु १८ करोड मात्रै बजेट आएको र यसले गत वर्षकै भुक्तानी गर्न नपुग्ने भएपछि पुल निमार्ण बन्द भएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका सव–इञ्जिनियर दुर्गादत्त अवस्थीले जानकारी दिए । “गतवर्ष पनि बजेट अभावकै कारण निर्माण व्यवसायीले भुक्तानी पाएका छैनन”, अवस्थीले भने, “चालु आवमा आएको बजेटले निर्माण व्यवसायीलाई तिर्न पुग्दैन ।”

Citizen Life
Kumar Bank

अवस्थीले बजेट थपका लागि विभाग र मन्त्रालयमा माग गरेको बताए । “बजेट आएन भने अहिले बनेका संरचनासमेत जीर्ण हुँदै जाने अवस्था आउँछ”, उनले भने, “निर्माण लम्बियो भने राज्यलाई आर्थिक भार पर्छ ।” पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ । तर पुलसँगै बन्ने अन्य संरचनाका लागि पर्याप्त बजेट विनियोजिन नहुँदा निर्माण व्यवसायीले काम गर्नसक्ने अवस्था नरहेको जनाएको छ ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इञ्जिनियर किशोर पाण्डेयले काम गरेको पैसा नै भुक्तानी नहुँदा थप काम गर्न समस्या भएको बताए। “पुल निर्माण सम्पन्न भएर आवागमन भइरहेको छ पुलसँगै बन्ने पहुँचमार्ग र पुलको दुवैतर्फ पोखरी निर्माण सकिएको छैन”, पाण्डेयले भने । विसं २०७४ भदौमा ठेक्का सम्झौता भएर काम सुरु भएको पुल निमार्ण २०७७ भदौमा सम्पन्न गर्ने भनिए पनि काम सम्पन्न नहुँदा म्याद थप गरिएको थियो । विसं २०८० चैतभित्र सबै काम सम्पन्न गर्नुपर्ने भए पनि बजेट अभावका कारण आयोजनाको कामपछि धकेलिँदै गएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्