Shikhar Insurance

‘कमाएर खाने जग्गाको अधिकार नहुँदा मन दुख्छ’

सिंहदरबार संवाददाता
२०८० मंसिर १८, सोमबार १७:०३
NIMB
Nabil Bank

चितवन । बेलका नगरपालिका १ आम्बासीकी बालकुमारी प्रधानले कमाउँदै आएको जग्गाको जग्गा धनी पूर्जा पाउने आश गरेको धेरै समय बित्यो । राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन उदयपुरबाट चितवन आएकी उनी पूर्जा पाउने आशमा मञ्चका विभिन्न आन्दोलनमा सहभागी हुँदै आएकी छिन् ।

जन्मघरदेखि कर्मघरसम्म भूमिहीन भएका कारण आन्दोलनमा उत्रिनु परेको प्रधानले बताइन । राज्यले आफुहरुलाई जग्गा धनी पूर्जा दिन्छ भन्ने आश मर्न थालेको उनको भनाइ थियो । “पाउने आश भए त ढुक्कसँग घरमा नै बसिन्थ्यो । राजनीतिक खिचातानीका कारण सम्भावना निकै कम भएकाले विभिन्न भूमि अधिकारको कार्यक्रममा हिँड्नु परेको छ । पूर्जा पाउने पूरै आश भने मारेको छैन ” उनले भनीन् ।

Citizen Life
Kumar Bank

आफूसँगै गाउँमा पाँच सय घर सुकुम्बासी रहेको प्रधानले जानकारी दिइन । आँफूले चार कठ्ठा जग्गा कमाएर खाँदै आएको भन्दै त्यसको अधिकार आँफूसँग नहुँदा मन दुखेर खिन्न लाग्ने गरेको उनको भनाइ छ । “आँफु त जन्मेदेखि मर्ने बेलासम्म भूमिहीन भइयो आउने पुस्तामा यस्तो नहोस् भन्ने लाग्छ ।”

यस्तै पीडा छ बर्दियाको बडैयाताल गाउँपालिका ६ मैनापोखरका केशबहादुर विकको । तीन पुस्तादेखि मैनापोखर बस्दै आएका उनी अहिले पनि भूमिहीन छन् । बाजेले कमाएको जमिन भाग लगाउँदै गर्दा आफ्नो भागमा १५ धुर घडेरी मात्रै परेको बताउने विकले अहिलेसम्म पनि आफ्नो नाममा पूर्जा नहुँदा निकै पीडा हुने गरेको दुखेसो पोखे ।

विकले भने, “आयोगले नापजाँच गर्छ तर पछि वन र खोलाको क्षेत्र भनेर हामीलाई दिँदैन ।” आफ्नो १३ जनाको परिवार यही जग्गाबाट उब्जेको अन्नबाट जीविकोपार्जन गरिरहेको बताउँदै उनले बडैयाताल ६ मा १४ घरधुरी आँफूजस्तै भूमिहीन परिवार रहेको जानकारी दिए ।

वर्षौैदेखि कमाएको जमिनको पूर्जा पाउनुपर्छ भन्ने माग उनीहरुको रहेको छ । भूमि अधिकार सम्बन्धी कुनै कार्यक्रम हुँदा पूर्जा पाउने झिनो आशमा आएका छन् ।

आँफु बस्दै आएको जमिन बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रका परेपछि विसं २०४२ मा बर्दियाकै गुलरिया नगरपालिका १ कमलपुरमा पुगेका मनबहादुर सुनार आँफूले कमाउँदै आएको जग्गा अर्काले मेरो हो भनेर दाबी गरेपछि थप पीडामा छन् ।

सुनारसंगै आएका अन्यले जग्गा धनी प्रमाण पूर्जाको प्रक्रियामा रहदा आँफु भने अहिलेसम्म पनि अलमल परेको सुनारले गुनासो गरे । “सबैले आ–आफ्नो जग्गा भनेर अधिकार जमाएका छन् । मैले कमाएको जग्गा अर्कैको नाममा छ भनेर समयसमयमा दुःख दिन आउँछन् । भूमिहीन त छदैछु त्यसमाथि पनि थप पीडा भइरहेको छ ” उनले भने ।

त्यसैगरी धनुसाका कण्ठा दमाइँ ९(च्छाराम परियार) विसं २०४२ देखि मिथिला नगरपालिका १० लालगढमा बस्दै आउका छन् । आफ्नो श्रम बेचेर घरपरिवार चलाउँदै आएका उनी दुई कठ्ठा जग्गामा बसोबास गर्दै आउका छन् । परिवार चलाउनसमेत मिहेनत गर्नुपर्ने भन्दै उनले पूर्जा पाउने आशमा आफ्नो जिन्दगी सकिएको बताए ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले स्थानीय तहसँग समन्वय गरेर भूमिहीनका लागि जग्गा पूर्जा वितरण गर्ने काम भइरहेको बताए । विभिन्न ऐन र कानुनका कारण भूमिहीन किसानलाई पूर्जा वितरण गर्न समस्या भएको भन्दै यसको दीर्घकालीन समाधान हुने गरी आयोगले काम गर्दै आएको उनको भनाइ छ ।

निरौलाका अनुसार १३ लाख ५० हजारले फर्म भरेकामा १० लाखको मात्र दर्ता भएको छ । दुई लाख २१ हजारको किस्ताकाट भइसकेको भन्दै हालसम्म पाँच हजारले मात्र जग्गाधनी पूर्जा पाएका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्