Shikhar Insurance

एलआईसी नेपालको ८८ प्रतिशत हकप्रद सेयर रोक्दै बीमा प्राधिकरण

सिंहदरबार संवाददाता
२०८० मंसिर २१, बिहीबार १८:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एलआईसी नेपालको हकप्रद सेयर रोक्ने चेतावनी दिएको छ । मंसिर १५ गते बसेको प्राधिकरण सञ्चालक समितिले एलआईसी नेपाललाई हकप्रद सेयर रोक्ने चेतावनीसहित ३ दिने स्पष्टीकरण सोधेको हो ।

हकप्रद सेयर जारी गर्ने अनुमति पाएको ६ महिनासम्म पनि जारी नगरेको भन्दै प्राधिकरणले त्यस्तो हकप्रद जारी गर्न दिने सम्बन्धी आफ्नो अनुमति किन फिर्ता नलिने भन्दै स्पष्टीकरण सोधेको हो ।
एलआईसी नेपालले २०७९ पुस ८ गतेको बैठकबाट चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । त्यतिबेला पनि प्राधिकरणको स्वीकृति नलिई हकप्रद सेयर जारी निर्णय गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको २०७९ माघ ३ गतेको बिशेष साधारण सभाले हकप्रद सेयर जारी गर्ने निर्णय पनि पास गरिसकेको छ । कम्पनीलाई बीमा प्राधिकरणले २०८० असार १५ गते हकप्रद सेयर जारी गर्ने स्वीकृति प्रदान गरेको थियो । तर अनुमति पाएको पाँच महिनासम्म पनि हकप्रद सेयर जारी नगरि बसेको भन्दै प्राधिकरणले त्यस्तो हकप्रद सेयर जारी गर्न दिएको स्वीकृति किन फिर्ता नलिने ? भन्दै ३ दिने स्पष्टीकरण सोधेको हो ।

साधारण सभाबाट पास गरि बीमा प्राधिकरणबाट असार १५ गते नै स्वीकृत पाएको कम्पनीले साढे ३ महिनापछि अर्थात २०८० असोज २९ गते मात्रै नेपाल धितोपत्र बोर्डमा अनुमातिका लागि आवेदन दिएको थियो । आफ्नै साधारण सभाबाट पास गरिसकेको, बीमा प्राधिकरणबाट पनि स्वीकृति लिएर पनि साढे तीन महिनापछि मात्रै धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिनु कम्पनीको बदनियत रहेको आरोप छ । धितोपत्र बोर्डमा असोज २९ गते आवेदन दिएको कम्पनीले त्यसपछि स्वीकृतिका लागि कुनै पहल गरेको छैन् । हकप्रद सेयर जारी गर्ने निर्णय गराएर लामो समयसम्म प्रक्रिया टुंगोमा नपुर्याई सेयर बजारमा इन्साइडर गरेको हुन सक्ने आशंका पनि उत्पन्न भएको छ ।

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । सो पुँजीको ८८.४५१६८ प्रतिशतले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम(एलआईसी)को ५५ प्रतिशत, बिशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्