Shikhar Insurance

संसदीय समितिको निर्देशन कार्यान्वयनमा सेनाको अटेर, प्याकेज दुईको ठेक्का पोली चाङ्दालाई

सिंहदरबार संवाददाता
२०७८ बैशाख १२, आईतवार १८:५७
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्टट्रयाक) को ठेक्का रद्द गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन पालना गर्न सेनाले अटेर गरेको छ । सुरूङ निर्माणको दोस्रो प्याकेज ठेक्का रद्द गर्न दिइएको निर्देशन नेपाली सेनाले अटेर गरी पोलि चाङ्दालाई ठेक्का दिने काम अघि बढाएको हो ।

समितिले पूर्वयोग्यता मूल्यांकनबाट वोलकबोलका लागि एउटामात्र कम्पनी छनोट भएको प्याकेजको ठेक्का प्रक्रिया रद्द गरी पुनः नयाँ प्रक्रिया सुरु गर्न निर्देशन दिएको थियो । सो निर्णय विपरित सेनाले आइतबार पोलि चाङ्दालाई निर्माणको जिम्मा दिने गरी आशयपत्र माग गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

छनोटमा एउटा कम्पनीमात्र योग्य भएपछि बिना प्रतिस्पर्धा ठेक्काको जिम्मा दिँदा आर्थिक चलखेल हुने भन्दै पूर्वयोग्यता मूल्यांकनदेखिको प्रक्रिया पुनः सुरू गर्ने निर्देशन दिएको थियो ।

पोलि चाङ्दा २० करोड ८५ लाख ७६ हजार (२५ अर्ब ९ करोड रूपैयाँ ) अमेरिकी डलरमा प्याकजको काम सक्ने गरी छनोट भएको छ ।

द्रुतमार्गअन्तर्गतको सुरूङ र विशेष प्रक्रितिको पुल निर्माणको दुईवटा प्याकेजमध्ये पहिलो प्याकेजमा दुईवटा र दोस्रो प्याकेजमा एउटा कम्पनीमात्र काम गर्न योग्य पाइएको हो । दुवै प्याकेज गरी कुल ४२ निर्माण व्यवसाय ठेक्का प्रक्रियामा सहभागी थिए । जसमध्ये पहिलोमा पोलि चाङ्दा र चाइना स्टेट इन्जिनियरिङ र दोस्रोमा पोली चाङ्दामात्र बोलपत्र आह्वानका लागि योग्य पाइएको थियो ।

पहिलो प्याकेज निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको छ । सो कम्पनीले १५ करोड ६१ लाख ४२ हजार अमेरिकी डलर (१८ अर्ब ७८ करोड रूपैयाँ) मा निर्माण सक्नेछ । चाइना स्टेटले पोलि चाङ्दाभन्दा कम बिड गरेको हो । पोलि चाङ्दा पहिलो प्याकेजका लागि पनि योग्य ठहरिएको थियो ।

पूर्वयोग्यता निर्धारणको बोलपत्र भएको, सो बोलपत्रमा २०/२१ वटा अन्तर्राष्ट्रिय कम्पनीको दरखास्त परेको देखिएको हो ।

कूल ७२.५ किलोमिटर लम्बाइको उक्त सडक आव २०८०/०८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । चालु आवको सरकारको नीति तथा कार्यक्रममा पनि काठमाडौं–तराई/मधेश द्रुत मार्ग तीन वर्षमा सक्ने उल्लेख छ । वि.सं. २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको सो आयोजना २०७४ साउन २७ गते नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा आधारित रहेर नेपाली सेनाले समष्टिगत विस्तृत कार्य योजना र आयोजना कार्यान्वयन तालिकाअनुसार नै द्रुत गतिमा निर्माण भइरहेको छ । आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न विभिन्न ११ क्लष्टरमा विभाजन गरी धमाधम निर्माण कार्य भइरहेको छ । प्रत्येक क्लष्टरमा सात/आठ किलोमिटर भाग छुट्ट्याइएको छ । उक्त सडक खण्डमा तीन वटा सुरुङ र ८० मिटर उचाइका ८७ पुल हुनेछन् । तराईमा २७ मिटर र पहाडमा २५ मिटर फराकिला सडक निर्माण हुनेछन् ।

सेनाले ट्विन डबल लेन स्टाण्डर्डको सुरुङमार्ग, पुल र द्रूतमार्ग निर्माणका लागि छनोट गरेको हो । सेनाले तीनवटा सुरुङमार्ग निर्माणका लागि दुई प्याकेजमा पूर्वयोग्यता निर्धारणका लागि बोलपत्र आह्वान गरेको थियो ।

पहिलो प्याकेजमा छोक्रेडाँडादेखि महादेव खोल्सी ३.३ किमी सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । दोस्रो प्याकेजमा धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुईवटा सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ । यी तीनवटै सुरुङमार्ग मकवानपुर जिल्लामा बन्नेछन् । सुरुङमार्गहरुको कुल लम्बाई ६.४१५ किलोमिटर हुनेछ ।

दुई लेनको स्ट्याण्डर्डको एक्सप्रेस वे हुने यो सुरुङमार्गको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलबाट गर्न लागिएको हो। जसमा परियोजनाको योजना, डिजाइन, इन्जिनियरिङ्ग, निर्माण र सञ्चालनको काम निर्माण कम्पनी आफैंले गर्नुपर्नेछ ।

७२.५ किमी लम्बाइको द्रुतमार्गमा अहिले सडक बनाउने काम भइरहेको छ । ललितपुरको खोकनाबाट सुरु हुने सडक बाराको निजगढमा पुगेर टुंगिनेछ । पुल र सुरुङमार्गको ठेक्कासमेत भएको छैन । आर्थिक वर्ष २०८०–८१ मा निर्माण सक्ने भनिए पनि पुल र सुरुङ निर्माणको काम सुरु नै नभएकाले तोकिएकै समयमा नसकिने निश्चितप्रायः छ । यो सडकमा कुल १०.५९ किमि पुल बनाइनेछ । निर्माण हुने ८७ पुलमध्ये १६ वटा अत्याधुनिक पुल हुनेछन् ।

द्रुतमार्गमा ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम भइरहेको छ । २०७४/७५ मा २० र २०७५/०७६ मा १० वटा ठेक्का गरिएको हो । यसमध्ये पाँच प्याकेजमा सेना आफैंले काम गरिरहेको छ । मख्खुबेंसी, सिस्नेरी, लेनडाँडा, बुदुने र निजगढमा सेनाले काम आफ्नै जनशक्तिमा काम गरिरहेको छ । चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुरमा पर्छ । त्यस्तै काठमाडौं ४ किमि, ललितपुर ७.९ र बारामा ७.६ किमि छ । द्रुतमार्गको सुरु लागत अनुमान १ खर्ब ११ अर्ब रुपैयाँ रहेकामा संशोधित अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्