Shikhar Insurance

संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको बहुआयामिक सङ्ग्रहालय अलपत्र

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १४:३७
NIMB
Nabil Bank

झापा । हराउँदै गएका कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका भरमा नाम मात्रको सङ्ग्रहालय बनाइएका कारण परियोजना अलपत्र परेको आदिवासी जनजाति अगुवाहरुको दाबी छ ।

मेचीनगरका आदिवासी जनजातिले पहिचानका लागि विगत दुई दशकदेखि सङ्ग्रहालयको माग गरेका थिए । जहाँ उनीहरुको परम्परागत कला, मौलिक संस्कृति, वेषभूषा र वाद्यवादनको जगेर्ना हुन सकोस् । मेचीनगर नगरपालिकाले २०७५ सालमा आदिबासी जनजातिहरुको सङ्ग्रहालय बनाउने योजना अघि सा¥यो । विस्तृत परियोजना प्रस्ताव (डीपीआर) मा बहुजातीय सांस्कृतिक सङ्ग्रहालय बनाउने गरी विभिन्न भौतिक संरचनाको लागत अनुमान समेत नगरपालिकाले गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

मेचीनगर–११ मा स्थानीय बलभद्र माध्यमिक विद्यालयको तीन बिगाहा जग्गा भाडामा लिएर २०७८ सालमा ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’को विभिन्न संरचना निर्माण भयो । सञ्चालनमा चासो नदेखाउँदा नगरको करोडौं लगानीमा बनेका सङ्ग्रहालयका संरचनाहरु अहिले प्रयोगविहीन बनेका छन् । मेचीनगर नगरपालिकाको योजना शाखाले जनाए अनुसार सङ्ग्रहालयको निर्माण कार्य तीन चरणमा सम्पन्न भइसकेको छ । पहिलो चरणमा सङ्ग्रहालय परिसरको पक्की घेराबेरा भएको थियो । दोस्रो चरणमा स्वागतद्वार, सार्वजनिक शौचालय, टिकट घर र पहुँच मार्गको निर्माण भयो । तेस्रो चरणमा पाँच वटा ठूलो हलसहितको भवन निर्माण भएका थिए ।

खनाल निर्माण सेवा मेचीनगर र ब्लूस्टार कन्स्ट्रक्सन प्रालि काठमाडौंले ठेक्कामा ती संरचनाहरु निर्माण गरेका हुन् । लागत अनुमानभन्दा निकै कम रकममा ठेक्का लगाइएका ती भौतिक संरचनाको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ । स्रोतका अनुसार पाँच वटा भवन निर्माणका लागि ६८ लाख ५० हजार ९१८ को लागत तयार पारिएकामा खनाल निर्माण सेवाले ४ लाख ७६ हजार ७३० मा उक्त ठेक्का लिएको थियो ।

त्यसैगरी सङ्ग्रहालयको पहुँच मार्ग, स्वागतद्वार, शौचालय र टिकट काउन्टर निर्माणको ९१ लाख ८१ हजार १३५ लागत अनुमान गरिएकामा ब्लूस्टार कन्स्ट्रक्सन प्रालिले ७८ लाख ८४ हजार ६३९ मा उक्त ठेक्का लिएको थियो । मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजबंशीले वार्षिक १ लाख विद्यालयलाई दिने शर्तमा नगरपालिकाले सङ्ग्रहालयका लागि जग्गा भाडामा लिने सम्झौता गरेको बताए । हालसम्म नगरपालिकाले विद्यालयलाई भाडाको रकम उपलब्ध गराएको छैन ।

सङ्ग्रहालयको थप निर्माण कार्य अघि बढाउन र छिटो सञ्चालनमा ल्याउन नगरपालिकाले आवश्यक पहल गरिरहेको अवस्थामा अख्तियारमा सङ्ग्रहालय निर्माणका विषयमा मुद्धा परेको कारण समस्या थपिएको उनको भनाइ छ । नेपालमै मेचीनगरमा मात्र पाइने ‘किसान’ जातिको बसोबास छ । यसबाहेक धिमाल, दनुवार, मेचे, थारू, मुण्डा, सुनुवार, राई, लिम्बु, भोटे, तामाङ, शेर्पा, नेवार, मगर, गुरुङ, भुजेल, राजवंशी, जोगी, ब्राह्मण, क्षेत्री, माझी र कुमाल गरी २२ जातिको बसोबास भएका कारण सङ्ग्रहालयमा २२ वटा भवन बनाएर सबै जातिलाई अलगअलग पहिचान दिलाउने सङ्ग्रहालयको विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ ।

मेचीनगरको आदिवासी जनजातिका अगुवाहरु सङ्ग्रहालय निर्माणमा लक्षित समुदायसँग नगरपालिकाले कुनै परामर्श नगरेको आरोप लगाउँछन् । आदिवासी जनजाति महासङ्घ मेचीनगरका पूर्व अध्यक्ष ओमप्रकाश खापुङ भन्छन्,“कुनकुन जातिका लागि बनाएको हो हामीलाई थाहा भएन । स्थानीय तह बन्नुभन्दाअघिदेखि आदिवासी जनजाति सङ्ग्रहालय बनाउनु पर्छ भनेर आवाज उठेको हो । नगरपालिकाले आफूखुसी नाम फेरेर बहुआयामिक बनाएछ ।”

नगरवासीको करबाट भएको करोडौं लगानी खेर जान नदिन नगरपालिकाले नगरभित्रका सबै जातीय समुदायसँग सल्लाह गर्नुपर्ने खापुङको सुझाव छ । उनले लक्षित समुदायको अपनत्व हुने गरी परियोजना सञ्चालनका विषयमा छलफल गर्न नगरपालिकालाई आग्रह गरे ।

गौचरन बन्यो परिसर

सङ्ग्रहालयका लागि निर्माण गरिएका अधिकांश संरचना बाहिरबाट दुरुस्त देखिएता पनि प्रयोगविहीन हुँदा भित्री रुपमा काम नलाग्ने हुन थालिसकेका छन् । परिसरको स्वागतद्वार आकर्षक छ तर ताला नलगाइएका कारण स्थानीयले परिसरलाई खुला गौचरन बनाएका छन् । दिनभर परिसरभित्र गाईबाख्रा चरिरहेका हुन्छन् ।

पक्की पर्खालमाथि काँडेतार लगाइएको छ । ड्रेनसहितको पहुँचमार्गमा सिमेन्टका ब्लक बिछ्याइएका छन् । प्रयोगमा नआउँदा ब्लकलाई झारपातले छोप्न थालिसकेको छ । परिसर पनि काँसघारी र झाडीले ढाक्न थालिसकेको छ । प्रवेशद्वार नजिकै टिकट काउन्टर र कार्यालयका लागि भवन बनाइएको छ । छेउमै मार्बल र टायल बिछ्याइएको सुविधायुक्त शौचालय भवन छ । त्यसपछि लहरै पाँच वटा उस्तै ढाँचाका हलसहितको पक्की भवन छन् ।

नवनिर्मित कुनै पनि भवनमा बिजुली र पानीको सुविधा छैन । भवनहरु रङरोगन गरेर चिटिक्क पारिएका छन् । ढोकाका अधिकांश चुकुल काम नलाग्ने भएका कारण गाईबाख्राले गोब्राएर फोहोर बनाएका छन् । शौचालयको सेफ्टी ट्याङ्कको ढकन उघारै छाडिएको र गहिरो भौडीमा बर्खाको पानी भरिएको हुँदा दुर्घटनाको जोखिम छ । शौचालयका ढोका पनि प्रयोगमा नआई भत्किन थालेका छन् ।

जनप्रतिनिधिको बेवास्ता

नगरले बनाउने विकास निर्माणका परियोजनाहरु विस्तृत सम्भाब्यता अध्ययन नभई बनाउने गरिएको र सञ्चालनमा नल्याई अलपत्र छाड्ने गरिएको जनप्रतिनिधिमाथि आरोप छ । मेचीनगरमा प्यारीभिट्टा बसपार्क, महिला सीप विकास केन्द्र, युवा स्वरोगार भवन र कोभिड होल्डिङ सेन्टरलगायतका थुप्रै ठूला लगानीका परियोजना निर्माण भएर पनि सञ्चालनमा आउन सकेका छैनन् । काँकडभिट्टा भ्यूटावर(दृश्यावलोकन स्तम्भ)निर्माण थालेर अलपत्र अवस्थामा छ भने नाका प्रवेशमा निर्माण गरिएको आकर्षक स्वागतद्वार एसियाली राजमार्ग निर्माणताका बन्नेबित्तिकै भत्काइयो ।

वडाध्यक्ष रुद्र डाँगीले नगरपालिका आन्तरिक झमेलामा अलमलिएका कारण गौरवका आयोजनामा ध्यान केन्द्रित गर्न नसकेको बताए । उनले भने, “नगरपालिका आन्तरिक झमेलामा फँसेको छ, म वडाकै काममा व्यस्त छु । बजेटको सुनिश्चितता नभएका कारण सङ्ग्रहालय जस्ता धेरै योजना सञ्चालनमा ल्याउन सकिएको छैन । यसलाई अघि बढाउनु पर्छ भन्ने सोचाइ चाहिँ छ ।”

मेचीनगरका निवर्तमान नगरप्रमुख विमल आचार्यले आफ्नो पालामा सुरु भएको सङ्ग्रहालयलाई सञ्चालनमा ल्याउन नयाँ जनप्रतिनिधिहरुले चासो नदेखाएको आरोप लगाए । “नगरभित्रका २२ वटा जातिको पहिचान झल्काउने गरी सांस्कृतिक सङ्ग्रहालय बनाइएको हो । अहिलेका जनप्रतिनिधिलाई बेवास्ता गरेको देख्दा दुःख लाग्छ ।” उनले बताए ।

पर्यटक आउने स्थानीयको आशा

सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकीय चहलपहल बढ्ने स्थानीयको आशा छ । पर्यटक आउँदा व्यापार व्यवसायको माध्यमबाट जीविकोपार्जन सहज हुने उनीहरुको अपेक्षा हो । विद्यालयको नाममा रहेको सङ्ग्रहालयको जग्गामा थुप्रै स्थानीयले खेतीपाती गर्दै आएका थिए । नगरपालिकाले परियोजना अघि बढाउने भएपछि स्थानीय किसानले विद्यालयको जग्गाको भोगचलन सहमतिमा छाडेको स्थानीय कालिका साामुदायिक वन समितिका अध्यक्ष योगेश भट्टराईले बताए ।

उनले कालिका वनको सिमसार पर्यटकीय आकर्षणको केन्द्रमा परिणत भइसकेको हुँदा सङ्ग्रहालय सञ्चालनमा आए त्यहाँ पनि पर्यटकीय चहलपहल छिटै बढ्ने बताए । निर्माण भइसकेका भौतिक संरचनाहरुलाई तत्काल सञ्चालनमा ल्याउन सकिने उनको धारणा छ । मेचीनगरमा मेचे, राजवंशी, धिमाल, किसान, मुण्डा, सन्थाललगायतका आदिबासी समुदायको कला, संस्कृति, पहिरन र बाजा संरक्षण गरेर हाल निर्माण भइसकेका भवनलाई तत्काल प्रयोगमा ल्याउन सकिन्छ ।

सङ्ग्रहालय कुन विधिबाट सञ्चालन कसरी गर्ने भनेर नीतिगत व्यवस्थाका लागि कार्यविधि बनाउन नगरपालिकाले हालसम्म कुनै चासो देखाएको छैन । नगरपालिकाले जुन समुदायको पहिचानका लागि सङ्ग्रहालय निर्माण गरेको हो, त्यही समुदायसँग कुनै छलफल नगरेकोमा मेचीगनरका जनजाति अगुवा ओमप्रकाश खापुङ असन्तोष प्रकट गर्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्