Shikhar Insurance

‘बैंकमा निक्षेप राख्दा, सेयर किन्दा भन्दा बीमा गर्दा धेरै फाइदा छ’

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १४:१९
NIMB
Nabil Bank

अमेरिकाबाट बीमा पढेर फर्किएका पोषकराज पौडेल अहिले जीवन बीमक संघका अध्यक्ष छन् । सिटिजन लाइफ इन्स्योरेक्स कम्पनीको दोश्रो कार्यकाल नेतृत्व गरिरहेका पौडेलसँग इन्स्योरेन्स टकमा गरिएको अन्तरवार्ताको सम्पादित अंश ।

मान्छेले जीवन बीमा किन गर्ने ? सुरक्षाका लागि गर्ने, बचतका लागि गर्ने वा लगानीका लागि गर्ने ? अथवा यिनीहरुको कम्पोजिसन के हुन्छ ?
आफ्नो प्राथमिकताका आधारमा फरक हुन्छ । यो प्रडक्टले सबै कुरा बेनिफिट दिन्छ । हामीले बुझ्दा कसैलाई सुरक्षा आवश्यक होला । कसैलाई लगानी गर्न आवश्यक होला वा कसैलाई बचत होला । यसमा सामाजिक आर्थिक परिवेशले पनि थुप्रै निर्धारण गर्छ । विशेषगरी दक्षिण एसियामा बचत र लगानीलाई फोकस गरेको र प्रडक्ट पनि त्यही बनेको हुन्छ । त्यहीअनुसार काम भएको पनि भेटिन्छ । समाज विकास हुँदै जान्छ । समाजको संरचना पनि परिवर्तन हुँदै जान्छ । पहिले हाम्रो ज्वाइन्ट फेमिली हुन्थ्यो । अहिले न्युक्लियर फेमिली हुन थालेको छ। पहिले समाजले हेथ्र्यो । अहिले आफैँले हेर्नुपर्ने अवस्था छ । यसरी संरचना परिवर्तन हुँदै जाँदा सुरक्षाका लागि अगाडि बढेको र संसारभरि यो विकास भएको हो । तपाइँको आवश्यकता के छ ? त्योअनुसारको यो प्रडक्ट हो । सबै दिने भएकोले यो जीवन बीमा महत्वपूर्ण छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अमेरिका र युरोपमा मान्छेले जे कारणले जीवन बीमाका पोलिसी खरिद गर्छन्, हाम्रो समाजमा फरक छ ?
फरक छ । हामीले आफ्नो पालामा के प्राथमिकतामा छ भन्नका लागि मेरो आवश्यक पूरा गर्नका लागि अझै पनि बीमाका लागि भनेर टेक्ने गरी भन्दा मलाई केही पर्दाखेर मेरो बचत र मेरो घरघडेरी छ र मेरो बाउबाजेले आर्जन गरेको सम्पत्ति छ भन्ने टेकोमा अझै पनि ठूलो समुदाय टेकेको देखिन्छ । त्यो मात्रै होइन, मैले आफूले आर्जन गरेको र मेरा लागि मैले गर्नुपर्छ भन्ने मानसिकता छ । विकसित देशको तपाइँले भन्नुभयो अघि । म १८ वर्ष पुगेपछि आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भनेर एक युवायुवती छुट्टै बसेर आफ्ना लागि आफैँले गरेको समाज चाहिँ पश्चिमी समाज हो। अनि हामी चाहिँ लामो समयदेखि बा–आमाको नजिक बसेर सँगै खर्चहरु शेअर गरेर बा–आमाको खर्चसँग पनि हामी आफैँ जोडिएर लामो समय जाँदाखेरी के भयो भने मलाई पर्दा बा–आमा छन् भन्ने मानसिकता पनि हामीसँग जोडिएर आएको छ । त्यो कारणले पनि के भयो भने पश्चिमा र हाम्रो आवश्यक फरक भएकोले पनि हामी कहाँ एउटै प्रडक्टले सबैतिर एड्रेस गर्दैन । हामीकहाँ बचतवाला प्रडक्ट अथवा लगानीवाला प्रडक्ट सबैभन्दा बढी रुचाइसकेको प्रडक्ट हो ।

बचत र लगानीको कुरा गर्ने हो भने त यहाँभन्दा बैंकमा लगर डिपोजिट गर्दा अलि बढी प्रफिट आउँछ । अहिले त इन्भेस्टमेन्टका अरु टुल्सहरु पनि थुप्रै छन् । किन बीमा पोलिसी किन्ने ? भन्ने प्रश्न पनि आउला नि ?
बचतका लागि त्यो प्रश्न आउँदैन । अनिवार्य बचतले तपाइँलाई जोगाउन सहयोग गर्छ । बचतका थुप्रै टुल्सहरुमध्ये सञ्चय कोष । एउटा नियमित रुपमा कम्पनीले कर्मचारीबाट नियमित रुपमा नकाटिदिँदा उसले खर्च गरेर सक्न सक्छ । एउटा फोर्स सेभिङको टुल पनि हो यो । लगानी रिटर्नका लागि सेभिङमात्रै होइन तपाइँले बैंकमा जम्मा गर्ने एकमुष्ठ सुरुमै जम्मा गर्नुपर्छ र ब्याज आउँछ । यहाँ त तपाइँले त १ लाखका लागि १ लाख नै तिर्नुपर्दैन नि । विस्तारै–विस्तारै जम्मा गर्दै जाने हो । सुरुमा १ लाख वा १ करोड इन्स्योरेन्स गर्नुभा छ भने त्यो १ करोडका आधारमा बोनस दिइन्छ तर तपाइँले १ करोडका लागि पूरै रकम जम्मा गर्नुपर्दैन। यो त युनिक प्रडक्ट हो । त्यसको बन्डल गरेको प्रडक्ट चाहिँ इन्स्योरेन्स हो। लाइफ इन्स्योरेन्स हो । त्यो कारणले पनि हामी के भन्छौँ भने सबै लगानी क्षेत्रलाई एउटै बास्केटमा नराख्नका लागि पनि यो एउटा लगानीको फरक बास्केट हो ।

मान्छे कुन उमेर पुगेपछि वा आम्दानीको कुन हैसियतमा पुगेपछि ऊ तपाइँहरुको राडारमा पर्छ ?
जब उसले आम्दानी गर्न थाल्छ । म आफूमात्रै होइन आफ्नो परिवारलाई पनि हेर्नुपर्ने अवस्थामा जब ऊ अगाडि बढ्दै जिम्मेवारीबोध गर्दै जान्छ नि ऊ त्यो प्वाइन्ट पुग्छ तब हामीले उसलाई इन्स्योरेन्स प्रडक्ट लिनुपर्छ भन्ने लाइनमा ओरेन्टेसन गर्छौं । सुरुमा त आम्दानी गर्न थालेपछि । हाम्रो समुदायमा के छ भने इन्स्योरेन्स केका लागि ? भनेर बुझाउन चाहिँ आफ्ना लागि वा आफूभन्दा पछिको वा आफू नहुँदाका लागि भन्ने बढी गफ गरिन्छ। तर, होइन । म रहँदा नै मलाई औषधिउपचार पर्यो । हामी कहाँ दुईवटा बेनिफिटको कुरा गर्छौं । एउटा लिभिङ बेनिफिट र अर्को डेथ बेनिफिट। हामीकहाँ डेट बेनिफिटको कुरा बढी हुन्छ। डेथ भएपछि यो बेनिफिट पाइन्छ भन्ने कुरामा बढी छलफल हुन्छ । पश्चिमाहरु लिभिङ बेनिफिटमा आइसके । हामी चाहिँ अझै डेथ बेनिफिटको छलफल गर्छौं । मलाई तलमाथि हुँदा म आफैँलाई उपचार खर्च, म हिँड्दाहिँड्नै पनि म अशक्त हुँदा पनि मेरो परिवारलाई असर भयो भने त मलाई पनि फाइनान्सियल सपोर्ट चाहियो। त्यो बेलामा ब्याकअप दिने प्रडक्टहरुबारे वा लिभिङ बेनिफिट दिने प्रडक्टको मार्केट क्रिएट गर्ने र एउटा निड पनि हो । र, लिभिङ बेनिफिट चाहिँ पहिलो तलब पाउन थाल्दादेखि उसलाई चाहियो नि त । आजभोलि हामी कहाँ एउटा भर्खर उमेरका मान्छे किड्नी फेल भयो, हर्टअट्याक भएको ३०–४० वर्षमै हर्टअट्याक भएका थुप्रै केस आउँछन् । हो, अब उमेर समूह भन्ने भएन। जुनसुकै उमेरमा हुने भएकोले मैले पहिलो तलब बुझेँ र मलाई चाहिँ यो–यो चिज चाहिन्छ । मलाई लिभिङ बेनिफिट चाहिन्छ । मलाई केही हुँदाखेर मेरो सामाजिक दायित्वहरुमा आर्थिक दायित्वहरु आउँछ । त्यसका लागि चाहिन्छ । र, अन्य हिसाबले म बूढा हुँदा सोसल सेक्युरिटी त हामीकहाँ छैन। त्यो बेलामा चाहिँ मलाई आफ्नो पालामा जम्मा गरिन भने मलाई त्यो बेलामा के हुन्छ ? पेन्सनजस्ता प्रडक्टहरु चाहिन्छ । हो त्यो सबै कुराले गर्दा उमेरमै आफूले सुरुमै गर्ने हो ।

यसलाई यसरी भनौँ । एउटा मान्छे अहिले जुन स्ट्यान्डर्डमा बाँचिरहेको छ, कथमकदाचित घट्ने घटनाहरुका कारणले त्योभन्दा लो रेन्ज जीवनशैली जिउन पर्ने बाध्यतात्मक परिस्थितिबाट इन्स्योरेन्सले जोगाउँछ ?
उसको फाइनान्सियल्ली ब्याकअप अर्थात फाइनान्सियल्ली निड हुन्छ नि । जुन अहिलेको कन्डिसनभन्दा फाइनान्सियल्ली तल नहोस् भन्नाका लागि ब्याकअप दिन्छ ।

तर, हुन चाहिँ पैसा हुनेहरुका लागि रहेछ ?
पैसा नहुनेका लागि पनि हो ।
कसरी ?
पैसा सबैभन्दा नहुने हुँदैन । थोरै हुने र धेरै हुनेमात्र हो । सबैसँग पैसा हुन्छ । र, उसले थोरै हुन्छ भने त्यही थोरै पैसाले नै पुग्छ । एउटा दैनिक ज्यालादारी गर्ने मान्छेले पनि आजभोलि एभरेजमा १५ सय वा २ हजार रुपैयाँ ज्याला लगभग पुगेको सुनिन्छ । १५ सय वा २ हजार रुपैयाँ मन्थली प्याकेज अर्थात एक दिनको पैसामात्रै जोगायो भने पनि उसले राम्रै इन्स्योरेन्स गर्न सक्छ । १–२ लाखको विभिन्न टर्मअनुसार इन्स्योरेन्स गरेर आफूलाई गाह्रो पर्दा त्यही एकमुष्ठ रकमले पनि उसलाई सहयोग गर्छ । त्यो कारणले गर्नै नसक्ने पनि होइन। उसले म्यानेज गर्नुपर्यो । उसले आफूले गर्ने केही बानीहरु, केही अन्य अनावश्यक खर्चहरुमा हेरेर केही कुरा जोगाउन सक्यो भने त्यहीबाट पनि हुन्छ । हामीकहाँ थोरै र धेरै भएको त हुन्छ नै पैसा तर हुँदै नहुने चाहिँ हुँदैन ।

तपाइँ भन्दै हुनुहुन्थ्यो, हाम्रा अभिकर्ता साथीहरु घर–घर पुग्छन् । यहाँ त फलानोकी श्रीमती गर्भवती छिन् भनेपछि त्यहाँ अभिकर्ताहरु गएर कन्भिन्स गराउन आरम्भ गरिसकेका घटनाक्रमहरु हामी दैनिकजासे देखिरहेका हुन्छौँ । तर, उहाँहरुको सेलिङ मेथड चाहिँ अलि बढी फोर्सफुल, भोलि ए भन्ने मान्छे तिमी खत्रक्क परेर गयो भने तिम्रा सन्तानलाई पैसा दिन्छौँ भन्ने टाइपको अलि बढी रहेछ । यसले चाहिँ इन्स्योरेन्सका एजेन्टहरु आउँछन् भन्ने भएपछि यिनले चाहिँ अल्टरसल्टर नचाहिने कुरा गर्छन् भन्नेखालको म्यासेज पनि लगिरहेको छ है बजारमा ?
यस्तो हो, अभिकर्ताले मान्छेले नबुझेको कुरा बुझाउनलाई गाह्रो हुन्छ र सत्यको बाटो अप्ठेरै हुन्छ । राम्रो बाटो असजिलो हुन्छ । मैले पटकपटक भन्ने गरेको छु । यहाँ पनि दोहोर्याउँछु । दूध बिक्री गाह्रो हुन्छ तर रक्सी बिक्री गर्न सजिलो हुन्छ । राम्रो चिज बिक्री गर्न गाह्रै हुन्छ क्या । अभिकर्ताले पनि राम्रो कुरा बुझाउनका लागि कर गर्नुपरेको हो ।

तपाइँहरु यो इन्स्योरेन्सका लागि एजेन्ट खटाउनुहुन्छ, पैसा उठाउनका लागि । क्लेम सेटलमेन्टमा पनि त्यति नै मेहनत गर्नुहुन्छ ? तर सजिलै गर्दैनन् भन्ने बजारमा छाप परेको छ नि ?
त्यो सबैतिर छ । मतिर फर्किंदा इन्स्योरेन्स कम्पनी गरेन भन्ने छ । तपाइँतिर फर्किंदा एकाधले नगरेको कुरा पनि भेट्टाउँला । अर्कोले गर्दा अर्कोको पनि भेटिएला । त्यो एकाध कुरा जहाँ पनि हुन्छ । तर, आजको मितिमा ५–१० अघिभन्दा उसको एक्सेस विभिन्न विषयमा, त्यो क्लेम पाउनका लागि उसले गर्ने प्रोसेस, कम्पनीले गर्ने प्रोसेस, कम्पनीका ब्रान्चहरु, अभिकर्तासँगको एक्सेस, सोसल मिडियामा कम्पनीहरुसँग एक्सेस, उसलाई चाहिने डाटा हेर्न कागज हुनुपर्थ्यो । अहिले अनलाइनमा तुरुन्तै हेर्न सक्छ । भएन भने प्राधिकरणमा सूचनामूलक जानकारीहरु लिन सक्छ । कसरी क्लेम लिने भन्ने कुरा विभिन्न तपाइँहरुजस्ता मिडियाहरुले शेअर गर्नुभाछ । त्यो कारणले र हरेक लेभलमा एउटा मान्छे अलि जागरुक पनि छ, पहिलाको हरीकन। मैले पाउन हकअधिकारलाई म कहाँ जानुपर्छ र कसरी मैले पाउनुपर्छ भन्ने राइट कुराका लागि उसले पनि पहल गर्छ । त्यो कारणले क्लेम दिनका लागि कम्पनीले पनि ढिलाइ गर्दैन । किनकि यो मार्केटिङ टुल पनि हो । त्यो कारणले पनि के छ भने पहिलेजस्तो क्लेममा ढिलाइ गर्न कम्पनीहरु पछि पर्दैनन् । क्लेम पनि दिइरहेका छन् । र, प्रोसेसको कुरालाई उसले फलो गर्नुपर्छ । अहिले डिजिटल्ली अनलाइन अप्लाईदेखि लिएर क्लेम चाँडो तिर्यो भने मार्केटिङ हुन्छ भने बिजनेसलाई सपोर्ट गर्छ भन्ने कुरो कम्पनी पनि मनन गरेका छन् ।

तर, क्लेममा त डेथ सर्टिफिकेट पनि म्यानुअल रुपमा पेस गर्नुपर्छ । फेरि रिपोर्ट बुझाउनुपर्यो । वडाको सिफारिस चाहियो । त्यो चिज जम्मा गर्दा एउटा बीमितले आफूले यौवनमा कमाएर जम्मा गरेको रकम दुःखका बेला फिर्ता पाइएला नि भन्ने भन्दा पनि थप झन्झट व्यहोर्नुपर्ने अवस्था छ नि ?
तपाइँले ठीक कुरा गर्नुभयो । हामी डिजिटलाइजेसन भन्छौँ तर प्रोसेस डिजिटलाइजेसनका कुरा, जुन इकोसिस्टम बनाउने कुरामा हामीले काम गरिरहेका छैनौँ। म सिटिजन लाइफ कम्पनीमा चाहिँ डिजिटलाइजेसनमा काम गरिरहेको छु तर होल इकोसिस्टममा आउने चिजहरु चाहिँ डिजिटलाइज्ड भइरहेको छ कि छैन भन्ने कुरा चाहिँ हामी रेगुलेटरसँग, सरकारका निकायसँग अथवा अन्य एजेन्सीहरुसँग डिपेन्डेन्सी हुनुपर्ने र उनीहरुका लागि इनेबल गर्नुपर्ने र इम्पावर गर्नुपर्ने र उनीहरुलाई यो नेटमा ल्याउनुपर्ने आवश्यकता छ। वडातहबाट दिइने जन्मदर्ता वा मृत्युदर्ता, अस्पताल वा प्रहरीले उपलब्ध गराउने डकुमेन्ट अहिले डिजिटलाइज्ड हुन थालेको छ। अब हामीले यी सबैलाई सेन्ट्रलाइज्ड गर्न सक्यौँ भने केहीबेरमै क्लेम दिन सक्छौँ। यसले कागजको प्रयोग पनि घट्छ। किनकि कहिलेकाहीँ, वडा, अस्पताल र प्रहरीबाट आउने डकुमेन्टमा फरक–फरक मिति आउँदा क्लेम उपलब्ध गराउन समस्या हुन्छ । अनि फेरि भेरिफिकेसन गर्दा प्रोसेस लामो हुन्छ । यही कारणले सेवाग्राहीले दुःख पाउँछन् । यसलाई न्यूनीकरण डिजिटलाइजमा जानैपर्छ । विदेशमा सबै कुरा डिजिटलाइज्ड भएकै कारण क्लेम सेटेलमेन्ट चाँडो हुन्छ ।

इन्स्योरेन्स कम्पनीले सबै कुरा एकैठाउँमा पाए भने त भोलिपल्टै क्लेम दिन सक्छन् । कस्टमरलाई यो ल्याउनु वा त्यो ल्याउनु भन्नै पर्दैन नि । कम्पनीले १५ दिनभित्र क्लेम दिएर कुनै लाभ त प्राप्त गर्दैन । किनकि कम्पनीले ग्राहकको विश्वास गुमाउन चाहँदैनन् नि । त्यसैले एउटै प्रमाणपत्र बीमा कम्पनीमा बुझाउनुपर्ला, बैंकमा बुझाउनुपर्ला वा अन्य कुनै निकायमा बुझाउनुपर्ला । सबैतिर एउटै डकुमेन्ट लिएर हिँड्दा ग्राहकलाई झन्झट भइरहेको छ । त्यसैले सेन्ट्रलाइज्ड गरेर सेवाग्राहीलाई यस्ता झन्झटबाट मुक्त गर्नुपर्छ ।

तपाइँहरु धेरै ठाउँमा पुलको अभ्यास गर्नुहुन्छ । यस्ता सूचना संकलनमा त्यो पुल टाइपको एकीकृत संरचना बनाउन तपाइँहरुले पहल गर्ने हो कि ?
हामीले मात्रै बनाएर हुँदैन । स्थानीय सरकार वा सबैको सेन्ट्रल्ली लिन सक्ने मेकानिजम नै अलमलिएको देख्छु । समन्वय गर्ने भन्ने छ तर कस्तो समन्वय अझै प्रस्ट छैन । स्थानीय सरकार आफैँमा इन्डिपेन्डेन्ट भएर काम गरेको पनि देखिन्छ । अब यहाँ थुप्रै कुराहरु छन् क्या । हामी यो कुराले गर्दा यो चिजमा पहल गर्यो भने चाहिँ हामी एउटा विशेष फड्को मार्छौं ।

तपाइँ अमेरिका पढेर आउनु भएको प्रसंग हामीले प्रारम्भमै उठाइसक्यौँ । संसारमा इन्स्योरेन्स कम्पनीहरु अर्थतन्त्रको ब्याकबोन हुन् देशका लागि भनिन्छ । तिनले ठूला–ठूला कर्पोरेट हाउसहरु चलाउँछन्, ठूला–ठूला बैंक चलाउँछन्, ठूला प्रोजेक्टहरु सञ्चालन गर्छन् भन्ने इन्भेस्टमेन्टको पार्टबाट । नेपालमा चाहिँ त्यतातिर धेरै ध्यान दिएको जस्तो देखिँदैन नि ?

यस्तो हुन्छ, इन्भेस्टमेन्टको पाटोमा विदेशतिर कस्तो हुन्छ भने ठूला–ठूला इन्फ्रास्ट्रक्चर बन्डहरु आउँछन् । हामीकहाँ इन्फ्रास्ट्रक्चर बन्डहरु कन्सेप्ट अझै गभन्र्मेन्टले इन्ट्रिड्युस गरिसकेको छैन। अब हामीकहाँ भर्खरै स्थानीय तह जुन संरचना आयो, हामीले म्युनिसिपल बन्डहरु ल्याउने कुरा गर्छन्। त्यसमा म्युनिसिपल बन्डहरु नगरपालिका वा महानगरपालिका ल्याउने हुन् । जुन संरचनाहरुमा सहभागिता बढाउने कल्चर विकास हुन्छ । भारतमा पनि भेटिन्छ । हामी कहाँ त्यो लेभलको बन्डको कन्सेप्टर र बन्डमा पार्टिसिपेट हुने कन्सेप्ट चाहिँ अझै पनि विकास हुन सकेको छैन् । हामी त्यो मार्केटमा र तपाइँले भनेका विकसित मुलुकहरुको हेरीकन हाम्रो यहाँ चाहिँ इन्भेस्टमेन्ट प्याट्रन चाहिँ रिभर्स प्याट्रन छ । केमा भने बाहिरतिरको बन्डको ब्याजदर चाहिँ मुद्दति निक्षेपभन्दा २ प्रतिशतजति बढी हुन्छ र इन्स्योरेन्स कम्पनीहरु सबैजसो त्यसमा जान चाहन्छन् । जस्तै हाम्रो सिटिजन लाइफको कुरा गर्ने हो भने एभरेज अवधि १५ वर्षको लाइनमा छ । सिटिजन लाइफले कस्टमरबाट लिएरको पैसा १५ वर्षसम्म लगानी गर्न चाहन्छ । १५ वर्षे क्षेत्रमा । हामीले पाइरहेका छैनौँ । त्यसैले हामी के चाहन्छौँ भने त्यस्ता बन्डहरु आओस् र त्यस्तोमा लगानी गर्न पाइयोस् र त्यो हाम्रा छिमेकी देशहरुको जस्तै इन्भेस्टमेन्ट प्याट्रन भयो भने हामी पनि बेटर सर्भिस दिन सक्छौँ ।

भनेको तपाइँहरु सोसाइटीमा डेभलप गरिएको टुल्सहरुलाई फलो गर्ने ठाउँमा हो वा केही चाहिँ इनिसियट नै गरिदिने प्रोजेक्टहरु वा लगानीका क्षेत्रहरु ?
हामी आफैँले पनि केही गर्ने हो । हामीले पनि इनिसियट गरिदिने हो । तर, लार्जली हामी दायित्वमा एक्सपर्ट हो । रिस्क लिन एक्सपर्ट हो । रिस्कको हामीसँग एपटाइट बढी हुन्छ । रिक्समा हामीसँग जुन खेल्न सक्ने र हामीले जोखिम लिन सक्ने कुराहरुमा हामीले रिइन्स्योरेन्सहरुसँग एरेजमेन्ट गरेर केही कुराहरु गर्छौं । एसेस्टमा चाहिँ हामीले क्वालिटी एसेस्ट र रिजनेबल र लिक्विड एसेस्टहरुमा बढी फोकस गर्ने र संसारभरिको प्राक्टिसलाई फलो गर्ने हो । हामी चाहिँ आउट अफ दि बक्सहरुमा जाने कुराहरुले चाहिँ बोथ साइडमा उभ्याउँछ ।

तपाइँहरुले एउटा बीमित उठाउने वा उदाहरणका लागि १०० रुपैयाँ कति ठाउँमा छर्नुहुन्छ मोटामोटी ? लगानीका हिसाबले ? अनि रिस्क मेनेजमेन्टको हिसाबले पनि ?
हामी चाहिँ लार्जली रिस्क मेनेजमेन्टको हिसाबले दुईवटा क्षेत्र एउटा रिइन्स्योरेन्स गर्ने । यो रिस्क लिएबापत हामीले कतिसम्म रिइन्स्योरेन्सलाई तिर्ने, त्यसबाट रिस्क ट्रान्सफर गर्ने हो । एउटा चाहिँ हामीले बीमितलाई भविष्यमा फिर्ता दिनुपर्छ । अथवा उसलाई केही पर्दाखेर सर्भिसका रुपमा दाबीबापत दिनुपर्छ । यी दुईवटाका लागि राम्रो क्षेत्रमा लगानी गर्ने हो ।

एउटा एजेन्टले एउटा पोलिसी बेचेपछि या तपाइँहरुको पोलिसी बेचिदिएपछि उसले जे चिज प्राप्त गर्छ, त्यो चिज चाहिँ नेसनल वा इन्टरनेसनल एरिनामा त्यसको डिभिजन कसरी व्यवस्थापन हुन्छ ?
हाम्रो साउथ एसियन देशहरुसहित सिंगापुरसम्म जानुहोस्, पहिलो वर्षमा तपाइँले कस्टम अभिकर्ता साथीहरुलाई सबैभन्दा कम २५ प्रतिशत दिन्छौँ । बंगलादेशमा पहिलो वर्ष ३५ प्रतिशत दिन्छ। भारतमा पनि ३५ प्रतिशतकै लाइनमा छ । तपाईँ मलेसिया वा त्योभन्दा उता जानुहोस्, त्योभन्दा बढी छ । युरोप वा अमेरिकामा जानुहोस् अपफ्रन्ड पेमेन्ट भन्छ । त्यहाँ अभिकर्ताहरुलाई ८० प्रतिशतसम्म कमिसन छ । मान्यता के हो भने अभिकर्ताहरुले एउटा कस्टमरलाई बुझाएर र उहाँहरुले खोजेको राइट फाइनान्सियल प्रडक्ट अड्भाइज गरेर राइट प्रडक्ट चाहिँ ल्याएर उहाँलाई १५ वर्षसम्म निरन्तरता दिने सर्तमा एग्रिमेन्ट गराइदिने आधारमा उहाँहरुलाई दिइएको हो। उहाँहरु एउटा पोलिसी ल्याउनका लागि कैयौँ चोटि जानुपर्छ । कैयौं चोटि इफोर्ट लगाउनुपर्छ र कैयौं दिन खर्च हुन्छ । हो, त्यसबापत कम्पनीले उहाँहरुलाई दिएको सम्मान हो ।

अहिले त हेर्ने हो भने सरेन्डरको बाढी छ क्यार । २–३ वर्ष प्रिमियम तिर्ने अनि त्यसपछि स्वाट्टसँग सरेन्डर गरेर हिस्सा सुरक्षित गर्ने । सबैजना विन–विन हुने भए, यसको जोखिम चाहिँ कम्पनीलाई मात्र हुने रहेछ । यसलाई कसरी लिनुभएको छ ?
यस्तो हो, सरेन्डरको बाढीभन्दा पनि अहिले चाहिँ केही सानो पर्सेन्टेज, साना खराब मनिस्थितिका मानिस जहाँ पनि हुन्छन्। जुनसुकै सेक्टरमा पनि हुन्छ । अब त्यहाँ केही फाइदा लिने मनस्थिति आएका मान्छे केही होलान् । तर, ठूलो समुदाय चाहिँ इन्स्योरेन्स गर्नका लागि अभिकर्ता साथीहरुले बुझाएको र बुझाउँदाखेरी अहिले फाइनान्सियल्ली कन्डिसन देशको ओभरअल र आफ्नो आम्दानीको स्रोत चाहिँ कुन चाहिँ हो ? र, आफूलाई दैनिक जीवन चलाउन वा अथवा आफ्नो आवश्यक पूरा गर्नलाई चाहिँ विभिन्न स्रोतहरुबाट नभएपछि इन्स्योरेन्समा जम्मा भएको पैसा फिर्ता लिनका लागि प्रयास गरेकोमध्ये अहिले चाहिँ हामीकहाँ अलि बढी एप्रोच आएको हो, अरु बेलाभन्दा । किनकि अहिले विशेष क्राइसिसको अवस्था पनि हो । यो कारणले चाहिँ के भन्छु भने म अहिले विशेष अवस्था पनि हो। त्यो कारणले कस्टमरले जेन्यून एप्रोचहरु पनि कोर नम्बर देखिन्छ । त्यसैले सबैले त्यही सोच र त्यही लेभलको पैसै बनाउने वर्कआउट गर्न भ्याएको चाहिँ लाग्दैन ।

यो सिंगल प्रिमियममा चाहिँ विकृति नै छ क्यारे ?
कुनै बेला थियो । सिंगल प्रिमियमबारे हाम्रो गाइडलाइन पनि सच्चियो । जुन–जुन ठाउँमा विकृति थियो, ब्याक डेट गर्न नपाउनेदेखि लिएर सरेन्डर गर्नलाई लिमिट तोकिएपछि त्यो विकृति पनि रोकियो र अहिले त्यो सेल पनि रोकिएको छ ।

एफएटीएफमा बीमा प्राधिकरणबाट पनि प्रतिनिधि हुनुहुन्थ्यो । राष्ट्रको इकोनोमीसँग सम्बन्धित थुप्रै प्रतिनिधित्वहरु त्यहाँ गएर ब्रिफिङ गर्दा चाहिँ यो बीमामा, त्यसमा पनि सिंगल प्रिमियममा हामीलाई जोखिम बढायो भन्ने कुरा भएको थियो क्यारे ?
होइन, त्यो कुरा राइट पनि हो । सिंगल प्रिमियम आउँदाखेरी उसले स्रोत देखाउन सकेन र सिंगल प्रिमियम किन किन्न लागेको छ, एकमुष्ठ किन तिर्न लागेको छ भन्ने कुरा उसले आम्दानीको स्रोत देखाउन सकेन पनि निश्चित रुपमा एएमएलसिएफटीले अट्याक गर्छ । त्यो विषय चाहिँ अनुसन्धानको विषय हो । आम्दानीको स्रोत छ, मसँग भ्यालिड स्रोत छ, मैले सिंगल प्रिमियम तिरेको छु भने हामीले चिन्ता गर्नुपर्दैन ।

तपाइँहरुले के–के हेर्नुहुन्छ, एउटा नागरिकतालाई एजेन्टमार्फत बीमा गराउँछु भनेर फाराम भरेर आउँदै गर्दा ? तपाइँले कम्पनीका तर्फबाट के–के पार्ट हेरेर ओके भन्नुहुन्छ ?

सरसर्ती हेर्दा मेजरली २ वटा कुरा तर प्रायोरिटीका आधारमा ३ वटा कुरा हेर्छौं । एउटा चाहिँ उसले इन्स्योरेन्स गर्न जुन रकम अप्लाई गरेको छ, त्यो रकम तिर्न सक्ने क्षमता छ कि छैन ? उसलाई त्यो आर्थिक हिसाबले त्यति रकमको बीमा किन चाहिएको हो ? त्यो पक्षबाट हेर्छौं । आर्थिक हिसाबले त्यो अमाउन्ट चाहिँ जस्टिफाई गर्छ कि गर्दैन । आम्दानीको स्रोत र त्यो अमाउन्ट पनि । दोस्रो मेडिकल्ली फिट छ कि छैन ? उसको मेडिकल हिस्ट्री र ट्रिटमेन्टको अवस्थाबारेमा र उसले डिसक्लोज गरेका कुराहरुले गर्दा त्यो मान्छे बीमा गर्न योग्य छ कि छैन भन्ने कुरा हुन्छ । तेस्रो चाहिँ उसको अन्य पारिवारिक पृष्ठभूमिलगायतका केवाईसी जानकारी, राजनीतिक पृष्ठभूमिलगायतको छ भने त्यसमा रिस्क छ कि छैन भन्ने कुरा हेर्छौं । अन्य थप कुरा पनि हेर्छौं । ६ महिनाअघि कति रकमको बीमा गरेको छ, अहिले फेरि थप्न चाहिन्छ । के हो कारण ? उचित कारण छ कि छैन ? लगायतका कुरा हेर्छौं ।

यति धेरै चिज हेर्न भ्याइन्छ ? एजेन्टहरु दौडादौड गरेर पोलिसी बेचिरहेका हुन्छन् फेरि ?
उनीहरुले पूरै हेर्छन् । किनकि तपाइँको बीमा गर्न आउनुभन्दा अगाडि नै उनीहरुले तपाइँको बारेमा बुझिसकेका हुन्छन् । अभिकर्ताले हेरिसकेपछि हाम्रो अफिसको मान्छले पनि पूरै हेर्छ ।

तपाइँहरु पोलिसी बेच्दै गर्दा जसलाई राडारमा राख्नुहुन्छ उनीहरुका लागि धेरै भेराइटीका पोलिसीहरु आएनन् र जो पोलिसी इस्यू गर्नुहुन्छ, त्यो हाइली टेक्निकल भयो। जो खरिदकर्ता उसले त्यो बुझेकै हुन्न । त्यसले अलि बढी मिससेलिङ हुन्छ र मार्केटप्रति पनि अलि नेगेटिभ खाले लिट्रेचर स्थापित हुँदैछ भन्ने छ । त्यसलाई सहजीकरण गर्ने, हाम्रो यो–यो ५ वटा सुविधाहरु छन्, त्यो प्राविधिक रुपमा यो हो, तिमीले यसरी बुझ भन्ने खाले हुँदैन ?
अहिलेको अवस्थामा अलिकति समय देखिएर कस्टमरले बुझ्न चाह्यो भने धेरै सजिलो छ । अहिले मेटेरियल पनि पाइन्छ । अब सोसल मिडियाबाट मेटेरियल पाइन्छ । यो भनेको के हो भनेर सजिलै बुझ्न सकिन्छ र ग्राहकले पनि के गर्नुपर्छ भने आफूले लिएको प्रडक्टमा के–के सुविधा पाइन्छ र के–के छ भनेर त्यहाँ साधारणतय धेरै सुविधा हुँदैनन् । थोरै सुविधा नै हुन्छन् । ती सुविधाका बारेमा विस्तृत रुपमा बुझ्न चाहेमा सजिलै र क्रस चेक गर्न सक्दैनन् र ब्रिफिङ गर्छ । केही टेक्निकल विषय पनि हो । संसारमा टेक्निकल विषयमध्ये मेडिसिन र इन्स्योरेन्स अरुले सजेस्ट गर्नुपर्छ भनिन्छ । तपाइँले जतिसुकै जाने पनि प्रेस्क्रिप्सन अरुले लेखिदिनुपर्छ भनेजस्तै यो पनि तपाइँले केही लिमिटमा जाने पनि तपाइँलाई बेस्ट गाइडेन्स चाहिँ फाइनान्सियल एड्भाइजरका रुपमा अभिकर्ता साथीहरुले दिनुभयो भने उहाँहरुलाई बेटर हुन्छ । उहाँहरु त्यसैको एक्सपर्ट हो । हामी कहाँ भेराइटी अफ प्रडक्ट पनि छ । तपाइँले आफ्ना बालबच्चाका लागि दिने प्रडक्ट, आफ्नो सामाजिक कार्यका लागि प्रडक्ट, बूढेशकालमा आफ्नो औषधिउपचारका लागि प्रडक्ट छन् । सिटिजन लाइफमा ९० वर्षसम्म पेन्सन दिने ‘जीवन साथी’ प्रडक्ट छ । दीर्घरोगलगायतका विभिन्न खाले उपचार खर्च ५० लाख रुपैयाँसम्म दिने प्रडक्ट हामीसँग छ ।

तर, तपाइँहरुले जे बेच्नुहुन्छ, झन्डै–झन्डै त्यस्तै प्रडक्ट अरुले पनि अन्य केही नाम राखेर बेचिरहेका हुन्छन् त ।
होइन, प्रडक्ट भनेको एउटा कम्पनीमात्रै वा त्यस्तो भेरियसन पाइन्छ भनेर आशा नगरे पनि हुन्छ । किनकि त्यति ठूलो ग्याप हुँदैन । एकले मात्रै बेचेको एउटामात्रै चिज कहाँ छ र ?

त्यसो भए त ए भन्ने कम्पनीमा जानु र बी भन्ने कम्पनीमा जानु खासै फरक भएन नि ?
त्यसमा के छ भने सर्भिसको कुरा हो । अहिले संसारभरि सबै चिजमा सर्भिस हो । मोबाइल सेवा प्रदायक होस् वा बैंकिङ सेवा प्रदायक होस्, प्रायः सबैको उस्तै उस्तै हुन्छ नि । कति फरक हुन्छ र ? तर, उनीहरुले दिने सर्भिस चाहिँ फरक हुन्छ ।

यसको अर्थ सिटिजन लाइफले एजेन्ट बनाउँदा वा नयाँ बीमित बनाउँदा अन्य कम्पनीभन्दा हामीकहाँ आऊ, हामी राम्रो सर्भिस दिन्छौँ भन्ने हो ? यो एउटा टुल पनि रहेछ हैन ?
हामीकहाँ दुवै कुरा । हामीकहाँ प्रडक्ट पनि । हाम्रा प्रडक्टमा पनि युनिकनेस छ । अनि हामी अरुभन्दा राम्रो सर्भिस दिन काम गरिरहेका छौँ । हाम्रो पहिलो प्राथमिकता भनेकै सर्भिस हो । आजको बिजी मान्छेले सर्भिस राम्रो पायो भने उसले एक्स्ट्रा पे गर्छ । त्यो हाम्रो रिसर्चको आउटपुट पनि हो । मान्छेले राम्रो सर्मिसका लागि राम्रो पे गरेको अवस्था छ ।

बीमा कम्पनीहरुको प्राथमिकतामा को कहाँ पर्छन् ? पहिलोमा त बीमितलाई राख्नैपर्यो किनकि उनीहरुबाट पैसा उठाइएको छ । दोस्रो कम्पनीका प्राइमरी इन्भेस्टरलाई राख्नुपर्यो होला । त्यसपछि कर्मचारीलाई राख्नुपर्ला ? लगानीकर्तालाई रिटर्न दिनुपर्ला र कर्मचारीहरुलाई उनीहरुको वृत्तिविकास र जीविका सुरक्षित हुने गरी तलब दिनुपर्ने होला । अनि त्यसपछि एजेन्सलाई दिनुपर्ला ।

सबैको आ–आफ्नो रोल हुन्छ । हरेकको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । कसैको कमी वा कसैको बढी भन्ने होइन । अभिकर्ताले कम्पनीको प्रडक्ट राम्ररी बुझेर ग्राहकको आवश्यकताअनुसार बीमा पोलिसी बेच्ने हो । हाम्रा कर्मचारीलाई अभिकर्तालगायत विभिन्न सम्पूर्ण सेवाग्राही सेवा दिनका लागि ओरेन्टेसन गरिएको हुन्छ । त्यसैगरी लगानीकर्ताहरुलाई हामीकहाँ यो सुरक्षित कम्पनी हो, त्यसैले ढुक्क भएर लगानी गर्न र फ्युचरमा यसले दिने भ्यालु रिटर्नमा एस्योर हुन हामीलाई उहाँहरुलाई कन्भिन्स गर्ने हो र बोर्डमा त्यही लेभलमा भन्ने हो । रेगुलेटरलाई पनि यो सिस्टममा चलेको कम्पनी हो र भोलि पोलिसीहोल्डरको प्रोटेक्सन यो कम्पनीमा हुन्छ भन्ने कुरामा विश्वास दिलाउने हो । सरकारलाई कर तिर्ने हो । सबै स्टेकहोल्डरलाई कम्फर्ट्ली चलाउन आआफ्नो ठाउँबाट भूमिका हुन्छ । सबैको समान भ्यालु हुन्छ ।

तीनै तहको सरकारले बीमा बुझिदिनुपर्यो । नियामकले बीमा कम्पनीहरुको सुशासन कायम गर्दै बजार वृद्धिका लागि भूमिका खेल्नुपर्यो र आमनागरिकले बीमाबारे यथेष्ठ जानकारी प्राप्त गरी सहभागी हुनुपर्यो भन्ने उद्देश्यका साथ कार्यक्रममा जोडिरहेका छौँ । र, अन्त्यमा तपाइँलाई अझै केही कुराहरु राखम् भन्ने छ भने राख्नुहोस् !

एक लेभलमा सबै बीमा बुझेको अवस्था छ । अब सरकारले पनि मनन गर्दै गएको छ । अब सरकार र स्थानीय लेभलबाट एक्सनेबल केही टाक्स आउनुपर्छ । मेरो अन्तिम कुरा डिजिटल पेमेन्ट र डिजिटल प्रोसेसिङ गर्ने कुराहरुमा हामी कहाँ भएको डाटालाई एक्सिस गर्ने र त्यस कार्यान्वयन गर्न एउटा कोअर्डिनेटिङ एजेन्सीका रुपमा अथवा कोअर्डिनेटिङ वेबाट काम गर्न सक्यौँ भने बीमा क्षेत्रमा कायापलट गर्न सक्छौँ । त्यो भयो भने इन्स्योरेन्स गर्ने र पेमेन्ट गर्नेमा बेलामा राम्रो काम गर्न सकिन्छ । त्यसैले तपाइँहरुकै यो च्यानलबाट डिजिटलाइजेसनलाई चाँडोभन्दा चाँडो अगाडि बढाउनुपर्छ र यो आजको आवश्यकता पनि हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्