Shikhar Insurance

प्रधानमन्त्रीको आडमा अर्थमन्त्रीमाथि सचिवको ‘बाइपास’, शक्ति केन्द्र रिझाउने शिपले पुनलाई सास्ती

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । फागुन २३ गते सपथ र कार्यभार सम्हालेकै दिन बेलुकी मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्री बर्षमान पुनले भनेका थिए–‘टेक्निकल रुपमा फिट नहुने कर्मचारीहरु फेरिनेछन् ।’ मन्त्री पुनको त्यो अभिव्यक्ति अर्थ सचिव र राजश्व सचिवसहितका उच्च पदस्थ कर्मचारीहरुप्रति लक्षित थियो । राजश्व संकलन लक्ष्य अनुसार गर्न नसकेको, पुँजीगत खर्च पनि नबढेको र निजी क्षेत्रको मनोवल उकास्न पनि भूमिका नखेलेको निष्कर्षसहित मन्त्री पुनले मन्त्रालयको पुरै सेट बदल्ने तयारीका साथ सपथ ग्रहण गरेका थिए ।

सोही तयारी अनुसार नै मन्त्री पुनले फिट नहुने कर्मचारी फेर्ने घोषणा गरेको उनी निकट स्रोतहरु  बताउँछन् । मन्त्री पुनले टिम फेर्ने घोषणा गरे तर गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको ५ दिनमै सचिव फेरे । गृह सचिव दिनेश भट्टराईलाई हटाएर एक नारायण अर्याललाई गृह सचिवको जिम्मेवारी सुम्पिए । मन्त्री लामिछानेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को जिम्मेवारीमा पनि व्यापक हेरफेर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २२ जना सहसचिव र उपसचिवको सरुवा गरेका थिए । यस्तै, नेपालका एक मात्रै डलर अर्बपति बिनोद चौधरीसँग सीआईबीको नयाँ नेतृत्वले बयान लियो । मन्त्री लामिछानेले बुधबार राज्य व्यवस्था समितिमा भने–‘पहिले सुन्ने, अनि मात्रै थुन्ने प्रक्रिया अन्तर्गत बिनोद चौधरीसँग बयान मात्रै लिएका छौं ।’

त्यस बाहेक लामिछानेले सहकारी ठगी प्रकरणमा पक्राउ परेका बैंकरहरुलाई पनि हाजिरी जमानीमा छाड्ने वातावरण बनाईसकेका छन् । अर्थमन्त्री पुनसँगै कार्यभार सम्हालेका गृहमन्त्रीले बजारमा तरंग ल्याईसकेका छन्, उनी प्रचण्ड सरकारमा देखिने र सुनिने मन्त्रीका रुपमा दर्ज भैसकेका छन् ।

तर प्रधानमन्त्रीको सबै भन्दा नजिकको पात्र, नयाँ गठबन्धनका सुत्राधार भएर पनि अर्थमन्त्री बर्षमान पुन भने निरिह बन्दै गएका छन् । त्यसको मुल कारण भने अर्थ सचिव कृष्णहरी पुस्करको शक्ति केन्द्र रिझाउने शिप नै हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नजिकको सम्बन्ध बनाएका पुस्करले अर्थमन्त्रीलाई खासै नटेर्ने स्रोत बताउँछ ।

अघिल्लो सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको निकटताका कारण सीआईबी प्रमुख किरण बज्राचार्यले प्रहरी प्रमुख बसन्त कुँवरलाई बाइपास गरेको आरोप थियो । त्यसरी नै प्रधानमन्त्रीसँगको निकट सम्बन्धका कारण अर्थ सचिवले मन्त्रीलाई टेर्न छाडेको बताइन्छ ।

सचिवले आफूलाई नटेरेको स्पष्ट संकेतसहित मंगलबार मन्त्रालयमा आयोजित समिक्षा बैठकमा अर्थमन्त्री पुनले पुस्करमाथि कटाक्ष गरे । ‘म मन्त्री भएको तीन हप्ता भैसक्यो, सचिवज्यूरुलाई तेश्रो पटक मात्रै भेट्न पाईरहेको छु, यसरी नै चल्छ होला त ?’ मन्त्री पुनको कटाक्षलाई उदृत गर्दै स्रोतले भन्यो ।

अर्थमन्त्रीको अनिच्छाका वावजुद सचिव पुस्कर विश्व बैंकको १० दिने कार्यक्रममा अमेरिका गएका थिए । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रियामा पनि सचिवले मन्त्रीलाई पुरै बाइपास गरेको स्रोत बताउँछ । सचिव पुस्करले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठसँग छलफल गरेर सिधै प्रधानमन्त्रीसँग समन्वय गरेका छन् । छनौट समितिमा विज्ञ सदस्यका रुपमा काम गरिरहेका सेयर कारोबारी उदय निरौला पनि सचिव पुस्करकै सिफारिसमा आएका हुन् ।

बोर्ड अध्यक्ष नियुक्ती प्रक्रियामा पनि आफूलाई बाइपास गरेको निष्कर्ष निकालेका मन्त्री पुनले मंगलबारको बैठकमा सचिवलाई र्याखर्याख्ती पारेका थिए । बोर्डमा अध्यक्ष चाडो नियुक्त गर्नु पर्यो भन्ने आसय व्यक्त गरेका मन्त्री पुनले खासमा आफूलाई नटेरेकोमा भडास पोखेका थिए ।

नयाँ टिममा पनि सचिव नै हावी

बजेट निर्माणमा धमाधम लाग्नु पर्ने समयमा कागको हुलमा बकुल्ला झै रनभुल्लमा परिरहेका मन्त्री पुनमाथि नयाँ टिम सेट गर्दा पनि सचिव नै हावी देखिएका छन् ।

आफूलाई कुशल व्यवस्थापक ठान्ने मन्त्री पुनले आफ्नो रोजाईका सहसचिवहरुलाई जिम्मेवारी दिनै पाएनन् । सिधै प्रधानमन्त्रीको हस्तक्षेप र अर्थ सचिवको ब्रिफिङका कारण कमजोर कार्य सम्पादन र लो-प्रोफाइलमा रहेका सहसचिवहरुले महत्वपूर्ण जिम्मेवारी पाए ।

प्रधानमन्त्रीसँग डिल गरेर ढुण्डीप्रसाद निरौला भन्सार विभागका महानिर्देशक बनेका छन् । यस्तै आन्तरिक राजस्व विभागमा शिवलाल तिवारी पुगेका छन् । बजेट महाशामा रितेश शाक्य पुग्दा राजस्व महाशाखामा धनिराम शर्मा पुगेका छन् । चार सहसचिवको पोस्टिङमा अर्थमन्त्री भन्दा प्रधानमन्त्री नै हाबी भएको बुझिएको छ ।

बजेटमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने तयारी सुरु गरेको छ । बुधबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले एक कदम अघि बढेर बजेटबारे निर्देशन दिए । ‘प्रधानमन्त्रीले यस्तो यस्तो बजेट बनाउनु भनेर निर्देशन दिनु भएको छ, प्रधानमन्त्रीले मन्त्रिपरिषदमा मन्त्रीलाई निर्देशन दिनु सामान्य बिषय जस्तो लागे पनि यस भित्रि पाटो भने रोचक नै रहेको बुझिन्छ ।’, स्रोतले सिंहदरबारसँग भन्यो ।

मन्त्री पुनले २३ दिनसम्म पनि बजेट टीम निर्माण गर्न सकेका छैनन । कर्मचारी सरुवा अर्थ सचिव र प्रधानमन्त्रीले हस्तक्षेप बढाएपछि मन्त्रीमा अन्योल बढेको हो ।

पुस्करप्रति एमालेको तिब्र अरुचि

प्रचण्डलाई अघिल्लो पटक एमालेले प्रधानमन्त्रीमा समर्थन गर्दा अर्थमन्त्री बनेर आएका थिए बिष्णु पौडेल । पौडेलले अर्थ सचिव पुस्करलाई नफेरेसम्म कुनै भेट र औपचारिक छलफल समेत नगर्ने अडान राखेपछि प्रचण्डले पुस्करलाई हटाएर तोयम रायालाई अर्थ सचिव बनाएका थिए ।

स्रोतका अनुसार अहिले पनि एमाले अध्यक्ष केपी ओली र पूर्व अर्थमन्त्री पौडेल लगायतले पुस्करलाई अर्थ सचिवबाट हटाउन भनिरहेका छन् । तर पुस्करले भने प्रधानमन्त्री प्रचण्ड मार्फत आफूलाई अर्थ सचिवमै कायम राखिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई तत्काल सचिवहरुको हेरफेरबारे नसोच्न निर्देशन दिएको स्रोत बताउँछ । त्यसको वातावरण पनि पुस्करले नै निर्माण गरेका थिए ।

बजेट बनाउने चटारोमा मन्त्री–सचिव मनमुटाव

अघिल्ला अर्थमन्त्री डा. प्रकाश शरण महतले गरेको गल्तिलाई अहिलेका मन्त्री पुनले पनि दोहोर्याउने वातावरण तयार भएको छ । बजेटको मुखमा सचिव र सहसचिवहरुको हेरफेर गरेका डा. महतले आफू मन्त्री रहुञ्जेल कर्मचारीहरुमाथि ‘ट्रायल’ मात्रै गरिरहे । उनले तोयम रायालाई हटाएर अर्जुन पोखरेललाई भित्र्याउँदै बजेट बनाए ।

तर कार्यान्वयनका समयमा पुस्करलाई ल्याए । एउटाले बजेटको रोडम्याप बनाउने, अर्का सचिवले लेख्ने र अर्कै सचिवले कार्यान्वयन गर्नु परेपछि अहिलेको आर्थिक शिथिलता उत्पन्न भएको ठान्नेहरुको संख्या पनि ठूलै छ । ठिक यहि अवस्थामा अहिलेका अर्थमन्त्री बर्षमान पुन आईपुगेका छन् । सबै भन्दा पहिले टिम फेर्ने औपचारिक घोषणा गरेर पनि अहिलेसम्म लाइन समाउन नसकेपछि मन्त्री पुनलाई १२ वर्ष अघि बनेको छवि नै जोगाउने चुनौती आईलागेको छ ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्