Shikhar Insurance

५३ वर्षपछि ‘जनता पुस्तकालय’ पुन : सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १७:४३
NIMB
Nabil Bank

स्याङ्जा । पञ्चायतकालमा बन्द भएको जनता पुस्तकालय सञ्चालनमा आएको छ । वालिङ नगरपालिका–१ ठाँटीमा विसं २०२७ सालमा स्थापना भएको जनता पुस्तकालय तत्कालीन पञ्चायती व्यवस्थाका कारण छ महिना नपुग्दै बन्द भएपछि हाल वडा कार्यालयको पहलमा सञ्चालनमा ल्याइएको हो ।

तत्कालीन समयमा प्रजातन्त्रका सेनानी सूर्यप्रसाद रेग्मीको पहलमा स्थापना भई पञ्चायती व्यवस्थाका कारण बन्द गराइएको पुस्तकालयलाई नयाँ वर्षका दिनबाट खहरेस्थित वडा कार्यालयमा सञ्चालनमा ल्याइएको वडाध्यक्ष पदमराज गुरुङले बताए । “तत्कालीन समयमा जनतालाई पञ्चायती शासन व्यवस्थाका बारेमा जानकारी दिनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका खेलेको थियो । तत्कालीन समयमा महत्वपूर्ण भूमिका खेलेको पुस्तकालयको महत्त्व अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको ठानी पुस्तकालयलाई ब्यूँताएका छौं” उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

पुस्तकालयमा विभिन्न सङ्घ संस्था तथा दाताले उपलब्ध गराएका शैक्षिक, धार्मिक, सामाजिक, नैतिक शिक्षा, कानुनसम्बन्धी तथा प्राविधिक धारका विषयका पुस्तक राखिएका छन् । उनले भने,“अहिले वडा कार्यालयको एउटा कोठामा राखेर सुरुआत गरेका छौंँ । पुस्तकालयको जग्गा रहेकाले अब छिट्टै भवन निर्माण गर्ने र नयाँ पुस्तक थप गर्नका लागि दाताहरुसँग समन्वय भइरहेको छ ।”पुस्तकालयलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने उनले बताए । नागरिकमा पढ्ने बानीको विकास गर्नका लागि पनि पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख कृष्ण खाणले बताए । विसं २०२७ मा स्थापना भई बन्द भएको पुस्तकालय ढिलै भए पनि सञ्चालनमा ल्याइएको नगर प्रमुख खाणले बताए ।

“तत्कालीन समयमा जनतालाई सुसूचित गराउनका लागि स्थापना भएको पुस्तकालय लामो समय टिक्न सकेन । पञ्चायती व्यवस्थाका कारण बन्द गराइएको पुस्तकालय पुनः सञ्चालनमा आएको छ, अब यसको निरन्तरताका लागि नगरपालिकाले आवश्यक सहयोग गर्छ ”खाणले बताए । पुस्तकालयलाई व्यवस्थित बनाउन पुस्तक थप गर्ने र पुस्तकालय भवन निर्माण कार्यका लागि नगरपालिका प्रतिबद्ध रहेको उनले बताए । ‘एक वडा, एक पुस्तकालय’ निर्माण गर्न आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम र बजेटको समेत व्यवस्था गर्ने तयारीमा नगरपालिका रहेको छ ।

जनतालाई ज्ञान सूचना तथा शिक्षा दिने उद्देश्यसहित स्थापित पुस्तकालय लामो समय बन्द भई पुनः सञ्चालनमा आएसँगै स्थानीय खुसी छन् । अब यसको निरन्तरता तथा दीगोपना आवश्यक रहेको भन्दै फुर्सदका समयमा पुस्तकालयमा आई पढ्ने बानीको विकासमा सहयोग पुग्ने विश्वास स्थानीयले गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्