Shikhar Insurance

नियम होइन, नियत बदल्नुपर्छः नेता सन्तोष चालिसे

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १२:४५
NIMB
Nabil Bank

काठमाडौं । यतिबेला संसदका गतिविधिमा धेरैको ध्यान केन्द्रित भएको देखिन्छ । यद्यपि अझैपनि पुरानै ढर्रा, सत्ता र प्रतिपक्षबीच घोचपेच, मनमुटाव, जुहारी र बैठक निरन्तर अबरुद्ध हुँदा संसद् र सांसदप्रति जनताको बुझाइ त्यति सकारात्मक रहेको देखिन्न ।

सङ्घीय संसदमा यो मेरो पहिलो अभ्यास र अनुभव हो । सबै आ-आफ्नो स्वार्थमा केन्द्रित रहने, पार्टीभित्र पनि गुट उपगुट चल्ने, जनताको समस्या र पीरमर्कामा ध्यान कसैको नहुने कारणले सांसदको ओज र गरिमा खस्केको छ । कानून निर्माण मुख्य जिम्मेवारी भएपनि संसद् र सांसदको भूमिका भनेको देश र जनताका धेरै अरु महत्वपूर्ण छलफल गरी निष्कर्षमा पुर्‍याउने थलो संसद् नै हो ।

Citizen Life
Kumar Bank
Nepal Life

जनताका आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्, सिँचाइ, मलखाद तथा बाढी पहिरो, डुबान, दुर्घटना, आगलागी, सङ्क्रमण र आन्दोलनलगायतका विविध विषयमा गहन छलफल गरी निष्कर्षमा सदन पुग्नुपर्छ । जनताको सार्वभौमसम्पन्न थलो भएकाले सदनमा देशैभरका जनप्रतिनिधिले आ-आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका समस्या त्यहाँ राख्नुहुन्छ । मुलुकलाई कुन दिशामा कसरी अघि बढाउने भन्ने कानून निर्माण गर्ने मुख्य थलो पनि सदन नै हो । तर त्यो सदनलाई प्रत्येक पार्टीले आ-आफ्नो स्वार्थका लागि चलाउन खोज्दा जनताको आँखामा ठूलो विश्वासको सङ्कट पैदा भएको हो । अहिले २७ भन्दाबढी विधेयक संसदमा छन् ।

ती फटाफट पारित भए देश र जनताका लागि अघि बढ्ने सन्दर्भमा महत्वपूर्ण काम हुन्थ्यो । तर सदन लामो समयदेखि चल्न सकेन । अहिले प्रतिपक्षमा नेपाली कांग्रेस छ । मुलुकभरका धेरै सहकारी सञ्चालकले जनताका दैनिक बचतको पैसा हिनामिना गरी भागेको व्यापक जनगुनासोका आधारमा त्यसमा संलग्न दोषीलाई संसदीय छानबिन गरी कारवाही हुनुपर्छ भनेर नेपाली कांग्रेसले माग गरिरहेको छ । त्यो सन्दर्भमा उठाइएका मुद्दालाई सरकारले लामो समयसम्म हलुकारुपमा लिई बेवास्ता गरेकाले बाध्यभएर संसद् अबरुद्ध गर्नु परेको छ । जनता मर्कामा परेका मूल मुद्दा छिनोफानो नभएसम्म सरकारलाई दबाब दिन सदन अबरुद्ध गर्नु बाध्यता हो ।

सुशासन र समृद्धि दोबाटोमा बसेर गफ गरेर प्राप्ति हुने विषय होइन । जनताको मन जित्ने गरी काम गर्ने र समयमै कानून बनाएर भरोसा नदिइन्जेल सुशासन र समृद्धि हुन्न । जनतालाई यसरी कतिन्जेल झुक्याउने ? जनताको भलो हुने काम नगर्ने, बजेट नल्याउने, गरिबका मर्का नसुन्ने प्रवृत्ति हाबी छ । सुशासनको नारा घन्काए पनि भ्रष्टाचारका ठूला फाइल खोल्न सकेको अवस्था छैन । कतिपय नेता र जनप्रतिनिधिका गैरजिम्मेवार क्रियाकलापले आफूलाई एउटा सांसद भनेर हिँड्न आज लाज लाग्ने अवस्था सिर्जना भएको छ । जनताले हाम्रो काम गर्ला र समस्या सम्बोधन होला भनेर चुनावमा जिताएका हुन् नि !

पार्टीभित्र पनि कतिपय समूहको स्वार्थले राम्रो काम गर्छु भनेर गएको जनप्रतिनिधि नै पनि अप्ठेरोमा छ । पहिलो र दोस्रो विश्वयुद्धदेखि पराइका लागि लड्ने र योगदान दिन सुरु गरेका नेपाली अहिले रुस र युक्रेनबीचको युद्धमा पनि सामेल भइरहेको अवस्था छ । जसले कानून बनाएर रोक्न पथ्र्यो त्यसले रोकेको अवस्था छैन । रोजगारी दिने र गरिखाने वातावरण नभएकाकारण युवा, विद्यार्थीको विदेश पलायन बढ्दो छ । गरिखाने अवस्था नभएपछि नेपाली होनहार युवा परिवार पाल्नका लागि मरे मरियोस् भनेर युद्धमा होमिएका हुन् । त्यसलाई राज्यले गति गम्भीरताकासाथ लिनुपर्ने हो त्यो भइरहेको छैन ।

पार्टीभित्र, सरकार र संसदमा शुद्धीकरणका लागि हामी केही सांसद लागिपरेका छौँ । देशका सबै जनप्रतिनिधि बेइमान र अपराधी छैनन् । निकै लामो मेहेनत र सङ्घर्षका आधारमा एउटा निर्णय गर्‍यो, रातारात त्यसलाई उल्टाउने काम हुन्छ । यसले कसैको भलो गर्दैन । केही नेता र नेतृत्वको नियत नबदलिएसम्म मुलुकको शासन व्यवस्था र निर्वाचन प्रणाली जति नै परिवर्तन गरेपनि परिणाम हात पार्न सकिन्न । जनताले राणाशासन, पञ्चायत, बहुदल र गणतन्त्र हेर्ने, व्यहोर्ने र अनुभव गर्ने काम गरिसके । अब योभन्दा बाहेक अर्को के खोज्ने र कसले गर्ने भन्ने प्रश्न हो । हामीले अब नियम होइन, नियत बदल्नुपर्छ ।

मुलुकका तीन तहका सरकारले आ-आफ्नो जिम्मेवारी क्षेत्रभित्रका काम फटाफट गरिदिन कसले रोकेको वा छेकेको छ र ? काठमाडौ निर्वाचन क्षेत्र नं ३ को प्रमुख प्राथमिकता भनेको घरघरमा गुणस्तरीय खानेपानी, आधारभूत निःशुल्क शिक्षा र स्वास्थ्यमा सरकारको लगानी आवश्यक छ । आधुनिक कृषि प्रणालीको विकासमा पनि सरकारले ध्यान दियोस् भन्ने मेरो माग छ । जनता र राष्ट्रको हितमा काम गर्ने हो भने राजनीति र नेतृत्वको कार्यशैली, बुझाई र व्यवहारमा व्यापक शुद्धीकरण र कार्यशैली परिवर्तन हुनुपर्छ । सत्ताको दम्भ सबैले त्याग्नुपर्छ । संसदलाई विधि र कार्ययोजना बनाएर सञ्चालन गरिनुपर्छ । जनताका आधारभूत आवश्यकता सम्बोधनका लागि राज्यलाई घच्घच्याउने काममा सांसदहरुले सदासर्वदा लागिपर्ने अठोट र प्रतिबद्धता जाहेर गर्नुपर्छ ।

सांसद चालिसेको परिचय
गोकर्णेश्वर-९ अरुबारीका स्थायी बासिन्दा सन्तोष चालिसे विस २०३८ मा वडाध्यक्ष भएदेखि राजनीतिमा सक्रिय छन् । विस २०४८ मा नेपाली कांग्रेसमा आबद्ध उनले गाविस उपाध्यक्ष र स्थानीय अरुणोदय माध्यमिक विद्यालय सञ्चालक समितिको अध्यक्ष भई जिम्मेवारी सम्हाले । विस २०७४ मा गोकर्णेश्वर नगरपालिका प्रमुख भएका नेता चालिसे विस २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्