Shikhar Insurance

वीरगञ्जमा विद्यार्थी भर्ना गर्न घरदैलो अभियानमा शिक्षक

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १८:४९
NIMB
Nabil Bank

वीरगञ्ज । नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् । महानगरअन्तर्गतका ९२ वटा सामुदायिक विद्यालयले यही वैशाख ३ गतेदेखि विद्यार्थी अभियान अन्तर्गत हरेक विहान शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

सामुदायिक मात्रै होइन, निजी विद्यालयले पनि भर्ना अभियानलाई उत्तिकै प्रथामिकताका साथ अघि बढाएका छन् । नेपाल राष्ट्रिय मावि नगवाका प्रधानाध्यापक नन्दकिशोर रामले नयाँ विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रम गर्दै आइरहेको बताए । उनले भने,“यही वैशाख ३ गतेदेखि शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा विद्यालय वरपर रहेका बस्तीमा पुगेर नयाँ विद्यार्थी भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छौँ । विहान ६ बजेदेखि नै भर्ना अभियान अघि बढाउँदै आइरहेका छौँ । भर्ना अभियानअन्तर्गत बालविकासदेखि कक्षा ९ सम्म भर्ना अभियान जारी छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार गत शैक्षिक सत्रा विद्यालयको बालविकास कक्षामा ७९ जना विद्यार्थी भर्ना भएका थिए । विद्यालयका अनुसार अहिले पनि करिब १५ जना विद्यार्थी भर्ना भइसकेका छन् । महानगरभित्रका अन्य विद्यालयले पनि भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छन् । रामगढस्थित रामजानकी आधारभूत विद्यालयले हरेक विहान भर्ना अभियान सुरु गरेको छ । वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले महानगरभित्र रहेका सबैजसो विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेको बताए ।

“महानगर क्षेत्रमा वैशाख ३ गतेदेखि नयाँ भर्ना अभियानलाई सञ्चालन गर्दै आइरहेका छौँ । शिक्षक तथा विद्यार्थीहरुले संयुक्त रुपमा नयाँ भर्ना अभियानलाई अघि बढाउँदै आइरहनुभएको छ ।” उनले भने । यो भर्ना अभियान वैशाख १५ गतेसम्म चल्ने उनको भनाइ छ । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । जसमध्ये २१ माध्यामिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्वप्रथामिक विद्यालय पनि छ ।

गत शैक्षिक सत्रमा यी विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म एक लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिक सत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी निजी विद्यालयमा भर्ना भएका थिए । महानगरले यस वर्ष १० प्रतिशत धेरै विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ । महाशाखा प्रमुख कर्णले महानगरभित्र पढ्ने उमेरसमूहका सबै विद्यार्थीलाई समेटेर भर्ना अभियान अघि बढाउँदै आइरहेको बताए ।

उनले भने, “महानगरको मुख्य लक्ष्य नै विद्यालय जाने उमेरसमूहका कोही पनि विद्यार्थी नछुटुन भन्ने हो । महानगरमा आर्थिक अभावमा विद्यालय नगएका भन्ने छैनन् ।” केही बालबालिकाहरु सीमावर्ती बजार रक्सौलमा गएर साइकलमा सामान ओसारपोसार गर्दा आम्दानी हुने भएकाले पढाइमा रुचि नदिएको पनि पाइएको उनको भनाइ छ । “उनीहरुलाई विहान १० देखि ४ बजेसम्म विद्यालयमा अडाइराख्नु मुख्य चुनौती पनि छ”, उनले भने ।

महानगरका अनुसार विशेष गरी डोम, मुसरलगायतका जाती विशेषका विद्यार्थीलाई सामुदायिक सिकाइ केन्द्र (सिएलसी) मार्फत कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले महानगरभित्रकै केही विद्यालयमा विद्यार्थीको अत्यधिक चाप भएको बताए । त्यस्ता विद्यालयमा विद्यार्थी व्यवस्थापनको चुनौती रहेको उनको भनाइ छ । महानगरका अनुसार माइस्थान विद्यापीठ, नसिंह मावि सुराकन्या मावीलगायतका विद्यालयमा तीन हजारभन्दा धेरै विद्यार्थी छन् । यद्यपि महानगरले ती विद्यालयमा पनि भर्ना अभियान अघि बढाउने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्